समीक्षाः रेशम विरही र पाश्र्वध्वनि भित्रको विसङ्गति



लेक प्याकुरेल

 विषयप्रवेश

साहित्य र पत्रकारिताक्षेत्रका महत्त्वपूर्ण हस्ताक्षर रेशम विरहीको जन्म विसं २००९ मङ्सिर १ मा गोरखाको हर्मी डाँडागोब्रेमा भएको थियो । पिता रेवतीरमण घिमिरे र माता अम्बिकादेवी घिमिरेका पुत्ररत्न रेशम विरहीको न्वारनको नाम रेशमराज घिमिरे हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन पूरा गरेका विरही वि.सं. २०३३ मा साझा प्रकाशनको जागिरका क्रममा इलाम शाखा प्रमुख भएका थिए । सोही सालमा कम्युनिष्ट पार्टीमा लागेको अभियोगमा जागिर खोसुवामा परी तत्कालीन पञ्चायती सरकारले उनलाई पटकपटक गरी डेढ वर्ष जति बन्दीजीवन जिउन विवश बनायो । कारावास जीवनको रिहाइ पछि २०३४ सालदेखि २०३९ सालसम्म चितवनका विभिन्न विद्यालयमा शिक्षण कार्यमा लागे तापनि पञ्चायती शासकहरूले पुलिस रिपोर्टको कारण देखाई उनको जागिर खोसिदिए पछि २०४१ देखि पूर्ण रुपमा व्यवसायिक पत्रकारिता क्षेत्रमा लागेका हुन् । सानै उमेरदेखि निबन्ध र कविता लेख्न सुरू गरेका रेशम विरहीलाई साहित्यप्रति रुचि जगाइदिने काम अरुणोदय मा.वि. गीतानगरका अध्यापक श्री केदारनाथ रेग्मीले गरेका हुन् । गुरुबाट प्रेरणा पाएर कक्षा ५ मा पढ्दादेखि नै कविता लेख्न सुरू गरेका विरहीले २०२२ सालमा जिल्लास्तरीय कवितागोष्ठीमा सहभागी भएर प्रथम पुरस्कार पनि प्राप्त गरेका थिए । २०२५ सालमा उनले समकालीन साहित्यकार शशिकिरण रेग्मीसँग मिलेर भुङ्ग्रो हस्त साहित्यिक पत्रिकाको सम्पादन प्रकाशन गरेका थिए । विरहीले २०२८ सालमा कलेज अफ एजुकेसनका विद्यार्थीहरूको उकालो साहित्यिक पत्रिकाका सम्पादन र प्रकाशन गरी त्यसै पत्रिकामा ’उकालो किन तिमी गीत गाउँदैनौ?’ कविता छपाए जुन उनको पहिलो प्रकाशित कविता हो । आफ्नो देश र माटोप्रतिको आस्था अनि समाजमा भएका र हुने गरेका बेथिति र विसङ्गतिहरूलाई साहित्यका विषयवस्तु बनाउने रेशम विरहीको पछिल्लो साहित्यिक कृति ’पाश्र्वध्वनि’ आख्यानात्मक विधा अन्तर्गतको औपन्यासिक कृति हो। शिखा पब्लिकेसनले प्रकाशनमा ल्याएको ’पाश्र्वध्वनि’ ३३६ पृष्ठको लमाईगत आयाममा संरचित १६ खण्डमा विभक्त गरिएको छ। उपन्यासभित्र मूलतः चितवन तथा आंशिक रूपमा काठमाडौँ नेपालगन्ज र प्रवासलाई स्थानगत परिवेश बनाइएको छ। पञ्चायतकालीन राजनीतिक परिवेशलाई अत्यन्त सूक्ष्म ढङ्गले केलाइएको ’पाश्र्वध्वनि’भित्र प्रेमिल प्रसङ्ग पनि कथावस्तुको महत्वपूर्ण पाटो बनेर आएको छ। छिपछिपे दर्शन प्रयोगका दृष्टिले समेत महत्त्व राख्ने प्रस्तुत उपन्यासभित्र विसङ्गतिवादी दर्शनको समेत सफल प्रयोग भएको छ; जसको चर्चा गरिनु सान्दर्भिक देखिन्छ।

विसङ्गतिवाद

२०औँ शताब्दीअन्तर्गत १९५० र १९६० को दशकमा विशेषगरी युरोप र अमेरिकाका साहित्यकारहरूको साहित्यिक कृतिमा प्रयोग भएको मान्यता हो विसङ्गतिवाद। “बिसौँ शताब्दीका साहित्यकार अल्बर्ट कामु(१९१३– १९६०) को निबन्ध सङ्ग्रह त्जभ ःथतज या कष्कथउजगक(१९४२) मा प्रथम पटक विसङ्गतिको विस्तृत र महत्वपूर्ण व्याख्या गरिएको पाइन्छ“ (शर्मा र लुइटेल, पृष्ठः ३४७)। यसबाहेक पनि अङ्ग्रेजी साहित्यमा क्बmगभ िद्यभअपभतत का ध्बष्तष्लन ायच न्यमयत र भ्लमनबmभ, भ्गनèलभ क्ष्यलभकअय का त्जभ द्यबमि क्यउचबलय र त्जभ ऋजबष्चक जस्ता कृतिहरू पनि विसंगतिवादी कृतिहरूका महत्वपूर्ण उदाहरण बनेका छन्। यसरी बीसौँ शताब्दीदेखि युरोप र अमेरिकी साहित्यहरूमा अस्तित्वमा आएको विसंगतिवादले बिस्तारै विश्वका विभिन्न साहित्यहरूमा आफ्नो स्वरूप विस्तार गरिसकेको छ। हिन्दी साहित्यका हकमा बृजमोहन शाहको त्रिशंकु, विपिन कुमार अग्रवालको लोटन,बङ्गाली साहित्यमा बादल सरकारका बाकी इतिहास, सारा रातजस्ता कृतिहरूमा देखिएको विसंगतिवादी चिन्तन नेपाली साहित्यमा इन्द्रबहादुर राईको आज रमिता छ, पारिजातको सिरिसको फूल लगायतका कृतिहरूसम्म विस्तारित भएको देखिन्छ। विसङ्गतिवादी मान्यताअनुसार हामी नचाहेरै जन्मन्छौं र नचाहेरै मर्छौँ। हामीले जे सोच्छौँ त्यो हुँदैन र जे हुन्छ त्यो सोचेका हुँदैनौं। हामीले नभएको वा नहुने समयबारे जान्न नसक्ने भएकाले हामी अज्ञानता नै अज्ञानतामा बाँच्न विवस छौँ। हाम्रो स्थिति सारहीन, विसङ्गत, व्यर्थ र अर्थहीन रहे तापनि हामी आजन्म गतिशील बन्न सक्दैनौँ। हामी समाजका अभिन्न अङ्ग हौँ। यद्यपि समाजबाटै प्रदानित रुग्न, भत्किएको निराशाले पुरिएको हरेक तरिकाबाट कुण्ठित पीडित विभत्स र विद्रुप जीवन बाँच्न बाध्य छौं भन्ने मान्यता विसंगतिवादमा पाइन्छ। विसङ्गतिवादी कृतिहरूले मूलतः जीवनको निरर्थकता र उद्देश्यहीनता,अस्तित्वको संकट, एक्लोपन र निराशा,मानवीय सम्बन्धको विघटन,सामाजिक तथा नैतिक विसङ्गतिको चित्रण,मृत्युबोध र असुरक्षाको भावना आदि विषयवस्तुहरूलाई व्यङ्ग्यात्मक, खण्डित तथा दार्शनिक भाषाको प्रयोग गरी प्रस्तुत गर्ने गरिन्छ। अतः यस आलेखमा यही विसङ्गतिवादको कशीमा रेशम विरहीको ’पाश्र्वध्वनि’लाई पर्गेल्ने जमर्को गरिएको छ।

पाश्र्वध्वनि’ उपन्यासमा आएको विसङ्गति

विरहीको ’पाश्र्वध्वनि’ उपन्यास भित्र विसङ्गतिवादी मान्यता का विविध स्वरूपहरुमध्ये मानिस जे सोच्छ त्यो हुँदैन र त्यो हुन्छ जो उसले सोचेको हुँदैन भन्ने विरोधाभासपूर्ण परिस्थितिमा आधारित विसङ्गतवादको प्रयोग गरिएको छ। यसक्रममा यथार्थमा कहिल्यै प्रोफेसर बन्न नसकेका रामहरिलाई अरु सबै प्रोफेसर रामहरि भनेर बोलाउँथे। तिनै रामहरिका अभिभावकमध्ये आमा जन्म दिएर मरिन् पिता कर्म नदिएर पनि बाँचिरहेका थिए। आफ्नो नाबालक छोरोलाई टुहुरो जस्तै बनाएर प्रजातन्त्र प्राप्तिका लागि होमिएका उनै रामहरिका पिताको सङ्घर्षको मूल्यले आकार त लियो तर सपना भने कहिल्यै पूरा भएन। उनले सपना देख्दादेख्दै पूरा गर्नै नपाई महाप्रस्थान गरे। यता रामहरिको सपना भने फक्रन नपाई सुक्यो। रामहरिका पिता र उनकै साथी पीताम्बरका बिच जति गहिरो मित्रता थियो त्यति नै वैचारिक भिन्नता पनि देखिन्थ्यो। श्वेत वस्त्र र लामा लामा जटाधारी पिताम्बर विरोधाभासी जीवनशैली तर ज्ञान र विवेकको प्रतिमूर्ति भएर देखिएका छन्। उपन्यासभित्र बाहिर कम्युनिस्ट भित्रभित्रै कमाउनिस्टको चरित्र बोकेर कार्ल माक्र्सको दुहाइ गर्नेहरूको विरोधाभासपूर्ण कार्यशैली पनि विसङ्गतबाट परिचालित देखिन्छ।  उपन्यासभित्रकी महत्वपूर्ण पात्र हुन् नानीमा। उनै नानीमाका हरेक सन्तान विसंगति बोध गरेर बाँचेका छन्। मिठो मसिनो खान नपाएका र राम्रो र सफा लगाउन नपाएका उनीहरू शिक्षादिक्षाबाट पनि वञ्चित देखिन्छन्। म पात्र टुहुरो भएर पनि दुःखी भएनन् तर नानीमाका सन्तान बाबुआमाको काख भएर पनि कहिल्यै सुखी भएनन्। सन्तानमध्ये पनि एउटा छोरो बालकैमा बिफरले मरेको छ। एउटी छोरी एकजना अछुत भनिने दलित युवकसँग प्रेम गरेर भागेकी छ। अर्को छोरो सुस्त मनस्थितिको छ। उल्लिखित विरोधाभासपूर्ण घटनाक्रमले पाश्र्वध्वनिलाई विसङ्गतवादी उपन्यासको कित्तामा उभ्याएको छ। त्यसैगरी उपन्यासभित्र भगवान् को न्यासध्यान र सत्कर्मको दुहाइ दिने नारायण पण्डित आफ्नी श्रीमती र आफ्नै दाइको हत्याराका रूपमा चित्रित हुनु, अभिनाशले पिताम्बर बाबालाई कान्तिकासँगको दाम्पत्यको अध्याय खारेज पनि नगर्ने र तत्काल पूरा पनि नगर्ने निर्णय सुनाउनु, नारायणबाजेका छोराहरू विद्यालय पढ्न चाहनु तर बाबुले चाहना विपरीत देवघाटमा कर्मकाण्डी काम सिकाउनु, जातीयताको पक्षमा खुलेर वकालत गर्ने र अन्तरजातीय विवाहको त्यत्तिकै विरोध गर्ने नारान बाजेकै छोरीले नेवारसँग प्रेम विवाह गर्नु, भानुदेवले परिवारको इच्छा भन्दा विपरीत गएर कमिनी स्वप्निकासँग बिहे गर्नु र चाहेर पनि आफ्नो घरभित्र बस्न र पस्न नपाउनु, निर्माया दिदीको पति दमको व्यथाले बित्नु, उनको