मन्त्री त सिङ्गो देशको हुने हो– नेपालगन्जको मात्रै त होइन । त्यसका बाबजुद निश्चित रूपमा मैले नेपालगन्जलाई काखी च्यापेर केही निर्णय चाहिँ गरेकै छु । मदरशा शिक्षालाई सरकारी मान्यता दिलाएर त्यसको व्यवस्थित शैक्षिक सुरुवात नेपालगन्जबाटै गरेँ । त्यसबखत मैले प्युठानको कोटा काटेर पनि बाँकेमा विद्यालय स्थापना गरेँ ।
फत्तेहसिंह थारू
मलाई न कसैको दास हुनु छ, न लास भएर अकर्मण्यतामा समायोजन हुनु छ । त्यसैले गएको थिएँ, पैदल हिँडेर काठमाडौँ पढ्न– सोचेर यो मेरो देश हो । यहाँको माटोमा मेरो हक छ । यहाँको माटोले मलाई चिन्दछ । स्नातक तह अध्ययनको सपना बोकेर म पैदल लागेँ काठमाडौँतिर । त्यो समय आजको जस्तो थिएन । आजको कुलेखानी जलविद्युत् आयोजना सञ्चालित भएको ठाउँमा नाम नै बाजेको होटल रहेको एउटा होटल थियो । त्यसबेला होटल भन्ने हुँदैनथ्यो, सबैतिर– बास बस्ने ठाउँ भनिन्थ्यो । ‘बाजेको होटलमा तारेको माछा, दाल भात र त्यहाँको शुद्ध लोकल घ्यू, चिसो पानी जुन स्वादमा खाएथेँ मेरो जिन्दगीमा न त्यसअघि, न त त्यसपछि नै त्यस्तो मिठो खाना खाएको सम्झना छ ! पानी लाग्ने डर, अज्ञानता, यातायात, आर्थिक लगायतको अभावका कारणले त्यो समय काठमाडौँ जाने मान्छे खासै हुँदैनथे । त्यसैले बास बस्ने ठाउँ पनि धेरै थिएनन् । केही दिनको यात्रापछि काठमाडौँ पुगेँ । त्यस बखत पटना युनिभर्सिटीबाट सम्बन्धन प्राप्त एकमात्र स्नातक कलेज थियो, काठमाडौँ । बसाइका सुरुवाती दिनहरूमा पानी लागेर पानी पचाउन नसकेर हैरान । घरबेटी भाउजूले मलाई कतिपल्ट ‘यो रक्सी नखाई त तिमी नेपाल (त्यसबखत काठमाडौँलाई नेपाल पनि भनिन्थ्यो)मा बाँच्न सक्दैनौ’ भनेर सम्झाउनु पनि हुन्थ्यो । त्यतिन्जेल म रक्सी नपिउने मान्छे तर पछि पछि पेट दुखेको बेलामा दुःखाइ कम गर्न मैले पनि पिउन थालेँ ।गुभाजुको घर जो थियो– रक्सी मासु त सामान्य । प्राय राँगाको मासु हुन्थ्यो । मैले राँगाको मासु चाहिँ खाइनँ । त्यो विसं २०१५ सालतिरको कुरो हो । त्यसै बखत नेपालमा आमनिर्वाचन पनि भयो । बर्दियामा मेरो मामाको छोरा राधाकृष्ण थारू निर्वाचन लडेकोले म पनि चुनाव प्रचारको लागि आएँ । बयलगाडामा चढेर चुनाव प्रचार गरियो । वहाँले अत्यन्तै राम्रो मतका साथ जित्नु पनि भयो । पछि एम.ए. पढाइ सञ्चालन हुने गरी पहिलो पटक त्रिभुवन विश्वविद्यालय खुल्यो । त्रिभुवन युनिभर्सिटी मेरो समयमा खुलेको हो । मेरो बी.ए. पनि सकिसकेको थियो । युनिभर्सिटीमा एडमिसन पनि लिएको थिएँ तर स्टाफहरूसँग झगडा भएपछि मेरो घरदेखि नजिक पनि भएकोले एम.ए.को पढाइ लखनऊदेखि नै गर्ने सोच बनाएँ ।
त्यस समय नेपालगन्जको घरबारी टोलका नेवार, ठकुरी वा अन्य ठाउँका अरू समुदायका मान्छे पनि पढ्नको लागि इन्डियातिरै जाने चलन थियो । म बी.ए. पढ्न काठमाडौँ गएपछि चाहिँ घरपरिवारले आफ्ना सन्तानलाई गाली गर्ने गर्दथे– ‘फत्तेसिंह थारूको छोरो भएर पनि पढ्न काठमाडौँ गयो । तिमीहरूलाई चाहिँ इन्डिया नै जानु पर्ने ।’ पछि बिस्तारै घरबारी टोलका दुई÷चारजना काठमाडौँ जान पनि सुरु गरे । मेरो काठमाडौँको पढाइले सकेसम्म आफ्नै देशमा पढ्नुपर्छ भन्ने उत्प्रेरणाको काम पनि गरेको जस्तो लाग्छ । त्यो समय नेपालमा पञ्चायत आइसकेको थियो । मैले लखनऊदेखि नै आफ्नो पढाइ पनि पूरा गरिसकेको थिएँ । त्यस बखत पढेका मान्छेहरू बहुतै कम हुन्थे । जाने, बुझेका चेतना सम्पन्न मान्छेको अभाव थियो । अब देशको सेवा गर्नुपर्छ भन्ने लागेर प्रधानपञ्चको चुनाव लडेँ । त्यसपछि जिल्ला पञ्चायतको सभापति, राष्ट्रिय पञ्चायतको सदस्य हुँदै बहुदलमा सांसद र धेरै पटक मन्त्रीसम्म भएँ । सञ्चार शिक्षालगायतका मैले सम्हालेका मन्त्रालयमा देखिने गरी काम पनि गरेँ । चार मन्त्रालयले डिजिटल टेलिफोनको फाइल पन्ध्र वर्षदेखि अगाडि बढाउन सकेको थिएन, दरबारको डरले । म आइसकेपछि त्यो फाइल झिकाएँ । कन्सल्टेन्ट नियुक्त गरेर उसले भनेअनुसार बेल टेलिफोन प्रक्रिया अगाडि बढाएर नेपालमा डिजिटल टेलिफोनको सुरुवात गरेँ । दरबारले केही अफिसको शिलान्यास मैले नै गरेको हुँ । हाम्रो यहाँ (नेपालगन्ज) भेरी अञ्चल अस्पतालतिरको पुरानो टेलिकम भवनको शिलान्यास पनि मैले नै गरेको हुँ । शिक्षामन्त्री हुँदा नेपालगन्जमा शिक्षा कार्यालयको भवन निर्माणको लागि रकम विनियोजन मैले नै गरेको हुँ । राजनीतिको यति लामो भाग दौडमा मैले नेपालगन्जलाई खासै नजिकबाट हेर्ने अवसर पनि पाउन सकेनँ । पढाइको सिलसिलामा बाहिर बाहिरै भएँ । पढाइ सकेपछि राजनीति सुरु भयो । त्यसमा पनि उही भाग दौड । आमाको काखको न्यानो खासै अनुभूति गर्न पनि पाएनँ । जीवनमा त्यो अभाव खड्किरहने रहेछ । सायद त्यसैले होला छुट्टीमा आउँदा म आमाको नजिकै बस्थेँ । जीवन त्यस्तो थियो ।
विसं २०३८ सालमा पहिलो पटक म सञ्चार मन्त्री भएँ । अघि नै भनेँ कि त्यसबखत बेल डिजिटल टेलिफोनको सुरुवात गरेँ । मेरो एउटा आग्रह कर्मचारीलाई सधैँ रह्यो– कि मैले शिलान्यास गरेको ठाउँमा मेरो नाम नराख्नू, त्यसको जरुरत छैन । इतिहासमा लेखिने काम हो, नाम होइन । मेरो लागि गर्वको कुरा हो कि मैले आफ्नो नेतृत्वमा राष्ट्रमा बेल डिजिटल टेलिफोनको सुरुवात र विस्तार गर्न सकेँ । त्यसबेला आइटीयू –इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन) कन्फ्रेन्समा सहभागी भएर नेपाल टेलिकम्युनिकेसन कर्पोरेसनको कर्मचारी पनि आइटीयुमा पठाउने व्यवस्था मैले नै सुरुवात गरेको हुँ । त्यो प्रक्रिया धेरै पछाडि थियो । आजभोलि बल्ल आइपुग्थ्यो होला, त्यसबेला मैले नगरेको भए । म शिक्षामन्त्री हुँदा युनेस्कोको नारा थियो– सबैका लागि शिक्षा (एजुकेसन फर अल) तर हामी कहाँ संरचना थिएन । संरचनाबिना एजुकेसन सम्भव थिएन । त्यसैले दुई वर्षभित्र सबै क्षेत्रमा कुनै न कुनै तहको विद्यालय स्थापना गर्ने निर्णय गरेँ । त्यस्तै आजको इसिमोड भन्ने संस्था मेरै देन हो । डा. एनबाओ भन्ने हुनुहुन्थ्यो, जनरल सेक्रेटरी । नेपालमा इसिमोड कार्यक्रमको सुरुवात गर्दा इन्डियाले अत्यन्तै असहयोग ग¥यो । आफ्नो शिक्षामन्त्रीलाई नपठाएर सेक्रेटरीलाई पठायो । सार्क राष्ट्रका केही शिक्षामन्त्रीसमेत सहभागी उक्त बैठक मेरै अध्यक्षतामा सम्पन्न भएको थियो– इन्डियन गभर्मेन्टको विरोधका बाबजुद । मन्त्री त सिङ्गो देशको हुने हो– नेपालगन्जको मात्रै त होइन । त्यसका बाबजुद निश्चित रूपमा मैले नेपालगन्जलाई काखी च्यापेर केही निर्णय चाहिँ गरेकै छु । मदरशा शिक्षालाई सरकारी मान्यता दिलाएर त्यसको व्यवस्थित शैक्षिक सुरुवात नेपालगन्जबाटै गरेँ । त्यसबखत मैले प्युठानको कोटा काटेर पनि बाँकेमा विद्यालय स्थापना गरेँ । एकै पटक ११३ विद्यालय स्थापना गरेँ । त्यसैले गर्दा सरकारबाट निकालिएँ पनि । यो विसं २०४० सालतिरको कुरा हो ।
मैले राजनीति गरेर मेरो समुदायले के पायो भन्ने प्रश्न अत्यन्तै जटिल प्रश्न हो तर म एउटा कुराचाहिँ दाबीका साथ भन्न सक्छु कि थारू समुदायले संरक्षण र उत्प्रेरणा प्राप्त गरेको छ । त्यो प्रत्यक्ष होस् वा अप्रत्यक्ष होस् । साहु महाजनको ठगीबाट पीडित थारूहरू त्यसबेला पनि जब म छुट्टीमा घर आएको हुन्थेँ मानिसहरू समस्या लिएर मेरो घर आउने गर्दथे । म उनीहरूलाई न्याय दिलाउँथेँ । गाउँमा कसैको दादागिरी र हेपचेपको विरुद्ध एकताबद्ध भएर प्रतिकार गर्न उत्प्रेरित गर्थेँ । मलाई हेरेर मेरो समुदायका मान्छेहरू अवश्य नै उत्प्रेरित हुन्थे– थारूको बच्चा भएर पनि पढ्न सकिँदो रहेछ, मन्त्री बन्न सकिँदो रहेछ भन्ने उत्प्रेरणा समाज माथिको मेरो अप्रत्यक्ष योगदान हो । मैले जनताको पक्षमा बोल्दै गर्दा कुनै पनि डर धम्कीको कल्पनासम्म गरेनँ । एकपल्ट राजा वीरेन्द्रको सुर्खेत सवारी हुनुभन्दा केही समय पहिला गाउँमा आगलागी भएको थियो । राजाको सुर्खेत सवारीका बेला म पनि पुगेँ र समस्या राखेँ । गृहमन्त्री खड्कबहादुर सिंहले पीडित परिवारलाई घर बनाउनको लागि काठ दिइसकेको निवेदन गर्नुभो राजाको अगाडि । मैले फेरि हात उठाएर भनेँ– ‘सरकार वहाँले घर बनाउनलाई होइन फेरि जलाउनलाई काठ उपलब्ध गराउनु भा’छ ….!’ राजा वीरेन्द्रलगायत उपस्थित सबै हाँसे । मैले थपेँ– ‘घर निर्माण गर्दा कति डिस्टेन्समा निर्माण गर्ने भन्ने मापदण्ड पनि त हुनुप¥यो कि एक घरमा आगो लाग्दा पूरै गाउँ नै स्वाहा नहोस् ।’ राजा वीरेन्द्रले मेरो त्यस कुरालाई अत्यन्तै गम्भीरतापूर्वक लिएर ‘उनको कुरा ठीक हो’ भन्नुभयो । राम्रो कुरालाई तत्कालै स्वीकार गर्ने बानी थियो वीरेन्द्रको । त्यसैले त उहाँले मलाई गाउँफर्क अभियान विसं २०२८ मा मनोनीत पनि गर्नुभयो । यहाँको थारू समुदायलाई उत्पादन र सीपयुक्त बनाउने सन्दर्भमा पनि केही न केही गरेकै हुँ । म गाउँपञ्चायत सभापति हुँदा नै मेरो गाउँ र आसपासका नागरिकलाई घर बनाउनको लागि बर्दियाबाट काठ ल्याउने प्रबन्ध गरेँ । इँटा र खपडा बनाउने सीप सिक्ने व्यवस्था मिलाएँ । आज हेर्नूस्, थारू समुदायका कति मान्छे मिस्त्री बनेर राम्रो जीवन चलाउँदै छन् । त्यो समय निर्वाहमुखी खेती हुन्थ्यो । त्यसरी उत्पादनमा वृद्धि हुने र किसानको जीवनस्तर माथि उठ्ने सम्भावना थिएन । त्यसैले मैले कृषि जेटिए, मलखाद, राम्रो बीउबिजन आदि आधुनिक तरिकाले आइआरएट धानको खेती गरेर देखाएँ ।
उत्पादनमा भएको वृद्धि देखेर उनीहरूले त्यस किसिमको कृषि प्रणालीलाई अपनाए । सांस्कृतिक दृष्टिकोणबाट पनि मैले थारू संस्कृतिको प्रवद्र्धनमा जोड दिएको थिएँ । विवाहलगायत उत्सवहरूमा ब्याण्डबाजा वर्जित थियो । डफ र मादलमै सन्तुष्ट हुनुपर्छ । बाहिरबाट बाजा मगाएर पैसा खर्च नगर्ने । विवाहमा मासु र रक्सी वर्जित थियो । त्यसले गर्दा मेरो समयमा बिहे बोझ हुँदैनथ्यो । बाँके–बर्दिया दुवै जिल्लामा यो व्यवस्था थियो । मेरो बुवाको समयमै ज–जसले आफ्ना सन्तान पढाउँछ, त्यसले जमिन पाउँछ भन्ने थियो । सन्तान पढाउनेले चार–चार बिघा जग्गा पाए पनि । म असी वर्षको पुग्दैछु । मेरो अनुभूतिले भन्छ– मुलुक हिजोभन्दा आज झन् जर्जर बन्दैछ । आर्थिक–वैचारिक सबै दृष्टिले मुलुक सङ्कीर्ण बन्दैछ । लोकतान्त्रिक व्यवस्थामा वैचारिक मतभेदकै कारणले बहिष्कृत हुनुपर्ने अवस्था छ । जब कि म गाउँपञ्चायतको सभापति भएकै बेला काँग्रेसीहरूको आग्रहमा ‘तरुण’ पत्रिकाको सहज आगमनको आन्तरिक प्रबन्ध गरिदिएको थिएँ । मलाई लाग्थ्यो प्रजातन्त्रवादी हुनु महान चिन्तन हो तर आज प्रजातन्त्रवादी भन्नेहरूकै व्यवस्थामा फरक मत खुम्चिनु परेको छ । भारतसँगको लगभग ९५ प्रतिशत निर्भरतालाई राजा महेन्द्र र वीरेन्द्रले घटाउँदै ५० प्रतिशतसम्म पु¥याएका थिए । आज आएर हाम्रो परनिर्भरता फेरि बढ्दो क्रममा छ । आजको व्यवस्थालाई व्यवस्थित गर्ने जिम्मा लिएकाहरूबाट नेपाल समृद्ध हुन्छ जस्तो मलाई त लाग्दैन । परिवर्तन, गतिशीलता, सचेतनाको नारा दिएर ल्याइएको आजको व्यवस्थाको उचाइ चङ्गाको जस्तो छ– लट्टाई त अरूकै हातमा छ नि ! उचाइ त रूखको जस्तो हुनुप¥यो जसको उचाइ आफ्नै जरामा थामिएको होस् । (केही दिनअघि निधन भएका फत्तेहसिंह थारूसँगको कुराकानीको आधारमा तयार गरिएको सामग्री मध्यपश्चिम स्रष्टा समाजद्वारा प्रकाशित ‘सद्भावको सहर नेपालगन्ज’ पुस्तकबाट साभार गरिएको हो । यसको प्रस्तुति अमृत शर्मा ढकालले गरेका हुन् ।– सम्पादक)









प्रतिक्रिया दिनुहोस्