
काठमाण्डाै ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले बन्दसत्रमा पेश गर्ने ‘एजेन्डा’ पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो । तीन वटा क्लस्टरमा विभाजन गरेर बन्दसत्रमा छलफल भइरहेको छ । पहाड, हिमाल र मधेश/तराई गरी तीन क्लस्टरमा विभाजन गरी बन्दसत्र शुरू भएको हो ।
शुरुआतमा पहाडको बन्दसत्र चलेको छ । बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेश हल निर्धारण गरिएको छ । प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिलाई सम्बन्धित हलमा विभाजन गरिएको हो । हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन् । त्यस्तै पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन् ।
तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ सङ्गठनका २२५ प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
रासस









प्रतिक्रिया दिनुहोस्