सल्यान ।
जिल्लाभित्रका विभिन्न सडकखण्डमा वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्ने माग गरिएको छ । पछिल्लो समय वन्यजन्तुका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि यस्तो माग उठ्न थालेको हो । राप्ती लोकमार्गअन्तर्गत शारदा नगरपालिकास्थित बारधार्नी खोला आसपास क्षेत्रमा केही दिनअघि मोटरसाइकलसँग ठोक्किँदा एक लंगुरको मृत्यु भएको थियो ।
उक्त घटनामा मानवीय क्षति नभए पनि यसले सडक सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ । शारदा नगरपालिका–७ का वडाध्यक्ष लिलाबहादुर रोकाले कजेरी–रामेखोला आसपास क्षेत्रमा लंगुरको प्राकृतिक वासस्थान र पानीको स्रोत नजिकै रहेकाले वन्यजन्तुहरू सडक वारपार गर्ने क्रम बढेको बताए । उनका अनुसार सडकका दायाँ–बायाँ ठूला चट्टानका कारण बाटो साँघुरो भएकाले दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसार रूखमा बस्ने प्रजातिका लागि सडक, नहर वा रेलमार्गभन्दा कम्तीमा पाँच मिटरमाथि रहने गरी ‘क्यानोपी ब्रिज’ (आकाशे पुल) निर्माण गर्नुपर्ने व्यवस्था छ । वातावरणविद् जीवन शर्माले वन्यजन्तुको वासस्थानबीच सडक निर्माण हुँदा यस्ता समस्या देखिनु स्वाभाविक भएको बताए ।
‘लंगुर जस्ता रूखमा बस्ने प्रजातिका लागि क्यानोपी ब्रिज प्रभावकारी समाधान हुनसक्छ,’ उनले भने, ‘यसले वन्यजन्तुको सुरक्षित आवतजावत सुनिश्चित गर्नुका साथै सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्छ ।’ त्यस्तै, राप्ती लोकमार्गका सहायक सडकखण्डहरू, विशेषगरी थारमारे–मौलाहाले–बडागाउँ हुँदै चौरजहारी जोड्ने सडकमा पनि वन्यजन्तुमैत्री पूर्वाधार अभावका कारण रातिको समयमा हुँडार र बन खरायोजस्ता जनावरसँग सवारीसाधनसँग ठोक्किने जोखिम बढेको स्थानीयवासी बताउँछन् ।
दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको गति नियन्त्रणमा कडाइ गर्नुपर्ने, चेतनामूलक सूचना बोर्ड राख्न तथा सडक आसपास फोहोर वा खानेकुरा नफाल्न यात्रुहरूलाई सचेत गराइएको छ । डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले विकास निर्माणका कार्य गर्दा वन्यजन्तुको परम्परागत आवतजावत मार्ग सुरक्षित राख्नुपर्ने बताए ।
‘कुनै पनि विकास निर्माणका कार्य अघि बढाउँदा वातावरणीय अध्ययन गरेर मात्र गर्नुपर्छ,’ उनले भने, ‘जहाँ वन्यजन्तुको आवतजावत सुनिश्चित हुने व्यवस्था मिलाउन आवश्यक छ । पूर्वाधार निर्माणसँगै आवश्यक स्थानमा क्यानोपी ब्रिज, अन्डरपासजस्ता संरचना निर्माण गर्नु अपरिहार्य छ।’
निर्देशिकाअनुसार पहिल्यै निर्माण भई सञ्चालनमा रहेका पूर्वाधारमा समेत आवश्यकताअनुसार वन्यजन्तुमैत्री संरचना थप गर्न सकिने व्यवस्था छ । स्थानीयवासी तथा संरक्षणकर्मीहरूले सम्बन्धित निकायसँग क्यानोपी ब्रिज, अन्डरपासलगायत सुरक्षित संरचना निर्माण गरी वन्यजन्तुको आवतजावत सहज बनाउन माग गरेका छन् । साथै दुर्घटना न्यूनीकरण गर्न तत्काल पहल गर्न सुझाव छ ।









प्रतिक्रिया दिनुहोस्