ओलीको वचनवाण र वाम एकताको भजन



भीम रावत

नेकपा एमालेका अध्यक्ष केपी ओलीको वचनवाण नेपाली राजनीतिमा एउटा अविस्मरणीय क्षण हुन पुग्छ । उनले ठट्यौँली पारामा गरिने उखानटुक्कासहितका वचनवाणहरूले मानिसहरूलाई सकारात्मक सन्देश दिने भन्दा पनि मजाक बनाइन्छ र नकारात्मक सन्देशका रूपमा अथ्र्याइन्छ । नेपाली शब्दकोषमा वचनवाण भनेको चोटिलो, कडा वा तितो बोली भन्ने अर्थ हो । जुन शब्दले मानिसको मनमा ‘तीर’ वा ‘वाण’ ले झै गहिरो चोट वा पीडा दिन्छ ।यस्ता  शब्दले अरुको भावनामा गहिरो गरी ठेस पु¥याउने काम गरेको हुन्छ । भनिन्छ नि ‘मानिसलाई लाग्ने शारीरिक चोट भन्दा वचनको चोटले धेरै पीडा दिन्छ ।’ यस्ता वचनहरूले मानिसलाई उसको आत्मभित्रैदेखि दुखी बनाउन र बनेका सम्बन्धहरूलाई समेत बिगार्दै लैजान्छ । नेकपा एमाले आफ्नो सांगठनिक जीवनकै सबैभन्दा धेरै असामान्य अवस्थामा पुगेको छ । केपी ओली अध्यक्ष भएको समयमा पार्टी इतिहासमै कमजोर हुँदा पनि ओली आफू त्यसको जिम्मेवार रहेको महसुस उनलाई भएको छैन् । अझै पनि त्यो अनुभूति गर्ने मुडमा ओली नदेखिएका मात्र होइनन्, पार्टी पुर्नगठन र नेतृत्व परिवर्तनको कुरा उठाउने सबै नेता–कार्यकर्ताहरूलाई ‘आवाराहरू’भन्दै कारवाही गर्ने चेतावनी दिइरहेका छन् ।
फागुन २१ को निर्वाचनमा आफ्नो ओली किल्ला बनाएको दाबी गर्ने निर्वाचन क्षेत्र झापा–५ मा वर्तमान प्रधानमन्त्री बालेन शाहसँग झण्डै पचास हजार मतान्तरले पराजित भएका ओली पहिलो पटक गत शनिबार झापा पुगेका थिए । ओली त्यहाँ पुगेर पार्टी पुर्नगठन र नेतृत्व हस्तान्तरणको माग गर्ने नेता–कार्यकर्तालाई ‘आवाराहरू’ पार्टी अफिसको क्यान्टिन र चिया पसलमा बसेर अध्यक्ष हटाउने कुरा गर्दैछन् भन्न भ्याए । ओलीले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको र विरोधीको तीव्र प्रहार झेल्न मुस्किल भएकै वेला कतिपय नेता–कार्यकर्ता अध्यक्ष हटाउने भन्दै हिँडेको सुन्दा आफूलाई आश्चार्य लाग्ने गरेको ओलीले बताएका छन् । ‘पार्टीमा अहिले अनुशासनहीनता र अराजकता बढेको छ । पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन् । अध्यक्ष हटाउने कुरा ठट्टा हो ? पार्टी सदस्य छ कि छैन ? उरन्ठेउलाहरू भेला भएका छन् ।

चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउनु प¥यो भनेको छ, के मजाक हो यो ? कोही अध्यक्ष हटाउन हस्ताक्षर गर्दै हिँडेको छ । त्यसका पछाडि केही दम छैन् । कति वेला के गर्ने भन्ने पार्टीको विधि, प्रक्रिया र समय हुन्छ । अस्ति भर्खर पार्टीको महाधिवेशन भएको हो । हामीलाई पनि थाहा छ । कोही केन्द्रीय सदस्य बनेको होला । जति वेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भएको छ, पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा यतिवेला अध्यक्ष हटाउँछ भनेको छ । तर, केही हुनेवाला छैन् । यी सबै बेकारका कुरा हुन् । महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म आफूले नेतृत्व नछाड्ने र नेतृत्वमा आफ्नो निरन्तरता रहने स्पष्ट पारेका छन् । २०८२ फागुन २१ मा सम्पन्न