एकमात्र छोरो नारायणी नदीमा डुबेर लाससमेत नपाइनु, उक्त लास खोजिदिने मान्छे पनि नपाइनु, उनै निर्माया दिदीको होटलमा आएकी वृद्धा जसको श्रीमान् माओवादी जनयुद्धमा मारिएपछि राज्य पक्षबाट एकमात्र सन्तानलाई समेत बेपत्ता पारेको पीडा बिर्सिनकै लागि दिनहुँ मदिरा सेवन गर्नु,माओवादी कथित युद्धको रापकै बेला नारायणघाटका चलचित्र उद्यमी भगवान् श्रेष्ठको हत्या हुनु जस्ता विसङ्गतिवादी चेतले पनि पाश्र्वध्वनि उपन्यासलाई विसङ्गतिवादी उपन्यासको कित्तामा उभ्याएको हो।

’पाश्र्वध्वनि’ उपन्यासमा विसङ्गतिबोध गर्ने अर्को महत्वपूर्ण पात्र हो स्वप्निकाकी आमा सान्नानी। आफ्नो घरपरिवार र तत्कालीन जात व्यवस्था विपरीत उभिएर सान्नानीले जोसँग (खड्कबहादुरसँग) विवाह गरी ऊ साँचो अर्थमा पति बन्न सकेन जो साँचो अर्थमा साननानीको पति बन्यो उसले सान्नानीलाई विवाह गरेको हुँदै होइन। उसले खड्कबहादुर सँग साँचो प्रेम गरी तथापि खड्कबहादुरले उसैलाई बेचेर आएको पैसालाई प्रेम गरिरह्यो। त्यसैगरी स्वप्निका जसलाई बाबु भन्छे ऊ बाबु होइन जो यथार्थमा बाबु हो उसलाई कहिल्यै बाबु भनिन। ईश्वर मृत्युको घोषणा गर्ने नित्सेको “संसारमा मानिस सबभन्दा क्रुर जनावर हो।“ भन्ने विसङ्गतिवादी चेतकेन्द्रित भनाइसँग सहमति जनाउने कान्तिकाको विचारलाई स्थान दिइएको पाश्र्वध्वनिभित्र विसङ्गति वास्तविक जीवनमा मात्र नभई स्वप्निल जीवनमा पनि देखिएको छ। खासगरी कान्तिकाका बुवाले मृत्यु पश्चात सपनामा आएर उनको संघर्षशील जीवनप्रति कारुणिकता दर्शाउँदै “तिमी जति कोमल छौ त्योभन्दा बढी कठोर छेउ,तिमीले जे चाहेकी थियौ पाइरहेकी छैनौ (पृष्ठ १४९)।“भन्ने विचार विसङ्गतिवाद निकट देखिन्छ। पाश्र्वध्वनि उपन्यासको बिचतिर आएको हरेराम विसङ्गतिका दृष्टिले महत्वपूर्ण पात्र हो।कर्मवीर नाम फेरेदेखि कहिल्यै वीरतापूर्ण कर्म गर्न नसकेको पात्र कहिल्यै उसको नामले सुझाए अनुरुप हरेराम भजेको छैन। हरे राम भन्नुमा ऊ पटक्कै मुक्ति देख्दैनथ्यो। उही हरेरामले हरेराम भजेर मानिसलाई अँध्यारो गुफामा राख्ने शास्त्र उहिल्यै च्यातिसकेको थियो। हरेरामले जब मास्टरी छोडेर मुक्तिमार्गमा हिँड्यो। त्यसैबेलादेखि मात्र उसलाई हरिपुरका सबैले हरेराम माडसाप भनेका छन्। हरेरामको यात्रामा हिँडेकाहरू सुकेका सिद्रा माछा जस्ता थिए उनीहरू असल जातका माछा जस्ता पोटिला भएर आए। उसको गाउँभरि मुसाको टोड्कै टोड्का छन्। तर मुसा देखिँदैनन्। खोलाबाट पानीको भेल बगेर अन्तै जान्छ। गाउँलेहरु आकाशै पानीमा खेती गर्छन्। गाउँका खेतभरि धान मकै