स्पेनमा ‘आध्यात्मिक महोत्सव’ सम्पन्न



पोर्चुगल स्पेनको बार्सिलोनामा सञ्चालित ‘स्पेन आध्यात्मिक महोत्सव’ भव्यताका साथ सम्पन्न भएको छ । बार्सिलोनामा नेपाल घर तथा मन्दिर निर्माणार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले आयोजना गरेको उक्त महोत्सवबाट रु पाँच करोड बढी आर्थिक सहयोग संकलन भएको छ ।

पाँच दिनसम्म सञ्चालन भएको महोत्सवबाट तीन लाख सात हजार युरो अर्थात् रु पाँच करोड ३० लाख आर्थिक सहयोग संकलन भएको महोत्सवका संयोजक एवं एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले राससलाई जानकारी दिए ।  महोत्सवबाट एक लाख तीन हजार युरो नगद संकलन भएको छ भने बाँकी दुई लाख चार हजार युरो दाताले दान गर्ने प्रतिबद्धतासहित घोषणा गरिएको श्रेष्ठले बताए ।
  स्पेनवासी नेपाली समुदायको सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिका लागि बहुउपयोगी साझा केन्द्र स्थापना गर्ने लक्ष्यसहित बार्सिलोनामा ‘नेपाल घर’ तथा मन्दिर निर्माणका लागि महोत्सव सञ्चालन गरी सहयोग संकलन गरिएको श्रेष्ठले बताउनुभयो । महोत्सवबाट सङ्कलित रकममा थप रकम जुटाएर करिब पाँच लाख युरोको लागतमा नेपाल घर तथा मन्दिर निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए ।
महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गरेको भन्दै स्पेनमा क्रियाशील नेपाली सङ्घसंस्थासहित स्पेनवासी नेपाली समुदायलाई संयोजक श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् । महोत्सवमा प्रमुख वाचक वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवतसहित वेद र बौद्ध दर्शनमा आधारित रहेर प्रवचन दिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार