मैले खोजेको नेपाल



पर्यटन नेपालको अर्थतन्त्रको अर्को महत्वपूर्ण आधार हो । साहसिक पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन र ग्रामीण पर्यटनका असंख्य सम्भावनाहरू नेपालमा विद्यमान छन् । विश्वका लाखौँ पर्यटकहरू नेपालका हिमाल, प्राकृतिक दृश्य, ऐतिहासिक सम्पदा र नेपालीहरूको आत्मीय आतिथ्य अनुभव गर्न यहाँ आउने गर्छन् । पर्यटनलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन सके यसले लाखौँ युवालाई रोजगारी प्रदान गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई पनि मजबुत बनाउन सक्छ ।

डा. डक्टप्रसाद धिताल

नेपाल केवल एउटा भौगोलिक सीमाभित्र सीमित राष्ट्र होइन । यो हिमालको शिर, पहाडको धैर्य, तराईको उर्वरता, नदीहरूको जीवनधारा, संस्कृतिको विविधता र नेपाली जनताको आत्मसम्मानको प्रतीक हो । प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विश्वकै समृद्ध राष्ट्रमध्ये एक भए पनि नेपालले आफ्नो सम्पूर्ण सम्भावनालाई अझै व्यवहारमा रूपान्तरण गर्न सकेको छैन । राजनीतिक परिवर्तन, लोकतान्त्रिक उपलब्धि र विकासका प्रयासहरू हुँदाहुँदै पनि आम नागरिकले अपेक्षा गरेअनुसारको समृद्धि, सुशासन र अवसर प्राप्त गर्न सकेका छैनन् । आज पनि हजारौँ युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन्, किसान आफ्नो उत्पादनको उचित मूल्य नपाएर निराश छन्, शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरको चुनौती कायम छ, भ्रष्टाचार र अव्यवस्थाले जनविश्वास कमजोर बनाइरहेको छ । यिनै यथार्थका बीच एउटा प्रश्न बारम्बार उठ्छ—हामीले कस्तो नेपाल निर्माण गर्न चाहेका छौँ ? यही प्रश्नको उत्तर खोज्ने प्रयास नै ‘मैले खोजेको नेपाल’ हो ।

सम्भावनाले भरिएको नेपाल

नेपाल प्रकृतिले उदारतापूर्वक सिंगारेको र इतिहासले गौरवशाली बनाएको राष्ट्र हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि भगवान् बुद्धको जन्मभूमि लुम्बिनीसम्म, हिमालको शीतलतादेखि तराईको उर्वर फाँटसम्म फैलिएको नेपालको प्राकृतिक सौन्दर्य आफैँमा अनुपम छ । यहाँका हिमशृंखला, नदी, ताल, झरना, वनजंगल, जैविक विविधता तथा धार्मिक एवं सांस्कृतिक सम्पदाले नेपाललाई विश्वकै विशिष्ट राष्ट्रका रूपमा परिचित गराएका छन् । यति सानो भूगोलभित्र यति धेरै प्राकृतिक र सांस्कृतिक सम्पदा हुनु नेपालको सबैभन्दा ठूलो शक्ति हो । नेपालको अर्को महत्वपूर्र्ण विशेषता यसको सांस्कृतिक विविधता हो । विभिन्न जातजाति, भाषा, धर्म, परम्परा र संस्कृतिले नेपालको सामाजिक संरचनालाई अझ समृद्ध बनाएका छन् । विविधताबीचको एकता नेपाली समाजको पहिचान हो । हिन्दू, बौद्ध, मुस्लिम, किराँत, ख्रीष्टियनलगायत विभिन्न धर्मावलम्बीहरूले आपसी सद्भावका साथ जीवनयापन गर्नु नेपालको सामाजिक सभ्यताको उदाहरण हो । यही धार्मिक सहिष्णुता र सामाजिक सद्भावले नेपाललाई विश्वसामु शान्तिप्रिय राष्ट्रका रूपमा चिनाएको छ । प्राकृतिक स्रोतसाधनका दृष्टिले पनि नेपाल अत्यन्तै सम्पन्न छ । जलस्रोतको अपार सम्भावना, उर्वर कृषि भूमि, जडीबुटी, खनिज पदार्थ, वन सम्पदा र जलविद्युत् उत्पादनको विशाल क्षमता नेपालका आर्थिक विकासका आधार हुन् । यदि यी स्रोतहरूको वैज्ञानिक, पारदर्शी र दिगो व्यवस्थापन गर्न सकियो भने नेपालले ऊर्जा, कृषि, पर्यटन र उद्योगका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सक्छ । आज विश्व ऊर्जा संकट र वातावरणीय चुनौतीसँग जुधिरहेको अवस्थामा स्वच्छ ऊर्जाको उत्पादनमार्फत नेपालले अन्तर्राष्ट्रिय स्तरमै आफ्नो प्रभाव विस्तार गर्न सक्ने सम्भावना रहेको छ ।