गहुँ, कोदो सबै कुरा फल्छ तर गाउँलेहरू आयातित कङ्क्रिटको टुप्पो हेरेर भोकै सुत्छन्। पहाडभरि बुटी छन्। चोकचोकमा वैद्य खाना छन्। गाउँलेहरू रोगले कोही थलिन्छन् कोही मर्छन्। यसरी हेर्दा जुन नियति नभोग्नुपर्ने थियो त्यही नियति भोग्न बाध्य बनाइएका हरेरामका गाउँलेहरू र स्वयं हरेराम विसङ्गति बोध गरेर बाँच्न बाध्य पात्रका रूपमा उपस्थित भएका छन्। राजनीतिक परिवर्तनको कथा बोकेको ’पाश्र्वध्वनि’ उपन्यासको अन्त्यतिर देशमा व्याप्त पञ्चायती शासनले घुँडा टेकेर जनचाहना बमोजिमकै बहुदलीय व्यवस्थाको उदय भएको विषय प्रस्तुत भएको छ। यसै प्रसङ्गको सेरोफेरोमा रहेर त्याग र बलिदानीका प्रतिमूर्ति अविनाशले परिवर्तनपश्चातका दिनहरूमा अझ बढी विसङ्गत अनुभूत गरेका छन्। हिजो त्याग गरिएका व्यक्तिहरू यो नाउँमा वा त्यो नाउँमा पछि पारिएका छन् भने योगदान नै नगरेका मानिसहरूको बोलवालाले सिंगो राजनीति नै विकृत बन्दै जाँदा अविनाश जस्ता व्यक्तित्वहरू पाखा लगाइएका छन्। यस सन्दर्भमा अविनाशले बोध गरेको विसङ्गतिलाई अक्षरका माध्यमद्वारा प्रस्तुत गरिनु बढी सान्दर्भिक देखिन्छ। “आजकाल म घाम लाग्दा अँध्यारो देख्छु। घाम अस्थाएपछि उज्यालो देख्छु। म एउटा लाटोकोसेरोमा परिणत भएको छु। फ्रान्ज काफ्काको एउटा औपन्यासिक पात्र ग्रेगोर जाम्जा एकाएक किरोमा परिणत भएजस्तै। कालान्तरमा म आफैसँग पनि पराजित भएको छु। मेरो जीवन खासमा पराजयको जीवन हो। सोझो रूपमा भन्दा असफलताहरूको चाङमाथि रहेको घुर्मैलो खाली कागजको पाना हो (पृष्ठ २५५)।“

उपन्यासमा अवस्थाले सिर्जना गरेको विसङ्गतिलाई मात्र नभएर व्यवस्थाले सिर्जना गरेको विसङ्गतिलाई पनि अत्यन्त सारगर्भित रुपमा प्रस्तुत गरिएको छ। उपन्यासमा वर्णन भए अनुसार पञ्चायती व्यवस्थाले निमन्त्रण गरेको हत्या, हिंसा, आतङ्क, क्रुरता बर्बरताले नेपाली जनताहरू आक्रान्तित बनेका थिए । यस सन्दर्भमा उपन्यासमा परेको निम्नलिखित हरफहरूलाई प्रस्तुत गरिनु सान्दर्भिक देखिन्छ “चेपे मस्र्याङ्दी कर्णालीमा धेरै रगत बग्यो। लासहरूको सनाखत भएन । लासको खेती गर्नेहरूलाई त्यही लास गनाउन थाल्यो। लासमा परेड खेल्नेलाई त्यही लासको बासना आउन थाल्यो। गिद्धहरूले लास पाएनन् । सिद्धहरूले लासको भर्याङ बनाएर धुरी चढे (पृष्ठ १९८)।