राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका अधिकांश जिल्लामा सम्पन्न जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट निर्वाचित अधिकांश पदाधिकारी तथा सदस्यहरू युवा पुस्ताका हुनु आफैँमा नेपाली राजनीतिमा एउटा उल्लेखनीय सन्देश हो । परम्परागत राजनीतिक दलहरूमा लामो समयदेखि नेतृत्वको पुनरावृत्ति भइरहेका बेला रास्वपाले युवा नेतृत्वलाई अगाडि सारेको विषयले आम नागरिक, विशेषगरी युवावर्गमा नयाँ आशा र अपेक्षा जगाएको छ । नेपालको राजनीति लामो समयदेखि नेतृत्व हस्तान्तरणको चुनौतीसँग जुधिरहेको छ । राजनीतिक परिवर्तनका अनेक चरण पार भए पनि दलहरूभित्र नयाँ पुस्ताले नेतृत्व तहमा पुग्ने अवसर सीमित रहँदै आएको छ । परिणामस्वरूप राजनीति र युवाबीच दूरी बढ्दै गएको अनुभव गरिएको छ । यस्तो अवस्थामा रास्वपाले जिल्ला तहमा युवा अनुहारलाई नेतृत्वको जिम्मेवारी दिनु सकारात्मक अभ्यासका रूपमा लिन सकिन्छ । यसले केवल पार्टीभित्रको पुस्तान्तरणलाई मात्र संकेत गर्दैन, लोकतान्त्रिक संस्कृतिको विकास र नेतृत्व निर्माण प्रक्रियालाई पनि सुदृढ बनाउन मद्दत पु¥याउँछ । युवा नेतृत्वको आगमनसँगै नयाँ सोच, ऊर्जा र कार्यशैलीको अपेक्षा स्वाभाविक रूपमा जोडिएको हुन्छ । सूचना प्रविधिको प्रयोग, पारदर्शिता, सुशासन र जनउत्तरदायित्वका विषयमा आजको युवा पुस्ता बढी सचेत देखिन्छ ।
यदि यही चेतना र प्रतिबद्धतालाई व्यवहारमा उतार्न सकियो भने स्थानीयस्तरमा राजनीतिक संगठनलाई थप प्रभावकारी र जनमुखी बनाउन सकिनेछ । विशेषगरी राजनीतिप्रति निराश बनेका युवाहरूलाई पुनः राजनीतिक सहभागितातर्फ आकर्षित गर्न पनि यस्ता कदम उपयोगी हुन सक्छन् । तर युवा हुनु मात्र सफल नेतृत्वको पर्याप्त आधार होइन । नेतृत्वसँग अनुभव, दूरदृष्टि, संगठन सञ्चालन क्षमता, सहनशीलता र जनताप्रतिको उत्तरदायित्व पनि आवश्यक हुन्छ । त्यसैले निर्वाचित युवा नेतृत्वले आफूलाई केवल उमेरको आधारमा नभएर कार्यसम्पादनको आधारमा प्रमाणित गर्नुपर्ने चुनौती सामना गरिरहेको छ । जनताले नयाँ अनुहारभन्दा पनि नयाँ परिणाम खोजिरहेका छन् । यदि नेतृत्व परिवर्तन केवल अनुहार परिवर्तनमा सीमित भयो भने त्यसले अपेक्षित उपलब्धि दिन सक्दैन । रास्वपाको उदय नै पुराना राजनीतिक अभ्यासप्रतिको जनअसन्तुष्टिको पृष्ठभूमिमा भएको हो । त्यसकारण यस पार्टीका प्रत्येक गतिविधि र नेतृत्वमाथि जनताको विशेष निगरानी रहने स्वाभाविक छ । जिल्ला तहमा निर्वाचित नयाँ नेतृत्वले पार्टीका घोषित मूल्य, सिद्धान्त र प्रतिबद्धतालाई व्यवहारमा उतार्न सक्नुपर्छ । संगठन विस्तार, जनसम्पर्क, स्थानीय समस्याको पहिचान र समाधानमा सक्रिय भूमिका निर्वाह गर्न सके मात्र उनीहरूको नेतृत्व सार्थक ठहरिनेछ ।
अर्कोतर्फ, युवा नेतृत्वलाई सफल बनाउन पार्टीको केन्द्रीय नेतृत्वले पनि आवश्यक मार्गदर्शन, प्रशिक्षण र अवसर प्रदान गर्नुपर्छ । अनुभव र ऊर्जाबीचको सन्तुलनले मात्र संगठनलाई दीर्घकालीन रूपमा मजबुत बनाउन सक्छ । नयाँ पुस्तालाई जिम्मेवारी दिने तर आवश्यक सहयोग नगर्ने प्रवृत्तिले अपेक्षित परिणाम दिन सक्दैन । आज नेपाली समाजले राजनीतिमा विश्वासको संकट भोगिरहेको छ । भ्रष्टाचार, गुटबन्दी, अवसरवाद र जनअपेक्षाको बेवास्ताका कारण राजनीतिक दलहरूप्रति नागरिकको भरोसा कमजोर बनेको छ । यस्तो अवस्थामा युवा नेतृत्वले इमानदारी, पारदर्शिता र परिणाममुखी कार्यशैलीमार्फत विश्वास पुनः स्थापित गर्ने अवसर पाएको छ । यो अवसरलाई जिम्मेवारीपूर्वक उपयोग गर्न सकियो भने रास्वपाले मात्र होइन, समग्र नेपाली राजनीतिले पनि सकारात्मक दिशा प्राप्त गर्न सक्छ । यो नेपाली राजनीतिमा पुस्तान्तरण, नयाँ सोच र परिवर्तनको सम्भावनासँग जोडिएको विषय हो । अब सबैको नजर यी नयाँ नेतृत्वको कार्यशैली र उपलब्धिमाथि रहनेछ । युवा अनुहारले जनताको भरोसालाई परिणाममा रूपान्तरण गर्न सके भने यो कदम नेपाली राजनीतिका लागि उदाहरणीय बन्न सक्छ । अन्यथा, नयाँ नाम र नयाँ अनुहारले मात्र परिवर्तनको सपना पूरा गर्न सक्दैन । जनताले अब भाषण होइन, व्यवहारमा परिवर्तन खोजिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्