पर्यटन नेपालको अर्थतन्त्रको अर्को महत्वपूर्ण आधार हो । साहसिक पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन र ग्रामीण पर्यटनका असंख्य सम्भावनाहरू नेपालमा विद्यमान छन् । विश्वका लाखौँ पर्यटकहरू नेपालका हिमाल, प्राकृतिक दृश्य, ऐतिहासिक सम्पदा र नेपालीहरूको आत्मीय आतिथ्य अनुभव गर्न यहाँ आउने गर्छन् । पर्यटनलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन सके यसले लाखौँ युवालाई रोजगारी प्रदान गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई पनि मजबुत बनाउन सक्छ । नेपालको सबैभन्दा ठूलो सम्भावना भनेको यसको युवाशक्ति हो । ऊर्जाशील, सिर्जनशील र मेहनती युवाहरू राष्ट्र विकासका प्रमुख आधार हुन् । उनीहरूलाई गुणस्तरीय शिक्षा, आधुनिक सीप, प्रविधि, अनुसन्धान र उद्यमशीलताको अवसर उपलब्ध गराउन सकियो भने नेपालले छोटो समयमै आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सक्छ । विदेशिएका नेपालीहरूको ज्ञान, सीप, अनुभव र लगानीलाई राष्ट्रिय विकाससँग जोड्न सकियो भने त्यसले नेपालको समृद्धिको यात्रालाई थप गति दिनेछ । तर सम्भावना भएर मात्र राष्ट्र समृद्ध हुँदैन । सम्भावनालाई योजनामा, योजनालाई कार्यान्वयनमा र कार्यान्वयनलाई परिणाममा रूपान्तरण गर्ने दृढ इच्छाशक्ति आवश्यक हुन्छ । त्यसका लागि दूरदर्शी नेतृत्व, सुशासन, पारदर्शी प्रशासन, राजनीतिक स्थिरता र नागरिकको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । जब राष्ट्रका प्राकृतिक सम्पदा, मानवीय क्षमता र सांस्कृतिक शक्तिलाई सही दिशा दिइन्छ, तब मात्र समृद्धिको आधार तयार हुन्छ । त्यसैले मैले खोजेको नेपाल सम्भावनाको कुरा मात्र गर्ने देश होइन, सम्भावनालाई उपलब्धिमा रूपान्तरण गर्ने राष्ट्र हो । जहाँ प्राकृतिक सम्पदा राष्ट्रिय समृद्धिको आधार बन्छ, युवाशक्ति राष्ट्र निर्माणको प्रेरणा बन्छ, सांस्कृतिक विविधता राष्ट्रिय एकताको शक्ति बन्छ र प्रत्येक नागरिकले आफ्नै माटोमा भविष्य देख्न सक्छ । यही सम्भावनाको सही उपयोगले नेपाललाई समृद्ध, आत्मनिर्भर र विश्वसामु सम्मानित राष्ट्रका रूपमा स्थापित गर्न सक्छ ।

सुशासन र उत्तरदायी नेतृत्व

कुनै पनि राष्ट्रको समृद्धि केवल प्राकृतिक स्रोतसाधन, भौतिक पूर्वाधार वा आर्थिक सम्पन्नताले मात्र सुनिश्चित हुँदैन । त्यसका लागि सबैभन्दा आवश्यक तत्व सुशासन र उत्तरदायी नेतृत्व हो । इतिहासले प्रमाणित गरेको छ कि सीमित स्रोतसाधन भएका धेरै राष्ट्रहरूले सक्षम नेतृत्व, पारदर्शी शासन र दृढ राजनीतिक इच्छाशक्तिका कारण उल्लेखनीय विकास गरेका छन् । त्यसैगरी, प्रशस्त सम्भावना भएका धेरै देशहरू कमजोर नेतृत्व, भ्रष्टाचार र अव्यवस्थित शासनका कारण पछाडि परेका उदाहरण पनि प्रशस्तै छन् । नेपालको सन्दर्भमा पनि यही यथार्थ लागू हुन्छ । नेपालले विगत सात दशकमा विभिन्न राजनीतिक परिवर्तनहरू अनुभव ग¥यो । शासन व्यवस्था फेरियो, संविधान निर्माण भयो, लोकतान्त्रिक गणतन्त्र स्थापित भयो र जनप्रतिनिधिमूलक शासन प्रणाली लागू भयो । यी परिवर्तनहरू ऐतिहासिक उपलब्धि हुन् । तर नागरिकले खोजेको वास्तविक परिवर्तन भनेको दैनिक जीवनमा सहजता, पारदर्शिता, न्याय र अवसरको अनुभूति हो । यदि नागरिकले सरकारी कार्यालयमा सम्मानजनक सेवा पाउँदैनन्, विकास योजनाहरू समयमै पूरा हुँदैनन्, सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन्छ र कानुन सबैका लागि समान रूपमा लागू हुँदैन भने लोकतन्त्रको वास्तविक उद्देश्य अधुरो रहन्छ । सुशासनको अर्थ केवल प्रशासन सञ्चालन गर्नु होइन । जनताको विश्वास जित्ने गरी राज्य सञ्चालन गर्नु हो । सुशासन त्यतिबेला स्थापित हुन्छ, जब निर्णय प्रक्रियामा पारदर्शिता हुन्छ, सार्वजनिक स्रोतसाधनको सदुपयोग हुन्छ, सेवाप्रवाह प्रभावकारी हुन्छ, भ्रष्टाचारलाई कुनै पनि अवस्थामा स्वीकार गरिँदैन र प्रत्येक सार्वजनिक पदाधिकारी आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुन्छ । राज्यको शक्ति जनताको सेवाका लागि प्रयोग हुन्छ, व्यक्तिगत स्वार्थका लागि होइन । उत्तरदायी नेतृत्व राष्ट्र निर्माणको मेरुदण्ड हो । साँचो नेता त्यो होइन, जसले लोकप्रिय भाषण दिन्छ । साँचो नेता त्यो हो, जसले कठिन परिस्थितिमा पनि सही निर्णय लिन सक्छ, जनताको पीडा बुझ्छ र राष्ट्रहितलाई व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि राख्छ । नेतृत्वमा दूरदृष्टि, नैतिकता, इमानदारी, सहनशीलता र सेवाभावको समन्वय हुनुपर्छ ।

जब नेतृत्व उत्तरदायी हुन्छ, तब प्रशासन अनुशासित हुन्छ । प्रशासन अनुशासित हुँदा विकासले गति लिन्छ र नागरिकको विश्वास स्वतः बलियो बन्छ । भ्रष्टाचार सुशासनको सबैभन्दा ठूलो शत्रु हो । यसले विकासका योजना कमजोर बनाउँछ, राज्यको स्रोतसाधन दुरुपयोग गराउँछ र योग्य व्यक्तिहरूलाई निरुत्साहित बनाउँछ । त्यसैले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू हुनुपर्छ । कानुन सबैका लागि समान हुनुपर्छ, चाहे त्यो सामान्य नागरिक होस् वा उच्च पदमा बसेको व्यक्ति। जब दण्डहीनताको अन्त्य हुन्छ, तब मात्र सुशासनको जग बलियो बन्छ । आजको युगमा सुशासनको अर्को महत्वपूर्ण पक्ष प्रविधिमैत्री प्रशासन पनि हो । सरकारी सेवा छिटो, सरल, पारदर्शी र डिजिटल माध्यमबाट उपलब्ध गराउन सके नागरिकको समय, श्रम र खर्चको बचत हुन्छ । सूचना प्रविधिको प्रभावकारी प्रयोगले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार र प्रशासनप्रतिको जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउँछ । मैले खोजेको नेपालमा नेतृत्व पदको प्रतिष्ठाभन्दा जिम्मेवारीको प्रतीक हुनेछ । सार्वजनिक पद सेवा गर्ने अवसर हुनेछ, सुविधा लिने माध्यम होइन । नीति निर्माणदेखि कार्यान्वयनसम्म नागरिकको सहभागिता सुनिश्चित हुनेछ । राज्यका हरेक निकाय जनताप्रति उत्तरदायी हुनेछन् र सुशासन राष्ट्रिय संस्कारका रूपमा स्थापित हुनेछ । जब नेतृत्व इमानदार, प्रशासन पारदर्शी र नागरिक सचेत हुन्छन्, तब मात्र राष्ट्र समृद्धि, स्थायित्व र सामाजिक न्यायको दिशामा दृढतापूर्वक अघि बढ्न सक्छ । यही सुशासन र उत्तरदायी नेतृत्व नै मैले खोजेको नेपालको बलियो आधार हो ।

गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य

कुनै पनि राष्ट्रको वास्तविक शक्ति त्यसका नागरिकमा निहित हुन्छ । नागरिक शिक्षित, स्वस्थ, अनुशासित र सीपयुक्त भए मात्र राष्ट्र समृद्धिको यात्रामा द्रुत गतिले अघि बढ्न सक्छ। त्यसैले शिक्षा र स्वास्थ्यलाई कुनै पनि देशको विकासका दुई बलिया स्तम्भका रूपमा लिइन्छ । एउटा शिक्षाले सक्षम, विवेकी र जिम्मेवार नागरिक निर्माण गर्छ भने अर्को स्वास्थ्यले उनीहरूलाई उत्पादनशील, ऊर्जाशील र सिर्जनशील बनाउँछ । शिक्षा र स्वास्थ्यमा गरिएको लगानी वास्तवमा राष्ट्रको भविष्यमा गरिएको लगानी हो । नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि गुणस्तर, पहुँच र समान अवसरका दृष्टिले अझै धेरै सुधार गर्न बाँकी छ । विद्यालय र विश्वविद्यालयको सङ्ख्या बढेको छ, तर शिक्षाको गुणस्तर अपेक्षाअनुसार सुदृढ हुन सकेको छैन । अझै पनि धेरै विद्यार्थी प्रमाणपत्र प्राप्त गर्ने प्रतिस्पर्धामा सीमित छन्, जबकि आजको विश्वलाई सिर्जनशील, अनुसन्धानमुखी, प्रविधिमैत्री र सीपयुक्त जनशक्तिको आवश्यकता छ । त्यसैले शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम होइन, जीवन उपयोगी ज्ञान, नैतिकता, नेतृत्व क्षमता, वैज्ञानिक सोच र उद्यमशीलता विकास गर्ने प्रक्रियाका रूपमा रूपान्तरण गर्न आवश्यक छ । मैले खोजेको नेपालमा शिक्षा सहरका केही विद्यालयको विशेषाधिकार होइन, गाउँका प्रत्येक बालबालिकाको अधिकार हुनेछ । आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि विद्यार्थी विद्यालय छोड्न बाध्य हुने अवस्था रहनेछैन । विद्यालयहरू आधुनिक प्रविधिसँग जोडिनेछन्, शिक्षकहरू नियमित रूपमा क्षमता अभिवृद्धि तालिमबाट लाभान्वित हुनेछन् र पाठ्यक्रमलाई समयको आवश्यकता तथा श्रम बजारसँग अनुकूल बनाइनेछ । शिक्षित युवाले जागिर खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने आत्मविश्वास पनि हासिल गर्नेछन् । स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । स्वस्थ नागरिकबिनाको विकास केवल कल्पना मात्र हो ।

