क्रिसा बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति



कोहलपुर (बाँके) ।

कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को नयाँ कार्यसमिति चयन गरिएको छ । आइतबार क्रिसाको सातौँ अधिवेशनमार्फत नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । आगामी ३ वर्र्षे कार्यकालका लागि ओविन्द्रबहादुर खत्रीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनमार्फत उपाध्यक्षमा नारायण पंगेनी, सचिवमा लोकेन्द्रबहादुर चन्द र कोषाध्यक्षमा धनबहादुर शाही चयन भएका छन् । क्रिसा बाँकेको सदस्यहरूमा कर्णबहादुर कैनी, राजिव सुवेदी र कल्पना पौडेल चयन भएका हुन् । सातौँ अधिवेशनमार्फत नवनिर्वाचित अध्यक्ष खत्रीले क्रिसामा आबद्ध विद्यालयहरूको हकहितका लागि काम गर्ने बताए ।

उनले आफ्नो कार्यक्षेत्र रहेका स्थानीय सरकार, प्याब्सन र एनप्याब्सनसहितका सरोकारवालाहरूसँग समन्वयकारी भूमिका खेल्ने बताए ।
क्रिसाको कार्यक्षेत्र कोहलपुर नगरपालिका, बैजनाथ र राप्ती सोनारी गाउँपालिका रहेका छन् । ती पालिकाहरूसँग गुणस्तरीय शिक्षा र क्रिसामा आबद्ध विद्यालयहरूको हकहितका लागि काम गर्ने उनले बताए ।

उनका अनुसार केही वर्षदेखि प्याब्सन र एनप्याब्सनबीचको विवादका कारण क्रिसा क्रियाशील हुन सकेको थिएन । उनले भने, ‘स्थानीय सरकारसहितका पेशागत संगठनसँगको सहकार्य र एकतामा क्रिसा पुनर्जीवित भएको छ । अब हामी निरन्तर क्रियाशील रहन्छौँ ।’

आफूहरू नयाँ जोश र जाँगरसहित कार्यसमितिमा आएको भन्दै सबै पक्षलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ थियो । प्याब्सन र एनप्याब्सन बीचको रूपमा रहेर प्रभावकारी समन्वयको भूमिका खेल्नुका साथै यस क्षेत्रको संस्थागत विद्यालययको हकहितका निम्ति आफ्नो जिम्मेवारी निभाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ३० गते सोमबार