काठमाडौँ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबील बैंक लिमिटेडले चौथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इन्डियन चेम्बर अफ कमर्स आइसिसीले नयाँ दिल्लीमा गरेको चौथो आइसिसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्डसमा शाइन रेसुंगाले विकास बैंकतर्फ वेस्ट बैंक र नबीलले वाणिज्य बैंकतर्फ वेस्ट बैंक अवार्ड जितेका हुन् ।
शाइन रेसुंगाले वेस्ट डेभलपमेन्ट बैंक अवार्ड सँगै वेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा वेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ । यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण मान्यताका रूपमा हेरिएको छ । विशेष गरी विकास बैंकतर्फ शाइन रेसुंगाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो वृद्धिको संकेतका रूपमा विश्लेषण गरिएको छ ।
शाइन रेसुंगा रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैंक हो । अवार्डका लागि इन्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्स एन्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका बैंक तथा वित्तीय संस्थाहरूबाट खुला रूपमा आवेदन आह्वान गरेको थियो ।
यी दक्षिण एसियाली मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ का विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफाको अवस्था, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादन लगायतका विभिन्न सूचकका आधारमा मूल्यांकन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्