गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।
भेरी अस्पतालको १३६ वर्षे इतिहासमा कोभिड–१९ महामारी सबैभन्दा कठिन परीक्षा बन्यो । २०७७–७८ सालमा पश्चिम नेपालभर महामारी फैलिएका बेला अस्पताल प्रमुख उपचार केन्द्रका रूपमा उभियो । सीमित अक्सिजन, जनशक्ति र पूर्वाधारका बाबजुद चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले निरन्तर सेवा दिए । हजारौँ संक्रमितको उपचार, सघन उपचार सेवा, अक्सिजन व्यवस्थापन तथा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्दै अस्पतालले संकटका बेला पश्चिम नेपालको सबैभन्दा ठूलो भरोसा बनेर काम ग¥यो ।
सात शय्याको सानो डिस्पेन्सरीबाट सुरु भएको भेरी अस्पताल आज पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी विशेषज्ञ अस्पतालका रूपमा स्थापित भएको छ । विसं १९४७ साल साउन १२ गते तत्कालीन ‘पृथ्वी–वीर डिस्पेन्सरी’का रूपमा स्थापना भएको अस्पतालले आज सोमबार १३६ वर्ष पूरा गर्दै इतिहास, सेवा र जनविश्वासको नयाँ अध्यायमा प्रवेश गरेको छ । काठमाडौँस्थित वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पतालले एक शताब्दीभन्दा बढी अवधिमा लाखौँ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै पश्चिम नेपालको स्वास्थ्य सेवाको प्रमुख आधारका रूपमा आफ्नो पहिचान बनाएको छ ।
बाँके, बर्दिया, दाङ, कर्णाली र सुदूरपश्चिमका जिल्लासहित भारतका सीमावर्ती क्षेत्रका बिरामीसमेत उपचारका लागि भेरी अस्पतालमै निर्भर छन् । स्थापनाका प्रारम्भिक वर्ष अस्पतालका लागि निकै चुनौतीपूर्ण थिए । सीमित पूर्वाधार, औषधिको अभाव, न्यून जनशक्ति र कमजोर सरकारी लगानीका बीच अस्पताल सञ्चालन गर्नुपरेको थियो । राजधानीबाहिर रहेको कारण वीर अस्पतालसरह सरकारी प्राथमिकता नपाए पनि यहाँ कार्यरत स्वास्थ्यकर्मीको समर्पण र स्थानीय नागरिकको विश्वासले अस्पताललाई निरन्तर अघि बढाइरह्यो ।
विसं २०१६ देखि २०२१ सालसम्म अस्पताल ‘रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह’का रूपमा सञ्चालन भयो । त्यसपछि २०२२ सालमा ‘भेरी अञ्चल अस्पताल’ नामकरण गर्दै ५० शय्यामा स्तरोन्नति गरियो । बिरामीको चाप बढ्दै गएपछि २०४३ सालमा १०० शय्यामा विस्तार गरियो भने अस्पताल विकास समितिको पहलमा थप ५० शय्या सञ्चालनमा ल्याइयो । सरकारले २०६१ सालमै २०० शय्याको स्वीकृति दिए पनि आवश्यक बजेट, पूर्वाधार र जनशक्ति अभावका कारण त्यसअनुसार सेवा विस्तार हुन सकेन ।
अहिले अस्पताल ३०० शय्याको क्षमतामा सञ्चालन भइरहेको छ । संघीय शासन व्यवस्था लागू भएपछि केही समय ‘भेरी प्रादेशिक अस्पताल’का रूपमा सञ्चालन भएको अस्पताल २०७५ सालदेखि पुनः संघीय सरकार मातहत सञ्चालन हुँदै आएको छ । हाल यो पश्चिम नेपालको प्रमुख रेफरल तथा विशेषज्ञ अस्पतालका रूपमा परिचित छ ।
कोभिडमा भरोसाको केन्द्र
भेरी अस्पतालको १३६ वर्षे इतिहासमा कोभिड–१९ महामारी सबैभन्दा कठिन परीक्षा बन्यो । २०७७–७८ सालमा पश्चिम नेपालभर महामारी फैलिएका बेला अस्पताल प्रमुख उपचार केन्द्रका रूपमा उभियो । सीमित अक्सिजन, जनशक्ति र पूर्वाधारका बाबजुद चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले निरन्तर सेवा दिए । हजारौँ संक्रमितको उपचार, सघन उपचार सेवा, अक्सिजन व्यवस्थापन तथा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्दै अस्पतालले संकटका बेला पश्चिम नेपालको सबैभन्दा ठूलो भरोसा बनेर काम ग¥यो । स्वास्थ्यकर्मीहरूको त्यही समर्पणले भेरी अस्पतालप्रतिको जनविश्वासलाई थप बलियो बनाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल बताउँछन् ।
विशेषज्ञ सेवाबाट सुपरस्पेसियालिटीतर्फ फड्को
पछिल्ला केही वर्ष अस्पतालका लागि विकासका दृष्टिले सबैभन्दा महत्वपूर्ण बनेका छन् । एक समय सामान्य विशेषज्ञ सेवामा सीमित रहेको अस्पताल अहिले सुपरस्पेसियालिटी सेवासहितको स्वास्थ्य संस्थामा रूपान्तरण भइरहेको उनको भनाइ छ । हाल अस्पतालमा क्याथल्याब, नेफ्रोलोजी, डायलाइसिस, मिर्गौला प्रत्यारोपण, स्पाइन सर्जरी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, जलन उपचार, सिकलसेल तथा थालेसिमिया सेवा, अत्याधुनिक अपरेशन थिएटर, आधुनिक प्रयोगशाला तथा अन्य विशिष्ट सेवा सञ्चालनमा छन् ।
यी सेवाका कारण सामान्यदेखि जटिल उपचारका लागि काठमाडौँ जानुपर्ने बिरामीको संख्या उल्लेखनीय रूपमा घटेको मेसु दर्नाल बताउँछन् । उनका अनुसार अस्पतालले चिकित्सा शिक्षामा पनि नयाँ फड्को मारेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा एमडी/एमएस तहको अध्ययन सुरु भएपछि भेरी अस्पताल उपचारसँगै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने केन्द्रका रूपमा समेत विकसित हुन थालेको छ ।
विकास समितिको योगदान
भेरी अस्पतालको संस्थागत विकासमा अस्पताल विकास समितिको भूमिका पनि महत्वपूर्ण मानिन्छ । विसं २०४२ सालमा समिति गठन भएपछि स्थानीय सहभागिता, व्यवस्थापन सुधार, पूर्वाधार विस्तार र सेवा विकासका योजनाले गति लिएको थियो । कृष्णगोपाल टण्डनदेखि वर्तमान कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धितालसम्मका नेतृत्वले आ–आफ्नो कार्यकालमा अस्पतालको विकासका लागि विभिन्न पहल गरेका छन् । पूर्वाधार विस्तार, सेवा थप, संघीय सरकारसँग बजेट तथा जनशक्तिका लागि समन्वय, नयाँ भवन निर्माणको पहल र अस्पताललाई विशिष्टकृत संस्थाका रूपमा विकास गर्ने अभियानमा विकास समितिले निरन्तर भूमिका खेलेको छ ।
मेडिकल सुपरिटेन्डेन्टहरूको नेतृत्व
अस्पतालको सेवा विस्तारमा विभिन्न समयमा नेतृत्व सम्हालेका मेडिकल सुपरिटेन्डेन्टहरूको योगदान पनि उल्लेखनीय मानिन्छ । प्रारम्भिक प्रशासनिक सुधारदेखि आधुनिक स्वास्थ्य सेवा विस्तारसम्मका विभिन्न चरणमा नेतृत्वले अस्पताललाई समयअनुकूल रूपान्तरण गर्न भूमिका खेलेको छ । हाल मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालको नेतृत्वमा अस्पतालले विशेषज्ञ सेवा विस्तार, आधुनिक उपकरण सञ्चालन, चिकित्सा शिक्षा र सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ ।
बढ्दो चाप, उस्तै चुनौती
उपलब्धिका बाबजुद अस्पतालले अझै धेरै चुनौती सामना गरिरहेको बताउँछन् अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. धिताल । दैनिक सयौँ बिरामी उपचारका लागि आउने भएकाले ३०० शय्या पनि पर्याप्त हुन छाडेको उनको भनाइ छ । आकस्मिक कक्ष, ओपिडी र वार्डहरूमा बिरामीको चाप अत्यधिक रहने गरेको छ । पुरानो संगठन तथा व्यवस्थापन (ओएनएम), पर्याप्त चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव, सीमित बजेट, पुरानो ओपिडी भवन, पार्किङको समस्या र भौतिक पूर्वाधारको कमी अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका उनी बताउँछन् ।
सरकारले भेरी अस्पताललाई पाँच सय शय्याको विशिष्टकृत अस्पतालका रूपमा विकास गर्ने लक्ष्य अघि सारे पनि आवश्यक दरबन्दी, बजेट र पूर्वाधार विस्तार अझै हुन नसकेको कावा अध्यक्ष डा. धिताल बताउँछन् । अस्पताल नेतृत्वले पश्चिम नेपालको जनसंख्या र सेवा क्षेत्रलाई आधार मानेर पाँच सय शय्याको शिक्षण अस्पतालका रूपमा विकास गर्नुपर्ने माग दोहो¥याउँदै आएको छ ।
पश्चिम नेपालको स्वास्थ्य सुरक्षाको आधार
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार भेरी अस्पताल बाँकेको मात्र अस्पताल होइन, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका लाखौँ नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संस्था हो । जटिल शल्यक्रिया, आकस्मिक उपचार, मातृ तथा शिशु स्वास्थ्य, मिर्गौला प्रत्यारोपणदेखि मुटुरोग उपचारसम्मका सेवा एउटै सरकारी अस्पतालबाट उपलब्ध हुनु आफैँमा ठूलो उपलब्धि भएको उनीहरूको भनाइ छ ।
विशेषज्ञ सेवाको विस्तारसँगै भारतका सीमावर्ती जिल्लाबाट समेत बिरामी आउने क्रम बढिरहेको छ । यसले भेरी अस्पतालको सेवा क्षेत्र राष्ट्रिय सीमाभन्दा बाहिरसम्म विस्तार भएको संकेत गर्छ । १३६ वर्षको इतिहासले भेरी अस्पताललाई केवल पुरानो सरकारी अस्पतालका रूपमा मात्र होइन, आशा, भरोसा र सेवाको प्रतीकका रूपमा स्थापित गरेको छ । सात शय्याको डिस्पेन्सरीबाट ३०० शय्याको विशेषज्ञ अस्पतालसम्मको यात्रा केवल संख्यात्मक वृद्धि होइन, पश्चिम नेपालको स्वास्थ्य सेवाको विकासको इतिहास पनि हो ।
तर बढ्दो जनसंख्या, जटिल रोगको उपचारको आवश्यकता र दैनिक बढिरहेको बिरामीको चापलाई हेर्दा अब अस्पताललाई पाँच सय शय्याको आधुनिक विशिष्टकृत शिक्षण अस्पतालका रूपमा विकास गर्नु अपरिहार्य देखिएको छ । पर्याप्त सरकारी लगानी, दक्ष जनशक्ति, आधुनिक पूर्वाधार र चिकित्सा शिक्षाको थप विस्तार गर्न सकिए भेरी अस्पताल केवल पश्चिम नेपालको मात्र होइन, देशकै नमुना संघीय स्वास्थ्य संस्थाका रूपमा स्थापित हुने विश्वास अस्पतालसँग जोडिएका सरोकारवालाले व्यक्त गरेका छन् । १३६ वर्षको गौरवपूर्ण यात्रा पूरा गरेको भेरी अस्पतालले विगतको इतिहासलाई सम्मान गर्दै अब भविष्यको आवश्यकता पूरा गर्ने नयाँ संकल्पसहित अघि बढेको छ ।








प्रतिक्रिया दिनुहोस्