तर नेपालको यथार्थमा अझै पनि दुर्गम क्षेत्रका नागरिक सामान्य उपचारका लागि घण्टौँ वा दिनौँ यात्रा गर्न बाध्य छन् । कतिपय परिवार उपचार खर्च जुटाउन नसकेर ऋणमा डुब्छन्, त कतिपयले उपचारको अभावमै आफ्ना प्रियजन गुमाउनुपर्छ । यस्तो अवस्था समृद्ध राष्ट्रको परिचायक हुन सक्दैन । मैले खोजेको नेपालमा स्वास्थ्य सेवा सबै नागरिकको सहज पहुँचमा हुनेछ । गाउँदेखि शहरसम्म गुणस्तरीय अस्पताल, दक्ष स्वास्थ्यकर्मी, आधुनिक उपकरण, पर्याप्त औषधि र आपत्कालीन सेवाको सुनिश्चितता हुनेछ । स्वास्थ्य सेवा व्यापारको माध्यम होइन, मानवीय सेवाको सर्वोच्च रूप हुनेछ । विशेष गरी गर्भवती आमा, नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र आर्थिक रूपमा विपन्न नागरिकलाई राज्यले विशेष संरक्षण र प्राथमिकता प्रदान गर्नेछ । आजको विश्वमा स्वास्थ्यको अर्थ केवल रोगको उपचार मात्र होइन, रोगको रोकथाम, पोषण, मानसिक स्वास्थ्य, स्वच्छ वातावरण, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली पनि हो । त्यसैले स्वास्थ्य प्रणालीलाई उपचारमुखी मात्र होइन, रोकथाममुखी र जनचेतनामुखी बनाउन आवश्यक छ । विद्यालयदेखि समुदायसम्म स्वास्थ्य शिक्षा विस्तार गरेर स्वस्थ समाज निर्माण गर्न सकिन्छ । शिक्षा र स्वास्थ्य एकअर्काका परिपूरक हुन् । शिक्षित समाज स्वास्थ्यप्रति सचेत हुन्छ, र स्वस्थ समाजले शिक्षा तथा उत्पादनमा उत्कृष्ट योगदान दिन सक्छ । यी दुवै क्षेत्र सुदृढ भए मात्र गरिबी न्यूनीकरण, आर्थिक विकास, सामाजिक न्याय र राष्ट्रिय समृद्धिको आधार तयार हुन्छ । त्यसैले मैले खोजेको नेपाल त्यस्तो राष्ट्र हो जहाँ कुनै पनि बालबालिका गरिबीका कारण विद्यालय जानबाट वञ्चित हुँदैन, कुनै पनि बिरामी उपचारको अभावमा जीवन गुमाउन बाध्य हुँदैन, र प्रत्येक नागरिकले शिक्षा तथा स्वास्थ्यलाई आफ्नो जन्मसिद्ध अधिकारका रूपमा सहज रूपमा उपभोग गर्न सक्छ । जब ज्ञानले चेतना जगाउँछ र स्वास्थ्यले जीवनलाई ऊर्जा दिन्छ, तब मात्र समृद्ध, सक्षम र आत्मनिर्भर नेपालको सपना वास्तविकतामा परिणत हुन्छ ।

आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमुखी विकास

कुनै पनि राष्ट्रको वास्तविक समृद्धि त्यसको आत्मनिर्भर अर्थतन्त्रमा निर्भर हुन्छ । आफ्नो आवश्यकता पूरा गर्न निरन्तर आयातमा भर पर्नुपर्ने अर्थतन्त्र दीर्घकालीन रूपमा सुदृढ हुन सक्दैन । त्यसैले उत्पादन वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलताको विकास र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु आज नेपालको प्रमुख आवश्यकता हो । नेपालसँग कृषि, जलस्रोत, पर्यटन, वन सम्पदा, जडीबुटी तथा युवा जनशक्तिजस्ता बहुमूल्य सम्पदा छन् । यी स्रोतलाई वैज्ञानिक योजना, आधुनिक प्रविधि र प्रभावकारी व्यवस्थापनसँग जोड्न सके आर्थिक समृद्धिको बलियो आधार तयार गर्न सकिन्छ । नेपाल कृषिप्रधान देश भए पनि कृषिक्षेत्रले अपेक्षित विकास गर्न सकेको छैन । अधिकांश किसान अझै पनि परम्परागत खेती प्रणालीमा निर्भर छन् । उत्पादन लागत बढ्दो छ, आधुनिक प्रविधिको पहुँच सीमित छ र बजार व्यवस्थापन कमजोर भएकाले किसानले आफ्नो मेहनतअनुसारको प्रतिफल पाउन सकेका छैनन् । फलस्वरूप खेतीप्रति युवाको आकर्षण घट्दै गएको छ । यदि आधुनिक कृषि प्रविधि, सिँचाइ, कृषि बीमा, भण्डारण, प्रशोधन उद्योग र बजारको सुनिश्चित व्यवस्था गर्न सकियो भने कृषि सम्मानित र लाभदायक पेशाका रूपमा स्थापित हुन सक्छ । किसानलाई सम्मान र उत्पादनलाई उचित मूल्य दिन सकियो भने कृषि नै आर्थिक रूपान्तरणको प्रमुख आधार बन्न सक्छ । नेपालको अर्को ठूलो सम्भावना पर्यटन हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, हिमाल, पहाड, नदी, ताल, जैविक विविधता र सांस्कृतिक सम्पदाले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाएका छन् ।

पर्यटनलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन सके लाखौँ रोजगारी सिर्जना गर्न सकिन्छ । स्थानीय उत्पादन, हस्तकला, संस्कृति र ग्रामीण अर्थतन्त्रलाई पर्यटनसँग जोडेर गाउँ–गाउँमा आर्थिक गतिविधि विस्तार गर्न सकिन्छ । नेपाल जलस्रोतको दृष्टिले पनि अत्यन्तै सम्पन्न राष्ट्र हो । जलविद्युत् उत्पादन, सिँचाइ, खानेपानी र औद्योगिक विकासका लागि जलस्रोतको प्रभावकारी उपयोग गर्न सके देशले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता मात्र होइन, ऊर्जा निर्यात गर्ने राष्ट्रका रूपमा समेत आफ्नो पहिचान स्थापित गर्न सक्छ । यसका लागि दीर्घकालीन नीति, लगानीमैत्री वातावरण र पारदर्शी कार्यान्वयन आवश्यक छ । उद्योग र उद्यमशीलताको विकासबिना उत्पादनमुखी अर्थतन्त्र सम्भव हुँदैन । स्वदेशी उद्योगलाई प्रोत्साहन, साना तथा मझौला उद्यमलाई सहुलियत, प्रविधिको विस्तार र लगानीको सहज वातावरण सिर्जना गर्न सके उत्पादन बढ्ने, रोजगारी विस्तार हुने र आयातमा निर्भरता घट्नेछ । विशेष गरी युवालाई उद्यम गर्न प्रेरित गर्ने नीति, सहुलियतपूर्ण ऋण, व्यावसायिक तालिम र नवप्रवर्तनका अवसर उपलब्ध गराउनु आजको आवश्यकता हो । युवाले जागिर खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने संस्कारको विकास हुनुपर्छ । मैले खोजेको नेपाल त्यस्तो राष्ट्र हो जहाँ उत्पादनलाई सम्मान गरिन्छ, श्रमको मूल्य हुन्छ र स्थानीय स्रोत–साधनलाई राष्ट्रिय समृद्धिको आधार बनाइन्छ । आत्मनिर्भर अर्थतन्त्र केवल सरकारी नीतिले मात्र सम्भव हुँदैन । त्यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, किसान, उद्योगी, उद्यमी र नागरिक सबैको साझा प्रतिबद्धता आवश्यक हुन्छ । जब कृषि आधुनिक बन्छ, उद्योग प्रतिस्पर्धी बन्छ, पर्यटन व्यवस्थित बन्छ, जलस्रोत राष्ट्रिय समृद्धिको आधार बन्छ र युवाको सिर्जनशीलता उत्पादनसँग जोडिन्छ, तब मात्र आत्मनिर्भर, सशक्त र समृद्ध नेपालको सपना वास्तविकतामा रूपान्तरण हुन सक्छ ।