“ मूलतः यही परिवेशबाट आक्रान्तित हरेराम आफू बाँचेको देश, देश हो वा हृदयहीन शासकको मानव बधशाला हो भन्ने विषयले बिलखबन्धनमा परेको थियो। धमिरा लागेको सुरक्षा प्रणालीमा बाँचिरहेको हरेराम रातभरि निदाउन सक्दैन। उसको छोरो कलेज गएको छ यद्यपि फर्किएको छैन। छोराको लास नभेटिँदा बाबु आफै अस्पतालमा लास भएपछि उक्त लासलाई उठाउने आफन्त नभएर अस्पतालमै लास सड्ने विभत्स दृश्य देखेकी श्वेत वस्त्रधारी छोरी निलीमा विघटित छे र सपनामा ऐठनको शिकार भएकी छ। बिहे भएको दुई वर्ष पनि नपुग्दै उसको आफ्नै सहयात्रीको छोराले छोरी ज्वाईँको हत्या गरेर फरार भएको छ। श्रीमती बिन्द्रामाको बैंसभरि पोखेको पसिना र देखेको सपना डडेर खरानी भएको थियो। उसैको शब्द पैँचो लिएर भन्दा उसले नाग देवता भनेर पूजा गर्दै दूध खुवाएर पालेकाहरू सबै गोमन सर्प निस्किए र उसैलाई क्रमश डसिरहे। हरेरामको जीवनमा यो सबै परिस्थिति निर्माण गर्ने पञ्चायती व्यवस्था आफैंमा क्रुर हिंस्रक र विसङ्गतिको दलदलमा भाँसिएको थियो। हरेरामको डायरीले सुझाए अनुसार पञ्चायती व्यवस्थाले आक्रान्तित तत्कालीन नेपाल विकृति र विसंगतिको डरलाग्दो चपेटामा रुमलिएको थियो। “दर्शनशास्त्रका पण्डितहरू अजीर्ण भएर कोकशास्त्र पढ्न थालेका थिए। प्रतिरोधी चेतना उम्रिएकै थिएन। उम्रिए पनि तुषारोले खाएको आलुको बोट जस्तै देखिन्थ्यो। विचार भन्ने कुरा मरेको सर्प जस्तो चिसो थियो। मान्छे भुत्ते खुकुरी जस्ता देखिन्थे। साहित्य र सर्जक सीमित व्यक्तिका हनुमान चालिसाका गायक भएका थिए । कुनाम सुनाम थिए। सुनाम गुमनाम थिए। र बदनामहरू सिंहासनमा थिए (पृष्ठ १९९)।“ भन्ने तत्कालीन परिवेश वर्णनले पनि पञ्चायती व्यवस्था विकृति र विसङ्गतिको डरलाग्दो सगरमाथा बनेर उभिएको यथार्थ प्रकटीकरण गरेको छ। उपन्यासको आदि खण्डबाट सुरु भएको विसङ्गतिधारले अन्त्यसम्म नै विस्तार पाएको छ। उपन्यासको प्रमुख पात्र अविनाश आफैमा शिक्षित विवेकी र खारिएका विचारहरुले पोख्त पात्र हो तथापि उपन्यासको अन्त्यमा “म कालान्तरमा आफ्नो विचारको पतनले मुूर्छित भएको छु। यो मेरो वैचारिक निष्ठाको दुर्भाग्यपूर्ण आत्महत्या पनि हो।“ भन्ने ठहर गरेको अविनाशको मनोवृत्तिले विसङ्गति प्रस्तुत गरेको छ। उही अविनाशले उपन्यासको अन्त्यमा आफ्नो समग्र जीवनलाई नै दुरुह, विद्रुप र बेकार ठान्दै आफू नितान्त एक्लिएर जिन्दगी बिताउनु पर्दा विगतमा भएका कमजोरी स्वीकार्दै देवकोटाका न ज्ञान भो नभो विवेक भन्ने पङ्ति सम्झिएको छ। यस सन्दर्भमा “म सधैँ मनसँगै भएर पनि मनसँग छैन। जीवनको यो कस्तो हृदय विदारक यात्रा हो। कति डरलाग्दो संक्रमणबाट गुज्रिएर सकियो मेरो जीवन। कहिल्यै संयोग नजुरेर सकिनुको दुर्भाग्यपूर्ण नियतिमा बाँच्नुलाई म के भनेर चित्त बुझाऊँ“ जस्ता अविनाशका भनाइहरूले उसलाई आफ्नो सिङ्गो जीवन