के सी शेर
अष्टिन टेक्सास/
नेपाली जन सम्पर्क समिति अमेरीकाका सभापतीले कार्यसमितिमा छलफल नै नगरी आफु अनुकुलका प्रतिनिधीलाई कांग्रेसको १३ औं महाधिबेसनका लागि नेपाल पठाएपछि असन्तुष्ट बरिष्ठ उपसभापती सहितका पदाधिकारीले अर्को समानान्तर प्रतिनीधी टोली नेपाल पठाउने भएको छ ।
सभापतीको कार्यशैली प्रति असन्तुष्ट जन सम्पर्क समिति अमेरीकाका वरिष्ठ उप सभापती धनञ्जयनरसिंह के सी, उप सभापती सि पी पौडेल तथा महासचिव मुनिन्द्र नेम्वाङ लगायतका पदाधीकारीको छलफल पछि अधिकतम सहमतीका आधारमा प्रतिनीधी छनौट गरि कांग्रेस केन्द्रिय कार्यालयमा पठाएको महासचिवद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । यस अघि सभापती आनन्द बिष्ट सहितको बिबादित प्रतिनीधी छनौट समितिले ७ जना प्रतिनीधी छनौट गरिसकेपछि अधिकांस प्रतिनीधी नेपाल पुगिसकेका छन् । सभापतीको रबैयाप्रती असन्तुष्ट बरिष्ठ उपसभापती सहितका पदाधीकारीले चयन गरेका सात जना प्रतिनीधीमा धनञ्जयनरसिंह के सी सानफ्रान्सीस्को, सिपी पौडेल टेक्सास, मुनिन्द्र नेम्वाङ न्युयोर्क, कृष्ण लामिछाने टेक्सास, नारायण थापा मेरिल्याण्ड, शंकर खड्का सानफ्रान्सीस्को तथा लाल प्रसाद काफ्ले सिकागो रहेका छन् ।
यस अघि सभापती बिष्ट सहितको प्रतिनिधी छनौट समितिले सभापती बिष्ट सहित प्रमोद सिटौला, बिष्णु सुबेदी, बेद खरेल, बिद्यासागर योञ्जन, माया कडायत र हेमराज भट्ट रहेका छन् । जसमा ५ जना न्युयोर्क तथा बाँकी २ जना क्यालिफोर्नियाका हुन । करिव ८ सय सक्रिय सदस्य रहेको अमेरीकाबाट कांग्रेसले सहमतीका आधारमा ७ जना महाधिबेसन प्रतिनीधी पठाउन पत्राचार गरेपछि सहमतीमा प्रतिनीधी छनौट गर्न सभापतीलाई सकस परेको थियो । अमेरीकाबाट प्रतिनीधी बन्ने अकांक्षीहरुको लर्को लागेपछि बिबादका बिच सभापतीले सात जना प्रतिनीधी चयन गरेका थिए ।
सभापतीलाई सहमती र छलफल गरेर प्रतिनीधी चयन गर्न आफुहरुले दवाव दिएपनि सभापतीले पक्रिया मिचेको असन्तुष्टहरुको आरोप छ भने सभापती सहितको प्रतिनिधी छनौट समितिले भने सबैको सहमतिमा प्रतिनिधी छनौट गरेको बताएको छ । असन्तुष्ट बरिष्ठ उपसभापती सहितको प्रतिनिधी टोली एक दुई दिनमा नेपाल उड्ने बताइएको छ । सभापती सहितको प्रतिनिधी टोलीलाई मान्यता दिने या बरिष्ठ उपसभापती सहितको प्रतिनिधी टोलीलाई मान्यता दिने नेपाली कांग्रेसले केही बताएको छैन ।
प्रकाशित मिति : २०७२ फागुन १२ गते बुधबार
प्रतिक्रिया दिनुहोस्