कोहलुपर, साउन ४
लामो समयदेखि सेक्युरिटी गार्डमा कार्यरत मजदुरहरुले मागको कार्यान्वयन नभएको भन्दै क्षेत्रिय टेलिकम कार्यालय नेपालगन्जमा २ घण्टा धर्ना दिएका छन् । आफ्नो हक अधिकार प्राप्तीका लागि लामो समयदेखि नेपाल टेलिकममा कार्यरत सेक्युरिटी गार्डहरुको तलव लगायतका सेवासुविधा समेतको वास्ता नगरेको भन्दै उनिहरुले शुक्रबार ११ बजेदेखि १ बजेसम्म र आइतबार १० बजेदेखि १२ बजेसम्म धर्ना दिएर आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
नेपाल सरकारले राजपत्रमा बृद्धि गरेको तलव भत्ता कार्यन्वयन गराउन आफुहरुले आन्दोलन निरन्तर जारी रहने उनिहरुले बताएका छन् । बारम्बार वार्ता, छलफल गर्दा समेत आफनो मागलाई वेवास्ता गरेको कारण बाध्य भएर आन्दोलन गर्न परेको अखिल नेपाल सेक्युरिटी मजदुर संघ बाँकेको अध्यक्ष शेर बहादुर बुढा मगरले बताए । मजदुरहरुलाई नियुक्ती पत्र, सार्वजनिक बिदा, मौसम अनुसारको ड्रेस, समयमै तलव उपलब्ध, दुर्घटना विमा, सामाजिक सुरक्षा लागु गराउन, श्रम ऐन अनुसार दशैभत्ता लगायत कार्यन्वयवन गर्न लगायतका माग नगरेको कारण आन्दोलन गर्न बाध्य भएको अध्यक्ष बुढा मगरले बताए । श्रम ऐन अनुसार लागु गरिएको तलव बृद्धि गर्न आफुहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए । असार २० गतेदेखि सुरु भएको आन्दोलन सुरुमा प्रचारात्मक कोणसभा गरेको र, २१ देखि २७ सम्म हातमा कालोपट्टी बाँधेर ड्युटी गर्दा समेत माग सुनवाई नहुँदा, २८ देखि ३० गतेसम्म ड्रेस नलगाई ड्युटी समेत गरेको मजदुरहरु बताउँछन् । त्यतिसम्म गर्दा समेत मागको सुनवाई नहँुदा असार ३१ देखि क्षेत्रिय टेलिकम नेपालगन्जको मुल गेटमा २ धण्टा धर्ना कार्यक्रम गरि आन्दोलनलाई निरन्तरता दिएको अध्यक्ष बुढामगरले बताए । यदि धर्ना कार्यक्रमले पनि आफुहरुको माग सम्बोधन भएन भने बाध्य भएर कार्यालयमा तालाबन्दि गर्ने उनले चेतावनी समेत दिएका छन् ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ३, २०७३