पोखरा ।
पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुुसार महानगरपालिकाले यसवर्ष कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरेको थियो । यसवर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार रु पाँच करोड बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातरको ।वर्षाले केही असर भने पुर्याएको उनले बताए ।
“स्थानीय उत्पादनको प्रवर्द्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागिएको छ”, उनले भने । कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहको तरबुजा खेतीको प्रवर्द्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढाउन यही जेठ ५ गते पोखरा तरबुजा मेला २०८३ गर्ने भएको छ ।
पोखरा महानगरपालिकाको कृषि विकास शाखा र वडा न। १३ कार्यालयको आयोजना एवं वडास्तरीय कृषि सञ्जाल पोखरा १३ को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो । मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कडरियाले जानकारी दिए । उनका अनुसार मेलाका अवसरमा तरुबजासम्बन्धी बहस, सफलता कथा आदिबारे चर्चा परिचर्चा हुनेछ । रासस









प्रतिक्रिया दिनुहोस्