वीरेन्द्रनगर ।
कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले कोपिला भ्याली स्कुलमा आयोजित नमुना बाल प्रदेशसभा अभ्यासमा उठेका विषयवस्तुलाई व्यवहारिक रूपमा प्रदेशसभामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै शाहीले बालबालिकाले प्रस्तुत गरेका विचार, तर्क र बहसले आफू निकै प्रभावित भएको बताइन् ।
बालबालिकाले शिक्षा, बालअधिकार, वातावरण संरक्षण, स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विषयहरू गम्भीर रूपमा उठाएको भन्दै ती विषयलाई प्रदेशसभामा नीतिगत छलफलका रूपमा लैजान पहल गर्ने प्रतिबद्धता जनाइन् । ‘नमुना प्रदेशसभा अभ्यासमार्फत बालबालिकामा लोकतान्त्रिक संस्कार, नेतृत्व क्षमता तथा नीति निर्माण प्रक्रियाप्रतिको चासो बढेको छ,’ उनले भनिन्, ‘बालबालिकाको सोच र दृष्टिकोण निकै व्यवहारिक र दूरदर्शी रहेछ, यस्ता अभ्यासले भविष्यका सक्षम नेतृत्व उत्पादन गर्न सहयोग पुग्छ ।’
प्रदेशसभा सदस्य शाहीले नेपालको संसदीय अभ्यास र लोकतान्त्रिक प्रणालीले युवापुस्तालाई राजनीति तथा संसद्प्रति आकर्षित गरिरहेको बताउँदै आगामी दिनमा युवाहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेको धारणा राखिन् । बालमैत्री नीति निर्माणका लागि बालबालिकाको आवाज राज्यका निकायसम्म पु¥याउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनले उल्लेख गरिन् ।
कर्णाली प्रदेशसभा सचिवालयका अधिकृत राजेन्द्र पौडेल प्रमुख प्रशिक्षक र युवा पत्रकार तिलक पौडेलले प्रशिक्षकको रूपमा सहजीकरण गरेका थिए । संसदीय अभ्यासको व्यवहारिक ज्ञान प्रदान गर्न विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरूलाइ नमुनाका रूपमा सभामुख, दलको नेता, मुख्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । विद्यार्थीहरूलाई नै प्रतिपक्ष र सत्तापक्षका रूपमा विभाजन गरिएको थियो ।
गोलाप्रथाबाट नै सत्तापक्ष तथा प्रतिपक्ष र सभामुख, दलको नेता र मुख्यमन्त्री छनौट गरिएको प्रमुख प्रशिक्षक राजेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रममा बालबालिकाहरूलाई बालअधिकार, नेपालको संसदीय अभ्यास, प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम संसद्मा टेबुल र छलफल हुने प्रक्रिया लगायतका विषयमा व्यवहारिक ज्ञान दिइएको प्रशिक्षक तिलक पौडेलले जानकारी दिए ।
समापन कार्यक्रममा विद्यार्थीहरूले नमुना संसदीय अभ्यास नै प्रस्तुत गरेका थिए । जहाँ प्रदेश प्रमुखबाट संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, प्रतिपक्ष र सत्ता पक्षका दलका प्रदेशसभमा सदस्यबाट नीति तथा कार्यक्रममाथि टिप्पणी र पारित गरेका थिए । नमुना अभ्यासमा पनि सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमको बचाउ गरेका थिए भने प्रतिपक्ष दलको भूमिकामा भएकाहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम अव्यवहारिक, अस्पष्ट र कार्यान्वयन हुने आधार नै नभएको भन्दै कडा शब्दमा टिप्पणी गरेका थिए ।
कर्णाली प्रदेशसभा सचिवालय र यूएनडीपी संसद् सहयोग परियोजनाको प्राविधिक सहयोगमा भएको कार्यक्रम कोपिला भ्याली सेवा समाज र कोपिला भ्याली स्कुलले आयोजना गरेको थियो । कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लले विद्यालयमा अध्ययनरत बालबालिकालाई नेपालको प्रदेशसभा प्रणालीले कानुन निर्माण प्रक्रियाको ज्ञान र वैज्ञानिक तर्ककलाको विकास गर्ने उद्देश्यले नमुना बाल प्रदेशसभास अभ्यास कार्यक्रम गरिएको बताए ।
शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा वीरेन्द्रनगरका १० विद्यालयका ४० जना विद्यार्थी सहभागी थिए । नेपालको प्रादेशिक संसदीय प्रणालीको अभ्यासमा आधारित कार्यक्रममाको समापनमा सहभागी विद्यार्थीलाई प्रमाणपत्र र विद्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा बोलेका अधिकांश सहभागीहरूले किताबमा भएको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा सिक्ने ठूलो अवसर मिलेको भन्दै कार्यक्रमको निरन्तरता हुनुपर्नेमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्