भएको संसदीय निर्वाचनमा नेकपा एमालेले मात्र होइन, नेपालको वामपन्थी आन्दोलनले नै असाधारण धक्का बेहोरेको छ । यसको निर्मम समीक्षा नगरी अब नेपालमा कम्युनिस्ट आन्दोलनको पुर्नजागरण सम्भव छैन । अब पुरानै विचार, सांगठनिक संरचना र शैलीले नेपालको वामपन्थी आन्दोलन जीवित रहन सक्ने अवस्था छैन । आधारभूत वर्ग र समुदायका जनता किन कम्युनिस्ट पार्टीबाट टाढिँदै गएका छन् र नेता–कार्यकर्तामा सामाजिक परिवर्तनको इच्छा शक्ति किन मर्न थाल्यो भन्नेबारे निर्मम समीक्षा नगरी नेपाली कम्युनिस्टहरूको भविश्य अब नेपालमा अस्तित्वमा रहिरहन सम्भव छैन् । विश्व कम्युनिस्ट आन्दोलनलाई नै यो वा त्यो रूपमा आप्नो देशमा नक्कल गर्न खोज्ने प्राय सबै देशका कम्युनिस्टहरू संसार मै क्रान्ति र बिद्रोह गरेर राज्यसत्ता प्राप्त त गर्न सफल भए तर क्रान्ति पश्चात राज्यसत्ता सञ्चालन गर्ने काममा असफल जस्तै रहँदै आएका उदाहरण धेरै छन् । नेपालमा कम्युनिस्टहरूको सरकारहरूमा २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको नौ महिने अल्पमतको सरकार बाहेक अरु सबै सरकारहरू खासै सफल हुन सकेनन् ।

कम्युनिस्टहरू सरकारमा जाँदा राज्यसत्तालाई जनवादी वा समाजवादी राज्यसत्तामा रुपान्तरण गराउनका लागि सरकारलाई शक्ति सञ्चयको आधार बनाउने कुरा गर्दछन् । तर सत्तामा पुगेपछि सत्तालाई नै सबथोक ठान्न थाल्छन् । जसका कारण कम्युनिस्ट मान्यताका आधारमा प्रशिक्षित वर्ग–समुदायहरू सरकारले आप्नो वर्ग र समुदाय बिर्सेको रूपमा बुझ्दछन् । त्यसैले गर्दा पनि जब कम्युनिस्ट पार्टीहरू सरकारमा पुग्दा जनमत र शक्ति बढ्नुको सट्टा क्षयीकरण हुँदै गैरहेको उदाहरण त नेपाल मै धेरै छन् । नेपालमा कम्युनिस्ट आन्दोलनको सबलताका लागि भन्दा पनि नेताहरूलाई राजनीतिक रूपमा अप्ठ्यारो परेको अवस्था आयो भने नेताहरू वाम एकताको कुरा गर्न थाल्छन् । अहिले नेपालमा एमाले र नेपाली कम्युनिस्ट पार्टीको वामएकताको भजन सुरु भएको छ । पार्टीमा अन्य नेताहरूको सुझाव–सल्लाह वा विचारको केही अर्थ हुँदैन, जब प्रचण्ड र ओलीले एकता गर्ने भने एकता हुन्छ । यी दुई नेताहरू विभाजनको मुडमा पुगे भने विभाजन भैहाल्छ । यिनका भजनकर्ताहरूको यी पार्टीमा बहुमत रहँदासम्म हुने अवस्था यही नै हो । नेपालमा गरिब, किसान, सुकुम्बासी, उत्पीडित जाति, क्षेत्र र लिङ्गले कम्युनिस्ट पार्टीमाथि अति ठूलो आशा, विश्वास र भरोसा गरेका थिए । हरेक आन्दोलनमा उनीहरूले आप्नो जीउज्यानको माया मारेर लडेका थिए । तर यी पार्टीहरू सत्तामा गए पश्चात नेताहरूले गरेको व्यवहार, उनीहरूको राजनीतिक चरित्र र दलाल तथा बिचौलियाहरूको संगतका कारण पछिल्लो समयमा जनतामा रहेको त्यो भरोसा टुट्यो र तिनै नागरिक जेनजी विद्रोहमा सहभागी बने, रास्वपाका मतदाता बने । यसको गहिरो कारण पहिल्याउन सकियो भने मात्र एकता वा ध्रुवीकरणको अर्थ हुनेछ । नत्र वाम एकताको भजन गाउनु भनेको केही क्षणको रमाइलो मात्र हुनेछ । नेपालका कम्युनिस्ट पार्टीहरू खासमा तत्कालिन नेकपा माओवादी र नेकपा एमाले प्रति नेपाली जनताको निकै ठूलो आशा र भरोसा थियो । जनताले कम्युनिस्ट पार्टीका नेताहरूलाई पटक–पटक सरकारको नेतृत्वमा पु¥याएकै हुन् । बहुमत मात्र होइन, झन्डै दुई तिहाइ जनमतसमेत दिएकै हुन् । तर त्यति ठूलो विश्वास र भरोसा एकाएक टुट्यो । तिनै जनता कम्युनिस्टको विरोधी बन्न पुगे र विकल्प खोज्न पुगे । किन यस्तो भयो ? यो प्रश्नको जवाफ नदिईकन जो जता गएपनि, जतिवटा मिले पनि परिणाम राम्रो आउने सम्भावना छैन । बरु उनीहरूको यात्रा झन् ओरालो लाग्ने नै हो । बाहिरबाट सरसर्ती हेर्दा देशका दुई ठूला कम्युनिस्ट पार्टीको बिचमा कार्यगत एकता र पार्टी एकताको ध्याउन्न राम्रै देखिन्छ । त्यसले राम्रै परिणाम दिने अपेक्षा पनि गरिएको हुन सक्छ । तर आजको नेपाली समाजको वास्तविकता के हो ? त्यसको गहिरो र यथार्थपरक विश्लेषण नगरी गरिने एकताले देशको वर्तमान सामाजिक अन्तर्विरोधको समस्या समाधान गर्न सक्दैन ।

एमालेमा हाल १९ सदस्यीय सचिवालयमा ४ जना पदाधिकारीहरू मात्र ओलीको पक्षमा देखिएका छन् । अरु सबै पार्टीको सांगठानिक संरचनालाई पुनरगठन गर्नुको बिकल्प छैन भन्दै ओलीलाई दवाब दिइरहेको भएपनि ओली कत्तीपनि हच्किएका वा आत्मसमीक्षा गर्न तयार देखिदैनन् । उनले भरखरै मात्र आप्नो धारणा सार्वजनिक गरेको सुनेर पार्टीमा अन्य नेताहरू ओली प्रवृत्ति पार्टी पतनको बाटोमा जाने भयो भनेर चिन्ता गरिरहेका छन् । हाल पार्टीमा अन्य नेताहरूलाई ओली चेतावनी दिदै भनेका छन्, ‘पार्टीको केन्द्रीय समिति बैठकपछि पार्टीलाई एकताबद्ध र अनुशासित बनाएर अघि बढ्ने तथा पार्टीविरोधी गतिविधि गर्नेलाई कठोर कारबाही गरिने छ । यो अराजकता, मनपरीतन्त्र, पार्टीको विरोध गरेर हिँड्न पाइने, जे पायो त्यही स्टाटस लेख्न पाइने, यस्तो खालको हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यो पार्टीको अनुशासन के–के छ गरे हुन्छ । पार्टीमा नबस्ने चुप लागेर घरमै बस्ने हो भने बसे हुन्छ । पार्टीमा काम गर्ने हो भने पार्टीको अनुशासन मान्नुपर्छ । अन्यथा अब बस्ने केन्द्रीय कमिटीको बैठकले नेतृत्व परिवर्तन र पुर्नगठनको कुरा उठाउनेहरूलाई कारवाही गर्ने छ । कसैले पार्टी छोड्दैमा यो पार्र्टी नफुट्ने, बिग्रिदैन् । म पार्टीलाई पुरानै अवस्थाको जनताको लोकप्रिय पार्टी बनाएरै छाड्छु ।’ ओलीले आफूबाहेक अरु सबैलाई नक्कली कम्युनिस्ट नेता ठान्छन् । हिजो एमालेमा ओलीकै भजन गाएर कहिल्यै नथाक्ने मात्र होइन, ओलीलाई अप्ठ्यारो पर्दा काँध थाप्ने शंकर पोखे्रल, विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ लगायतका नेताहरूले समेत एमालेलाई बचाउने हो भने ओलीले नेतृत्व छोड्नु पर्ने भनिरहँदा ओली कारवाहीको चेतावनी दिइरहेका छन् । तर ओलीले अघिल्लो निर्वाचनमा माधव नेपालहरूले पार्टी फोरेर जाँदा पनि एमालेले लोकप्रिय मतमा सबैभन्दा धेरै मत ल्याउन सफल भएको र २७ लाख समानुपातिक मत प्राप्त गरेको पार्टीले अहिले त्यो मत १४ लाखमा खुम्चिदा समेत आफू नेतृत्वमा रहँदा के कमजोरी भयो भन्ने विषयको समीक्षा समेत गर्न तयार देखिदैनन् ।

ओलीको अहंकार र दम्भले नै पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पु¥याएको र अब पार्टीका संरचनाहरूमा पुनरसंरचना नगरेर अगाडि बढ्न नसकिने अवस्थामा पार्टी पुगेको ठहर गर्दै सचिवालय बैठकमा १५ जना पदाधिकारीहरूले एकमत राख्दा ओलीले त्यो कुरा स्वीकार गर्न मानेनन् । उनी सबै कुराको छिनोफानो केन्द्रीय कमिटिको बैठकबाट हुने तर्क अघि सारे । ओलीलाई के विश्वास छ भने केन्द्रीय कमिटिमा आप्नो बहुमत सुरक्षित छ । त्यसैले त्यहाँ आफू अनुकूल निर्णय गराउन सक्छु भन्नेमा ढुक्क देखिन्छन् । ओलीले पार्टी पुर्नगठनको आवाज उठाउनेहरूलाई ‘आवारा’ र ‘किर्ना’ को संज्ञा दिँदै उनीहरूलाई महाधिवेशनले बनाएको नेतृत्व हटाउने हो भने अर्को महाधिवेशनको प्रक्रिया कुर्न चेतावनी दिएका छन् । अध्यक्ष ओलीले पार्टी ‘तन्दुरुस्त’ रहेको र विरोध गर्नेहरू ‘आवारा’ रहेको दाबी गरिरहँदा विगतमा ओलीकै मुख्य सारथि बनेर काँध थाप्दै आएका महासचिव शंकर पोखरेलको विचार चाही फेरिएको छ । महासचिव पोखरेलले इतिहासमै पहिलोपटक एमालेले शासकीय असफलता बेहोरेको स्वीकार गरे । नेपालमा ६ जना कम्युनिस्ट नेताहरू प्रधानमन्त्री र २१ जना मुख्यमन्त्री बनाउँदा पनि वामपन्थी आन्दोलन रक्षात्मक हुनु चानचुने कुरा नभएको उनको निष्कर्ष रहेको छ । पोखे्रलले आजभोली सत्य स्वीकार गरेको दखिन्छ । उनी भन्छन्, ‘नेपालको कम्युनिस्ट आन्दोलनका सन्दर्भमा मेरो बुझाइ र निष्कर्ष के छ भने– हामी संघर्ष र क्रान्तिका मामिलामा एक प्रकारले च्याम्पियन नै रह्यौँ । तर शासकीय भूमिकाका दृष्टिकोणले भन्नुहुन्छ भने हामी असफल साबित भयौँ,’ । उनको यो भनाइ साँच्चिकै आत्मसमीक्षा हो भने यो यथार्थपरक छ । पोखे्रलले यतिबेला आएर जुनसुकै कारणले भएको भएपनि भदौ २३ र २४ गतेको घटनालाई युवाको शासकहरू प्रतिको विद्रोहको रूपमा इङ्गित गर्दै समस्या हामी आफैँमा रहेको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘यो विद्रोह त भूराजनीतिक द्वन्द्वअन्तर्गत, षड्यन्त्रअन्तर्गत भएको विद्रोह भन्ने ठान्यौँ । त्यसपछि हामी भूराजनीतिक द्वन्द्वअन्तर्गतको षड्यन्त्रलाई भण्डाफोर गर्न लाग्यौँ । तर फागुन २१ मा आउँदाखेरि जनताले हामीलाई नै अस्वीकार ग¥यो । जनताको असन्तुष्टिलाई सम्बोधन गर्न नसके सम्म समस्या ज्यूँका त्यूँ रहने हुँदा विगतको समीक्षा नगरी अघि बढ्न सकिने अवस्था छैन् ।’
पार्टी कसैको निजी कम्पनी नभएको यसको पुनरसंगठन गर्दै सुधार गर्नु पर्ने माग गर्नेहरूलाई ‘पार्टी छोडेर जाऊ’ भन्नु ओलीको गैरजिम्मेवार अभिव्यक्ति हो । ओलीले ‘मलाई हटाएर देखाऊ’ भन्दै हुँकार गरिरहँदा, महासचिव पोखरेलले ‘हामी असफल भयौँ’ भन्दै हार स्वीकार गर्नु र पूर्वराष्ट्रपति भण्डारीले ‘नयाँ बाटो खोज्न’ आग्रह गर्नुले एमालेभित्र ठूलो मतभेदको संकेत गरेको छ । एमाले भित्रको यस्तो कचिङगल भैरहेको अवस्थामा प्रचण्डहरू भने सत्ताको लालसाले ओलीसँग घाँटी जोर्न तयार हुनु ‘जनयुद्धको माओवादी अस्तित्व’लाई सधैँका लागि परित्याग गर्न तयार भएर वाम एकताको भजन गाउन कस्सिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार