दिपेन्द्र खड्का । कौशिलानगर (बाँके) ।
प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ को उपाधि कृष्ण माध्यमिक विद्यालय कौशिलानगरले उचालेको छ । बिहीबार साइनिङ स्टार माविलाई फाइनलमा हराउँदै कृष्ण माविले उपाधि उचालेको हो । प्रतियोगिताको अन्तिम दिन बिहीबार फाइन खेलमा कृष्ण माविले ५–० गोल अन्तरले साइनिङ स्टार माविलाई हराएको हो ।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारासहित सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै कृष्ण माविले ५ लाख नगद रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको छ । यस्तै द्वितीय स्थान हासिल गरेको साइनिङ स्टार माविले ट्रफी, मेडल र नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो भने तृतीय स्थान हासिल गरेको निम्बल एकेडेमीले ट्रफी, मेडल र नगद २ लाख रुपैयाँ प्राप्त गरेको हो ।
प्रतियोगिताको सर्वश्रेष्ठ गोलकिपर कृष्ण माविका नबिन विक, सर्वोत्कृष्ट खेलाडी निम्बल एकेडेमीका कृष्णबहादुर बुढा र उदीयमान खेलाडीका रुपमा कृष्ण माविका मिपाङ्ग थापा घोषित भए । सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजना र शिक्षक महासंघ कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाले संयोजन र व्यवस्थापन प्रतियोगिता सञ्चालन भएको थियो । सामुदायिक तथा निजी गरेर ३६ वटा विद्यालय प्रतियोगितामा सहभागी भएका थिए ।
प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यालय तथा खेलाडीहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरी, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्य, सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषिराज शर्मा र शिक्षक महासंघ कोहलपुर नगरपालिकाका अध्यक्ष निमप्रकाश थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्