कोहलपुरमा प्रथम प्रदेशसभा कप अन्डर १६ फुटबल सुरु



कोहलपुर(बाँके) ।

बाँकेको कोहलपुरमा प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल’ भन्ने नारासहित सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज, बाँकेको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

शुक्रबार कोहलपुर–१ स्थित कृष्ण माध्यमिक विद्यालय कौशिलानगरमा एक कार्यक्रमकाबीच प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटनमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य चौधरीले माध्यमिक विद्यालयस्तरीय बालबालिकाहरूको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरिएको बताए ।

उनका अनुसार प्रतियोगिताबाट लुकेर रहेका प्रतिभाले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउँनेछन् । उनले भने, ‘फुटबल आफ्नो कौशल प्रदर्शन गर्ने खेल हो । अनुशासनको अर्को नाम हो । त्यसैले सम्पूर्ण खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्नको लागि आग्रह गर्छु । सबै टिमलाई जितको लागि अग्रिम शुभकामना ।’

आफ्नो निर्वाचन क्षेत्रका विद्यालयका विद्यार्थीहरूको क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको उनको भनाइ थियो । खेलकुद स्वास्थ्यका लागि मात्रै नभएर सामाजिक विकृति र कुलतविरुद्ध भएकोपनि प्रदेशसभा सदस्य चौधरीले बताए । प्रतियोगिता उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले फुटबल खेल र अनुशासन र धैर्यताको प्राय भएको बताए ।

विद्यार्थीहरूलाई पढाइमा मात्र नभएर खेलकुदका गतिविधिमा सरिक गराउनु निकै सकारात्मक कार्य भएको उनको भनाइ थियो । कोहलपुर नगरपालिकाका सामाजिक समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्मा कोहलपुर खेलकुदमैत्री सहरको रूपमा विकास भइरहेको बताए ।
‘कोहलपुर खेलमय भएको छ । क्रिकेट र फुटबलका ठूला प्रतियोगिता सञ्चालन हुँदै आएका छन् ।

जिल्लास्तरमा हरेक प्रतियोगितामा अग्रस्थानमा रहेको छ । खेलकुदमा हामीले धेरै उपलब्धि हासिल गरेका छौ । यो प्रतियोगितामा पनि यसैको निरन्तरता हो,’ उनले भने । प्रतियोगितालाई शुभकामना व्यक्त गर्दै कोहलपुर नगरपालिका वडा नम्बर १ वडाअध्यक्ष बद्रीप्रसाद जैसी अनुशासित रूपमा खेल प्रदर्शन गर्न आग्रह गरेका थिए ।

प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ को व्यवस्थापनको जिम्मा लिएको शिक्षक महासंघ कोहलपुर नगरपालिका अध्यक्ष निम प्रकाश थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको उद्घाटन खेल जनशक्ति मावि राप्ती सोनारी–५ र एभरेस्ट सैनिक मावि कोहलपुर–२ बीच भएको थियो ।

प्रतियोगिताका सचिवालय संयोजक कुमार रावतका अनुसार उद्घाटन खेलमा जनशक्ति माविले ५–० गोल अन्तरलाई एभरेस्ट सैनिक माविलाई पराजित गरेको छ । प्रतियोगिताको दोस्रो दिन आज १० वटा खेल हुने उनको भनाइ छ । प्रतियोगितामा ३६ विद्यालयका ५७६ जना खेलाडी सहभागी छन् । प्रतियोगिताको प्रथम पुरस्कार राशी ५ लाख, द्धितीय पुरस्कार ३ लाख र तृतीय पुरस्कार २ लाख रूपैयाँँ रहेको छ । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ जेठ ६ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार