नेपालगन्ज ।
मानव अधिकार जिल्ला समन्वय समिति बाँकेले सबै पालिकाहरूमा स्थानीय तह समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि सबै पालिकाहरूमा पत्राचार गर्ने निर्णय गरिएको हो । समितिको बुधबार जिल्ला समन्वय समितिको सभाहल नेपालगन्जमा सम्पन्न बैठकमा समग्र जिल्लाको मानव अधिकारको अवस्थाबारे छलफल समेत गरिएको छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा मानव अधिकारको संरक्षण र प्रवद्र्धनको अवस्थाका बारेमा छलफल गरिएको हो । मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तुको सहकार्य एवम् पिबिआईको सहयोगमा आयोजित छलफल तथा बैठकमा कार्यक्रम संयोजक रिखिराम निगमले माहुरी होम र पिबिआई परियोजनाले गरिरहेका काम र मानव अधिकारको अवस्था तथा चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।
माहुरी होमले मानव अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र सीमान्तकृत समुदायको सशक्तिकरणका लागि काम गर्ने निगमले बताए । मधेश मानव अधिकार गृह (माहुरी होम)का केन्द्रीय अध्यक्ष रामदयाल ठाकुरले माहुरी होमले मधेशी, अल्पसंख्यक, सीमान्तकृत, दलित, महिला र मुस्लिम लगायतको मानव अधिकारको संरक्षण, संवद्र्धन र सम्मानमा काम गरिरहेको जनाउँदै सो कार्यमा जनप्रतिनिधि र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताए ।
संरक्षण परियोजना पिबिआई नेपालको सहयोगमा बाँके, दाङ र कपिलवस्तुमा सञ्चालित भइरहेको माहुरी होमका बाँके जिल्ला अध्यक्ष एवम् संरक्षण परियोजनाका सामाजिक परिचालक दिनेश ठाकुरले बताए ।









प्रतिक्रिया दिनुहोस्