युवाशक्ति ः राष्ट्रको भविष्य

युवा कुनै पनि राष्ट्रका परिवर्तनका संवाहक, विकासका आधारस्तम्भ र भविष्यका निर्माता हुन् । उनीहरूको ऊर्जा, सिर्जनशीलता, ज्ञान र साहसलाई सही दिशामा परिचालन गर्न सकियो भने राष्ट्रले छोटो समयमै उल्लेखनीय प्रगति हासिल गर्न सक्छ । नेपाल पनि युवा जनशक्तिले भरिपूर्ण देश हो । तर अवसरको अभाव, बेरोजगारी र अनिश्चित भविष्यका कारण हजारौँ युवा विदेशिन बाध्य छन् । यसले देशभित्र प्रतिभा पलायन बढ्नुका साथै उत्पादनशील जनशक्तिको अभाव सिर्जना गरिरहेको छ । मैले खोजेको नेपालमा युवा विदेश जानु बाध्यता होइन, अवसरको विकल्प हुनेछ । उनीहरूले आफ्नै देशमा सम्मानजनक रोजगारी, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको पर्याप्त अवसर प्राप्त गर्नेछन् । सीपमूलक शिक्षा, आधुनिक प्रविधि, व्यवसायिक तालिम, सहुलियतपूर्ण लगानी र स्टार्टअपमैत्री वातावरण निर्माण गरेर युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्छ । युवाले जागिर खोज्ने मात्र होइन, नयाँ उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण पाउनु आवश्यक छ । राष्ट्र निर्माणमा युवाको भूमिका आर्थिक क्षेत्रमा मात्र सीमित हुँदैन । सामाजिक परिवर्तन, सुशासन, वातावरण संरक्षण, प्रविधि विकास, अनुसन्धान र लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणमा पनि युवाको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । जब राज्यले युवाको क्षमता पहिचान गर्छ र उनीहरूलाई अवसर प्रदान गर्छ, तब उनीहरू राष्ट्रको सबैभन्दा ठूलो शक्ति बन्छन् । त्यसैले नेपालको समृद्धि र दिगो विकासको आधार युवामै निहित छ । युवाको प्रतिभा, परिश्रम र सिर्जनशीलतालाई आफ्नै देशको विकासमा उपयोग गर्न सकियो भने आत्मनिर्भर, समुन्नत र समृद्ध नेपालको सपना अवश्य साकार हुनेछ ।

समानता, सामाजिक न्याय र भ्रष्टाचारमुक्त समाज

समृद्ध राष्ट्रको पहिचान केवल आर्थिक विकासले हुँदैन, त्यसका नागरिकले पाउने समान अवसर, सामाजिक न्याय र कानुनी समानताले पनि निर्धारण गर्छ । कुनै पनि नागरिक जात, धर्म, भाषा, लिंग, भूगोल वा आर्थिक अवस्थाका आधारमा विभेदमा पर्नु हुँदैन । विविधतायुक्त नेपाली समाजको वास्तविक शक्ति नै एकता, सहिष्णुता र पारस्परिक सम्मान हो । जब प्रत्येक नागरिकले समान अधिकार, समान सम्मान र समान अवसर प्राप्त गर्छ, तब मात्र राष्ट्रिय एकता बलियो बन्छ र विकासको प्रतिफल सबैसम्म पुग्न सक्छ । सामाजिक न्यायको अर्थ अवसरको समान वितरण मात्र होइन, पछाडि पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउनु पनि हो । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपमा विपन्न वर्गलाई शिक्षा, स्वास्थ्य, रोजगारी र नेतृत्वमा समान अवसर उपलब्ध गराउनु राज्यको दायित्व हो । समावेशी समाजले मात्र दिगो विकासको आधार तयार गर्न सक्छ । त्यसैगरी, भ्रष्टाचार राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक हो । यसले सार्वजनिक स्रोत–साधनको दुरुपयोग गर्नुका साथै जनताको राज्यप्रतिको विश्वास पनि कमजोर बनाउँछ । त्यसैले सुशासन, पारदर्शिता, जवाफदेहिता र कानुनी शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ । सार्वजनिक पदलाई सेवाको माध्यम बनाइनुपर्छ, व्यक्तिगत लाभको साधन होइन । कानुन सबैका लागि समान रूपमा लागू हुने संस्कारको विकास हुनुपर्छ । मैले खोजेको नेपाल त्यस्तो राष्ट्र हो जहाँ न्याय किन्ने वस्तु होइन, प्रत्येक नागरिकको अधिकार हुन्छ । जहाँ भ्रष्टाचारलाई कुनै पनि बहानामा स्वीकार गरिँदैन र जहाँ समानता, सामाजिक न्याय तथा इमानदार शासन प्रणाली राष्ट्र विकासका मूल आधारका रूपमा स्थापित हुन्छन् । यस्तो समाजले मात्र समृद्ध, सभ्य र विश्वासिलो नेपालको निर्माण गर्न सक्छ ।

दिगो विकास, वातावरण संरक्षण र राष्ट्रिय पहिचान

विकासको वास्तविक अर्थ केवल सडक, पुल, भवन वा अन्य भौतिक पूर्वाधार निर्माण गर्नु मात्र होइन । विकासले प्रकृति, संस्कृति र भावी पुस्ताको भविष्यलाई पनि सुरक्षित राख्नुपर्छ । प्राकृतिक स्रोत–साधनको अन्धाधुन्ध दोहनले क्षणिक लाभ त दिन सक्छ, तर दीर्घकालीन रूपमा राष्ट्रलाई ठूलो क्षति पु¥याउँछ । त्यसैले विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो । नेपाल हिमाल, नदी, वन, ताल, जैविक विविधता र सांस्कृतिक सम्पदाले सम्पन्न राष्ट्र हो । यी सम्पदा केवल वर्तमान पुस्ताका लागि मात्र होइनन्, भविष्यका सन्ततिका साझा सम्पत्ति पनि हुन् । जलवायु परिवर्तन, वन विनाश, प्रदूषण र अव्यवस्थित सहरीकरणका चुनौतीहरू बढिरहेका बेला वातावरण संरक्षणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउन आवश्यक छ । आधुनिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभावलाई गम्भीर रूपमा मूल्यांकन गरी दिगो विकासका सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ । राष्ट्रिय पहिचान हाम्रो भाषा, संस्कृति, कला, परम्परा, इतिहास र सामाजिक मूल्यमा निहित छ । आधुनिकताको नाममा आफ्ना मौलिक मूल्य र सांस्कृतिक सम्पदा बिर्सनु राष्ट्रका लागि दुर्भाग्यपूर्ण हुनेछ । त्यसैले विकाससँगै आफ्नो पहिचानको संरक्षण गर्नु पनि उत्तिकै आवश्यक छ । मैले खोजेको नेपाल त्यस्तो राष्ट्र हो जहाँ विकास र वातावरण एकअर्काका प्रतिस्पर्धी होइनन्, सहयात्री हुन् । जहाँ प्रकृति, संस्कृति र राष्ट्रिय गौरवलाई जोगाउँदै समृद्धिको यात्रा अघि बढाइन्छ ।

मैले खोजेको नेपालको सपना

मैले खोजेको नेपाल कुनै काल्पनिक कल्पना वा असम्भव सपना होइन । यो प्रत्येक नेपालीको इमानदार प्रयास, परिश्रम, जिम्मेवारी र राष्ट्रिय प्रतिबद्धताबाट निर्माण हुन सक्ने यथार्थपरक परिकल्पना हो । यस्तो नेपालमा नेतृत्व सेवामुखी हुनेछ, नागरिक उत्तरदायी हुनेछन्, किसान सम्मानित हुनेछन्, युवा आफ्नै देशमा अवसर खोज्नेछन्, शिक्षा गुणस्तरीय हुनेछ, स्वास्थ्य सेवा सर्वसुलभ हुनेछ र अर्थतन्त्र आत्मनिर्भर बन्नेछ । सुशासन, सामाजिक न्याय, समान अवसर र कानुनी शासन राष्ट्र सञ्चालनका आधार बन्नेछन् । मैले खोजेको नेपालमा कुनै पनि नागरिक अवसरको अभावमा विदेशिन बाध्य हुनेछैन । प्रत्येक व्यक्तिले आफ्नो क्षमता, सीप र परिश्रमका आधारमा आफ्नै देशमा सम्मानपूर्वक जीवन निर्माण गर्न सक्ने वातावरण हुनेछ । विकासका योजनाहरू कागजमा होइन, जनजीवनमा अनुभूत हुनेछन् । राष्ट्रप्रेम भाषणमा होइन, इमानदार काम, सामाजिक उत्तरदायित्व र सार्वजनिक सम्पत्तिको संरक्षणमा देखिनेछ । समृद्ध नेपालको निर्माण सरकार वा कुनै एक व्यक्तिको मात्र दायित्व होइन । यो सम्पूर्ण नेपालीको साझा जिम्मेवारी हो । जब नागरिक सचेत हुन्छन्, नेतृत्व उत्तरदायी बन्छ, विकास समावेशी हुन्छ र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखिन्छ, तब समृद्धि सम्भव हुन्छ । यही विश्वास, यही प्रतिबद्धता र यही आशामै मैले खोजेको नेपालको वास्तविक स्वरूप देख्छु । त्यस दिन प्रत्येक नेपालीले गर्वका साथ भन्न सक्नेछ—‘यही हो मैले खोजेको नेपाल ।’

  • No tags available
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार