जीतबहादुर शाह
हिजोआज विद्यार्थीहरूको निम्ति परीक्षाको मौसम चलिरहेको छ । यो मौसमले विद्यालयमा भर्ना भएका सबै उमेरका बालबालिकाहरूलाई छोएको छ । यो मौसमले मेरो चारवर्षको सानो साथी (नाति)लाई पनि छोएको छ । एकदिन मेरो नाति (सानो साथी)लाई सँगै लिएर विद्यालयतिर जाने क्रममा उनी हिँड्दाहिँड्दै अचानक बाटोमा उभिएर दुईहात जोड्दै आकाशतिर हेरेर भने ः ‘मलाई घरमा र विद्यालयमा मसँग कसैले पनि कराएको र कचकच गरेको मन पर्दैन । यो कुरा उनीहरूलाई भन्दिनु न भगवान् !’ उनको यो अनौठो कुराले मलाई निशब्द र आश्चर्यचकित बनायो । सकेसम्म घर विद्यालयको वातावरण बालबालिका सुहाउँदो पनि बनाउन प्रयास गरेकै हो । तथापि हामी घरकाले र विद्यालयले पनि परीक्षाको तयार गर्ने नाममा उनको मन दुखाएको कुरा साँचो रहेछ भन्ने कुरा पनि बोध भयो । म उनको मन मिल्ने मान्छे भए पनि उनले मलाईभन्दा भगवानलाई मन पराउँदा रहेछन् क्या रे । त्यही भएर गाह्रोसाह्रो पर्दा र अन्यत्र कसैबाट पनि आफ्ना गुनासाहरू सुनुवाइ नभएमा आफ्नो ईश्वरलाई सम्झिँदा रहेछन् । हाम्रो पारिवारिक वातावरण पनि त्यत्ति इश्वरीय भक्तिभाव सिक्ने जस्तो पनि छैन । थाहा छैन कसरी र कहाँबाट सिके यो कुरा उनले ?भगवान वा इश्वर छन् वा छैनन् भन्ने बहसतिर नलागौं अहिले । तथापि बालबालिकाहरू हामीले परिकल्पना गरेका इश्वरजस्तै हुन्छन् भन्ने लाग्छ । उनीहरू यो जात र त्यो जातको लडाइमा हुदैनन् । उनीहरू धर्म, लिङ्ग, वर्ण र सम्प्रदायको छिनाझप्टीमा पनि हुदैनन् । उनीहरू विचार, वाद, राष्ट्र र राष्ट्रियताको बादलले पनि ढाकिएका हुदैनन् । उनीहरू आफूप्रति प्रेम दर्साउनेहरू सबैप्रति आफूले पनि प्रेम दर्साउछन् । हामीमा जस्तो तेरोमेरो भावना हुदैन उनीहरूमा । सँगै खान मन पराउँछन्, सँगै खेल्न मन पराउँछन्, सँगै सुत्न मन पराउँछन् ।
उनीहरूमा सामूहिकतावादले आसनग्रहण गरेको हुन्छ । म त भन्छु, जीवनभरि सामूहिकतावादको वकालत गरेर पनि पार्टी फुटाउने नै मुख्य लक्ष्य बनाएर अघि बढेका कम्युनिष्टहरूले साना बालबालिकाहरूबाट धेरै कुरा सिक्नु पर्ने देखिन्छ । आफ्नो स्वभाव हामीले परिकल्पना गरेका ईश्वरसँग मिल्ने भएकाले पनि मेरो सानो साथीले पनि ईश्वरसँग कुरा गरेको होला भन्ने लाग्यो । यस्तै सोच्दै आफ्नो मन आफैँले बुझाएँ । स्वभावगत रूपमा भन्नुपर्दा बालबालिकाहरू निष्कपटता र निश्छलताको हिसाबले वयस्क अर्थात् हामीभन्दा अब्बल हुन्छन् । उनीहरूमा रिस, राग, द्वेष वा अहंकार जस्ता नकारात्मक भावनाहरू हँुदैनन् भन्दा अन्यथा हुँदैन् । उनीहरूको मन एउटा सफा ऐनाजस्तै हुन्छ । बालबालिकाको मन र स्वभाव पवित्र र छलछामरहित हुने गर्दछ । हामीले जस्तो सानो बच्चाले कसैलाई प्रेम गर्दा कुनै स्वार्थ वा प्राप्तिको आशा राख्दैन । उनीहरूको स्नेह प्राकृतिक र निस्वार्थ हुन्छ । वयस्कहरू अक्सर विगतको पश्चात्ताप वा भविष्यको चिन्तामा अल्झिएका हुन्छन्, तर बालबालिकाहरू पूर्ण रूपमा वर्तमानमा रमाउँछन् । बालबालिकाहरू तुरुन्तै झगडा गर्छन् र तुरुन्तै बिर्सिएर फेरि मिल्छन् । उनीहरूमा मनमा तुष पालेर राख्ने बानी हुँदैन । यो सहज क्षमादानको शक्ति ईश्वरीय स्वभावसँग मेल खान्छ । बालबालिकाहरूमा हुने उल्लिखित गुण र स्वभावहरूकै कारणले आध्यात्मिक चेत र चिन्तन भएका मानिसहरू उनीहरूलाई ‘ईश्वरको प्रतिरूप’ पनि भन्ने गर्दछन् । बालबालिकाको निर्दोषपन र उनीहरूमा पाइने दैवी गुणका बारेमा विश्वका विभिन्न साहित्यकार, दार्शनिक र शिक्षाविद्हरूले निकै मार्मिक भनाइहरू व्यक्त गरेका छन् । प्रसिद्ध अङ्ग्रेजी कवि वर्डस्वर्थले आफ्नो कवितामा बालबालिकालाई भगवानको नजिक देखाउँदै भनेका छन् कि बालबालिकाहरू स्वर्गको महिमा बोकेर यस धर्तीमा आएका हुन्छन् र उनीहरू भगवानको सबैभन्दा नजिक हुन्छन् ।
नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरले बालबालिकालाई आशा र ईश्वरको सन्देशका रूपमा हेर्दै लेखेका छन् कि प्रत्येक बच्चाले भगवान अझै पनि मानिससँग निराश हुनुभएको छैन भन्ने सन्देश लिएर आएका हुन्छन् । महात्मा गान्धी बालबालिकाको सत्यनिष्ठा र पवित्रतालाई जोड दिँदै भनेका छन् कि यदि हामीले यो संसारमा वास्तविक शान्ति ल्याउने हो भने, हामीले बालबालिकाहरूबाटै सुरु गर्नुपर्छ । भन्नुको मतलव उनले बालबालिकालाई इश्वरको रूपमा स्वीकार गर्दै उनीहरूको सेवा र शिक्षालाई धर्मकै रूपमा स्वीकार गरी कर्म गर्नुपर्दछ । यसरी नै ‘किन्डरगार्टन’ शिक्षा पद्धतिका जनक फ्रेड्रिक फ्रोबेलले बालबालिकालाई बिरुवा र ईश्वरको प्रतिविम्ब मान्दै भनेका छन् कि बाल्यकाल भनेको ईश्वरको बगैँचा हो र बालबालिकाहरू त्यहाँका फूलहरू हुन् । त्यसरी नै प्रसिद्ध दार्शनिक जिन ज्याक रुसोले बालबालिकाको प्राकृतिक अवस्थाको प्रशंसा गर्दै भनेका छन् कि सृष्टिकर्ताको हातबाट निस्कँदा सबै कुरा राम्रा र शुद्ध हुन्छन्, तर मानिसको हातमा परेपछि ती बिग्रन्छन् अर्थात् बन्धनमा पर्छन् । उनको विचारमा बालबालिका जन्मँदा पूर्ण रूपमा दैवी र निष्पाप हुन्छन् । यसरी नै दार्शनिक कवि खलील जिब्रानले बालबालिकाको आत्माको शुद्धताको बारेमा लेखेका छन् कि तिमीहरूले उनीहरू जस्तो बन्ने प्रयास गर्न सक्छौ, तर उनीहरूलाई तिमीहरू जस्तो बनाउने प्रयास नगर्नु । किनकि जीवन पछाडि फर्कँदैन । यसको अर्थ उनीहरू हामीभन्दा शुद्ध र प्राकृतिक छन् भन्ने हो । यी भनाइहरूले के पुष्टि गर्छन् भने बालबालिकाको स्वभावमा हुने सरलता, सत्य र निश्छलताकै कारणले उनीहरूलाई ईश्वरीय शक्तिको नजिक मानिएको हो ।
भनाइहरू सबैका मन परे । झनै बढी कवि खलिल जिब्रानको मन प¥यो । तिमीहरूले उनीहरू जस्तो बन्ने प्रयास गर्न सक्छौ तर उनीहरूलाई तिमीहरू जस्तो बनाउने प्रयास नगर्नु । विडम्बना अहिले विद्यालयहरूमा यही दर्शनको वरिपरि उभिएर युद्ध गर्ने काम भइरहेको छ ।
बालक हामीसँग लागेर बिग्रँदैछ भन्ने कुरा एकातिर छ भने बालकलाई हाम्रा कुरा सिकाएर विद्वान् बनाउनु पर्छ भन्ने विचार अर्कोतिर छ । आफ्नो संसारमा रमाइरहेको र मुस्कुराइरहेको बालकलाई त्यसरी नै अघि बढ्न प्रेरित गरेको भए के हुन्थ्यो ? ऊसँग भएका स्वभाव र विशेषताहरूलाई निमोठेर उसको थाप्लोमा हाम्रा स्वभाव र विशेषताहरू थुपार्दा कतै उसको प्राकृतिक स्वभाव कुण्ठित हुने त होइन ? जुन कुरा ऊसँग हुँदा ऊ हामीले परिकल्पना गरेको इश्वरजस्तो निश्चल, पवित्र र आनन्दित देखिन्थ्यो, के हामीले हाम्रा कुराहरू ऊमाथि थुपार्दा ऊ साँच्चिकै निश्चल, पवित्र र आनन्दित देखियो त ? यदि देखिएन भने हामीले उनीहरूलाई ईश्वर गुहार्ने गरी दिएको सास्ती र पीडा फेरि केका लागि ? यस्ता विषयमा बहस र छलफलहरू विहङ्गम किसिमले चलाउन जरुरी छ । सरकारका सय काममध्ये बुँदा नं. ८९ मा कक्षा ५ सम्म आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने भन्नुको आसय पनि बालकको बालापन बचाउनु पर्छ भन्ने आसयका साथ अघि सारिएको कार्य हो जस्तो लाग्छ । शब्द भने सरकारले उपयुक्त चयन गर्न सकेन । आन्तरिक परीक्षा होइन कि लिखित परीक्षा हो वा परीक्षाको हाउगुजीलाई बन्द गर्ने भनेको जस्तो लाग्छ । यसका लागि गर्ने के त ? यसका बारेमा पनि सरकारले शिक्षाविद् र पाठ्यक्रम विद्हरूको बीचमा शीघ्रातिशीघ्र बहस र छलफल चलाएर टुङ्गो लगाउनु पर्दछ । अन्यथा यो भ्याकुम धेरै दिन रहन गयो भने यो भ्याकुमलाई अराजक, उत्छृङ्खल र असामाजिक क्रियाकलापहरूले ओगट्न सक्छ । दृष्टान्त दिएर भन्नुपर्दा हामीले विद्यालयलाई भयरहित बनाउने त भन्यौँ । भयरहित भयो पनि । शिक्षकहरूले विद्यार्थीहरूलाई सजाय दिने, कुट्ने जस्ता गतिविधिहरू गर्न छोडे । तथापि यसको स्थान बालमैत्री व्यवहार र क्रियाकलापहरूले लिनु पथ्र्यो । विडम्बना भन्नु पर्छ, लिन सकेन । कारण सरकारको तयारी पुगेन । अहिले कतिपय विद्यालयहरूमा विद्यार्थीहरू अराजक किसिमले समेत प्रस्तुत भएका घटनाहरू देखापरिरहेका छन् । कारण स्पष्ट छ, उनीहरूप्रति हामी बालमैत्री किसिमले प्रस्तुत हुन सकेनौँ । यस्तो लाग्छ, उनीहरू कसैको डर र भर दुवै गुमाएर सडक, चोक र गल्लीमा हिँड्ने अनाथहरू जस्ता भए ।
बालबालिकालाई परीक्षारुपी हाउगुजीबाट मुक्ति दिलाउने हो भने कतिपय क्रियाकलापहरू अहिलेकै पाठ्यक्रममा समेत समावेश गरिएको छ । समावेश गरिएको मात्र छैन, परियोजना र प्रयोगात्मक कार्यको रूपमा सम्पादन गर्नका लागि सहजीकरण पनि गरिएको छ र त्यहीअनुरुप अथ्र्याइएको पनि छ । कुनै पनि विद्यार्थीहरूको मूल्यांकन गर्नका लागि यत्ति गते यो विषयको परीक्षा हुने भनेर सूचना प्रकाशित गरेर झ्याली पिट्नु पर्छ भन्ने छैन । बालबालिकासँग अनौपचारिक हिसाबले भलाकुसारी र छलफल गर्दागर्दै पनि विद्यार्थी वा बालबालिकाले आफ्नो मूल्यांकन भइरहेको छ भन्ने थाहै नपाउने गरी परीक्षा लिन सकिन्छ र मूल्यांकन गर्न सकिन्छ । भलाकुसारी गर्ने क्रममा घरपरिवारका मानिसहरूको नाम, गर्ने काम र नाता सोध्न सकिन्छ । परिवारका सदस्यहरूले गर्ने काम र व्यवहारमध्ये विद्यार्थीलाई मन पर्ने काम र व्यवहारको बारेमा सोध्न सकिन्छ । मन पर्नुको कारणको बारेमा सोध्न सकिन्छ । उनी घुम्न गएको ठाउँ र त्यहाँ उनलाई परेको कुराको बारेमा सोध्न सकिन्छ । सोधपुछ र भलाकुसारी भने अन्तरङ्ग किसिमले हुनुपर्दछ । दिल खोलेर आत्मीयतापूर्वक हुनुपर्दछ । यसका लागि परिवेश समेत उपयुक्त हुनुपर्दछ, सबैभन्दा ठूलो कुरा, प्रश्नकर्ता अर्थात् शिक्षक विद्यार्थी वा बालकको मन र मुटुमा विराजमान हुन सक्नुपर्दछ । प्रयोगात्मक र परियोजना कार्यसम्पादनका लागि अभिभावकलाई समेत जिम्मेवार र जवाफदेही बनाउनु पर्दछ । यसका लागि बालकले घरमा जोसँग बढी समय बिताउने गर्दछ, त्यसैलाई विद्यालयमा बोलाएर घरमा गर्ने क्रियाकलापहरूको सूचि बनाएर गर्ने तरिकाको बारेमा समेत सहजीकरण र प्रवोधीकरण गरिनु पर्दछ । सरकारले हप्तामा दुई दिन बिदा गरेको परिवेशमा त यसको महत्त्व झनै बढेको छ । बालबालिकाको व्यक्तिगत सरसफाइ, घर र वरिपरिको वातावरणीय सरसफाइ जस्ता कार्यमा उनीहरूलाई कसरी सरिक गराउने र कसरी आत्मनिर्भर सीपको विकास गराउने भन्ने सम्बन्धमा अभिभावकहरूसँग अन्तक्र्रिया र सहजीकरणका कार्यहरू गरिनु पर्दछ ।
अभिभावकहरूलाई बालबालिकासँग गर्नुपर्ने बालमैत्री क्रियाकलापहरूको विधि र तरिकाको बारेमा सहजीकरण गरेर घरलाई सिकाइमैत्री बनाउन सकेमात्र पनि धेरै काम हुन्छ र हुनेछ । यसका लागि विद्यालय, विद्यालय व्यवस्थापन समित, शिक्षक अभिभावक संघ, शिक्षाका सरोकारवाला, अभिभावक र शिक्षकहरू सुझबुझका साथ लाग्नु पर्दछ । विद्यार्थी विद्यालयमा आएको समयमा शिक्षकले विद्यार्थीहरूलाई घरमा गर्ने गरेका क्रियाकलापहरूको बारेमा सोधपुछ गर्दै जानकारी लिने र अभिभावकले घरमा आफ्ना सन्ततीहरूसँग विद्यालयमा गरेका क्रियाकलापहरूको बारेमा सोधपुछ र जानकारी लिने मात्र गरेमा पनि धेरै हुन्छ । उक्त काम गर्नुको कारण के हो ? त्यसबाट के फाइदा र सिकाइ भयो ? अब फेरि त्यो काम गर्ने कि नगर्ने ? अब फेरि त्यो काम गर्न सकिन्छ कि सकिँदैन ? घर र छरछिमेकका मानिसहरूबाट के के सिक्नु भयो ? तपाईँमा आफूमा भएका स्वभाव र व्यवहारमध्ये साथीहरू र घरका मानिसहरूमध्ये धेरैले मन पराउने स्वभाव र व्यवहार के हो ? र अरुले मन नपराउने व्यवहार र स्वभाव पनि तपाईँसँग केही छन् कि ? यस्ता अनगिन्ति जिज्ञासाहरू विद्यार्थी र बालबालिकाहरूसँग राख्दै उनीहरूमा भएको क्षमता र सम्भावनाहरूको बारेमा उत्खनन गर्न सकिन्छ । उनीहरूको रुचि र अरुचिको विषयमा समेत जानकारी लिन सकिन्छ । यत्ति मात्र नभइ कतिपय प्रयोगात्मक सीप आवश्यक पर्ने किसिमका शारीरिक श्रमहरू सँगसँगै मिलेर पनि गर्न सकिन्छ । यस्ता कार्य गरेर आर्जन गरेको शिक्षा घोकेर आर्जन गरेको शिक्षाभन्दा धेरै जीवनोपयोगी र व्यावहारिक पनि हुन्छ । बालबालिकाहरूसँग यस्ता क्रियाकलाप गर्दा उनीहरूले भगवानसँग हारगुहार पनि गर्नु पर्दैन । बाँकी जो हजुरहरूको मर्जी !









प्रतिक्रिया दिनुहोस्