भरिन नपाएरै पोखिएको रित्तो गिलास जस्तो वा पाक्नुभन्दा पहिले उजाडिएको बाली जस्तो अनुभूत भएको छ। त्यही अविनाशको दुःखद अन्त्य सबैले आत्महत्यासँगै भएको आँकलन गरेका छन्। यद्यपि उसले आत्महत्या गरेको ठाउँ र उसको लास समेत नभेटिएकै अवस्थामा उपन्यासले विश्रान्ति प्राप्त गरेको छ। यसर्थ पाश्र्वध्वनि आरम्भदेखि अन्त्यसम्म नै विसङ्गति बोध गराउने पात्रहरूको संयोजनद्वारा तयार गरिएको सफल कृति हो।

निष्कर्ष

रेशम विरही रहीको औपन्यासिक कृति ’पाश्र्वध्वनि’ ले मूलतः उमेरजन्य मानव प्रेम सँगसँगै पञ्चायतकालीन नेपाली समाज, संस्कार, संस्कृति र राजनीतिक चेतनाको फेहरिस्त प्रस्तुत गरेको छ। पारिवारिक कथावस्तुलाई पाठकले आफै भोगेजस्तै गरी सार्वजनिन बनाएर प्रस्तुत गरिएको उपन्यासभित्र नेपालको तत्कालीन पञ्चायती व्यवस्था जसले समाज सुधार र देश परिवर्तन सुझाउने जनता होइन मुक्तकण्ठले प्रशंसाको भजन गाउने भजन मण्डली चाहन्थ्यो । परिणामस्वरूप देशले परिवर्तनको गोरेटो समाउन बाध्य भएको परिवेशलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ।कृतिभित्र कसैले परिस्थिति सुधार्न राजनीति गरेका छन् भने कसैलाई परिस्थितिले आफै राजनीति गराएको छ। यसबाहेक छिपछिपे दर्शन र सरल संक्षिप्त वाक्य गठन एवं सूत्रात्मक भाषाको प्रयोग गरिएको विरहीको यस ’पाश्र्वध्वनि’ ले विभिन्न पात्रहरूको संयोजनद्वारा विसङ्गतिवादी चिन्तनलाई पनि घनिभूत रूपमा प्रस्तुत गरेको छ। हुन त उपन्यासको मूल धेय विसङ्गतिको प्रकटीकरण गर्नु किमार्थ होइन। कृतिले मूलतः श्रृंगारस केन्द्रित प्रेम र चितवनको सेरोफेरोमा मौलाएको राजनीतिलाई नै केन्द्रबिन्दुमा राखे तापनि कृतिभित्रको विसङ्गतिवादलाई नजरअन्दाज गर्न भने सकिँदैन। उपन्यासभित्र मरनच्यासे जीवन बाँचिरहेका दुर्घटित जीवनहरू, विभत्स परिवेश र प्रतिकूल परिस्थितिको चित्रण गरिएका कारण विसङ्गतिको प्रादुर्भाव भएको छ। उपन्यासले विसङ्गतिवादलाई मानिसको आचार र विचारमा मात्र सीमित नराखी मानवीय अवस्थादेखि तत्कालीन राजनैतिक व्यवस्थासम्म विस्तार गरेको छ। उपन्यासभित्र विसङ्गतिवादले अपेक्षा गरे अनुरुपको विद्रुप शैलीको भग्न भाषा देखिँदैन यद्यपि उपन्यासमा प्रयुक्त प्राय सबैजसो पात्रहरूको विरोधाभासपूर्ण जीवनशैली, कष्टकर, जटिल विभत्स र विद्रुप परिस्थितिका कारण टुक्रिएका मनहरू आरम्भदेखि अन्त्यसम्म नै सक्रिय देखिन्छन् यसर्थ प्रस्तुत उपन्यास विसङ्गतिवादका दृष्टिकोणले प्रशंसनीय उपन्यास बनेको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार