काठमाडौँ : त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । कान्तिपुर मिडिया ग्रुप (केएमजी) को आयोजनामा आज यहाँ भएको २१ दशमलव एक किलोमिटरको हाफ म्याराथनअन्तर्गत पुरुषतर्फ रोकाया र महिलातर्फ श्रेष्ठले उपाधि जितेका हुन् । राजनले एक घण्टा ४ः०३ मिनेटमा उक्त दूरी पूरा गरे । पुरुषतर्फ शीर्ष तीनमा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रह्यो । अर्जुन बुढाले उक्त दूरी एक घण्टा ६ः०४ मिनेटमा पार गरी दोस्रो र सुशील शाही एक घण्टा ६ः५ मिनेट पार गरी तेस्रो भए ।

काठमाडौँका तीर्थ पुन एक घण्टा ७ः४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ एक घण्टा ८ः०२ मिनेटका साथ पाँचौँ र आर्मीकै नरेन्द्र राउत एक घण्टा ९ः०३ मिनेटका साथ छैटौँ भए । महिलातर्फ सन्तोषीले एक घण्टा १८ः११ मिनेटमा पूरा गरेर विजेता बनेकी हुन् । आर्मीकी निशा पाल एक घण्टा १८ः२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २३ः१३ सेकेन्डका साथ तेस्रो भए ।
आर्मीकी निर्मला केसी एक घण्टा २५ः५४ मिनेटका साथ चौथो, एपिएफकी फुलमती राना एक घण्टा २८ः४३ मिनेटका साथ पाँचौँ र सोनसरी रोकाया एक घण्टा ३२ः०३ सेकेन्डका साथ छैटौँ भए । हाफ म्याराथन पुरुष र महिला तर्फका विजेतालाई रु एक लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो । हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौँ हुनेले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरे ।कान्तिपुर टेलिभिजनको कार्यालय, तीनकुने अगाडिबाट सुरु भएको हाफ म्याराथन कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः तीनकुनेमा आएर टुङ्गिएको थियो ।









प्रतिक्रिया दिनुहोस्