फागुन ७ गतेबाट औपचारिक रूपमा प्रारम्भ गरिएको यो आन्दोलन ५० दिनसम्म चलेको थियो । तत्कालीन पञ्चायती सत्ताले जनआन्दोलनमाथि बल प्रयोग गर्ने रणनीति अख्तियार गरेको थियो र आन्दोलनलाई बर्बरतापूर्वक दमन गर्ने प्रयास भएको थियो । सम्पूर्ण नेपाली जनताको ठूलो समर्पण र साथका कारण पञ्चायत सत्ता धराशायी भएको थियो र मुलुकमा प्रजातान्त्रिक प्रणालीको पुनःस्थापन गरिएको थियो ।
राजेन्द्रप्रसाद धिताल
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा २०४६ साल चैत २६ को दिन एक अविस्मरणीय दिनको रूपमा रहेको छ । नेपालको जनआन्दोलन २०४६ ले पूर्णता प्राप्त गरेको दिनको रूपमा यो दिन ऐतिहासिक बनेको छ । २०४६ सालको जनआन्दोलनले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्थाको प्रारम्भ गरेको थियो । बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्न सञ्चालित यस जनआन्दोलनमा नेपालको इतिहासमा पहिलोपटक नेपाली काँग्रेस र विभिन्न कम्युनिस्ट पार्टीहरू मिलेर बनेको संयुक्त वाममोर्चाले संयुक्त रूपमा पञ्चायती सरकारविरुद्ध शान्तिपूर्ण सडक संघर्ष गरेका थिए । यस जनआन्दोलनका सर्वोच्च कमान्डर नेपाली काँग्रेसका सर्वोच्च नेपाल गणेशमान सिंह थिए । फागुन ७ गतेबाट औपचारिक रूपमा प्रारम्भ गरिएको यो आन्दोलन ५० दिनसम्म चलेको थियो। तत्कालीन पञ्चायती सत्ताले जनआन्दोलनमाथि बल प्रयोग गर्ने रणनीति अख्तियार गरेको थियो र आन्दोलनलाई बर्बरतापूर्वक दमन गर्ने प्रयास भएको थियो । सम्पूर्ण नेपाली जनताको ठूलो समर्पण र साथका कारण पञ्चायत सत्ता धराशायी भएको थियो र मुलुकमा प्रजातान्त्रिक प्रणालीको पुनःस्थापन गरिएको थियो ।
पृष्ठभूमि
नेपालमा २००७ सालको क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको सुत्रपात गरेको थियो । २०१७ सालमा राजा महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई समाप्त गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम गरेका थिए । यस क्रममा राजाले तत्कालीन जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला पदच्युत गर्दै संसद् भङ्ग गरेका थिए भने आफैँले जारी गरेको १०१५ सालको संविधान र यसले प्रदान गरेका प्रजातान्त्रिक अधिकारहरू पूर्ण रूपमा खारेज गरेका थिए । राजाले स्थापना गरेको निर्दलीय पञ्चायाती व्यवस्थामा जनताका आधारभूत मौलिक हकहरू कुण्ठित गरिएका थिए र यो व्यवस्थामा बहुलवाद थिएन । राजाको यो कदमका विरुद्धमा विभिन्न प्रकारका प्रतिक्रिया तथा आन्दोलनहरू तत्कालैबाट प्रारम्भ हुन थालिसकेका थिए । मार्सल जुलुम शाक्य र शैलजा आचार्यद्वारा गरिएको विरोध प्रदर्शन, १०१९ सालको असफल सशस्त्र आन्दोलन २०२० सालमा जनकपुरमा राजा महेन्द्रमाथि बम हमला, २०२७ सालमा नेपाली काँग्रेसद्वारा पुनः सशस्त्र संघर्ष, २०३३ सालको वीपी कोइरालाको मेलमिलापको नीति, २०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रह, २०४२ सालमा नेपाली काँग्रेसले गरेकोमा सत्याग्रह जस्ता आन्दोलन र विद्रोहका क्रमहरू चलिरहेका थिए । २०४६ सालमा आन्दोलनले विकसित र निर्णायक मोड लियो । सुरुवातमा नेपाली काँग्रेसले पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनको घोषणा गर्न तयारी गरेको थियो । नेपाली काँग्रेसद्वारा घोषित आन्दोलनमा भारतीय नेताहरूको पनि समर्थन थियो । चन्द शेखरलगायतका भारतीय नेताहरू काठमाडौँ आएर नेपाली काँग्रेसको सम्मेलनलाई सम्बोधन गरेका थिए । यसअघि २०४५ सालमा भारत सरकारले व्यापार तथा पारवहन सन्धि नवीकरण नभएको भन्दै नेपालविरुद्ध नाकाबन्दी समेत लगाएको थियो । छिमेकी राष्ट्रको असहयोग, आन्तरिक कुशासन र बढ्दो जनअसन्तुष्टिका बीचमा गुज्रिरहेको पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालमा काँग्रेस र कम्युनिस्ट पार्टीहरूले संयुक्त रूपमा सशक्त सडक संघर्ष गरे, जसलाई पञ्चायतले थेग्न सकेन् ।
आन्दोलनको उत्कर्ष र परिवर्तन
पञ्चायत सरकारले आन्दोलन दबाउन सशक्त प्रयास गरेको थियो । प्रशासनिक, शक्ति र राजनीतिक शक्तिको प्रयोग पूर्ण रूपमा विफल भएपछि चैत्र २४ गते राति राजा वीरेन्द्रले एक शाही घोषणामार्फत मरिचमान सिंह नेतृत्वको मन्त्रीमण्डल विघटन गरी लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा तीन सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । तर आन्दोलन रोकिएन । चैत २५ र २६ गते आन्दोलनले देशव्यापी आकार लिन थाल्यो । विस्तारै आन्दोलन उग्र हुँदै जान थाल्यो । आन्दोलनको पक्षमा अन्तर्राष्ट्रिय रूपमा समर्थन र जनमत बढ्दै जान थाल्यो । यसले राजामाथि राजनैतिक र नैतिक दबाब बढाउन थालेको थियो । अन्ततः ३० वर्षसम्म चलेको, माटो सुहाउँदो भनिएको पञ्चायती व्यवस्थाको अन्त गर्दै राजा वीरेन्द्रले चैत २६ गतेको राति बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापन गरे । जनताको शक्ति र आन्दोलनको दबाबका कारण राजाले २०४७ वैशाख ६ गते नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा ११ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्