आरोपकाबीच कर्णाली प्रदेशसभा सचिवले दिए राजीनामा



विशेष गरी दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको तथा प्रचलित नियमावली उल्लंघन गरेको आरोप लाग्दै आएको थियो । यसका साथै उनले आफ्नो स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर लाखौँ रूपैयाँ भुक्तानी लिएको विषय सार्वजनिक भएपछि उनको तीव्र आलोचना भएको थियो ।

नन्दराम जैशी । सुर्खेत ।

आफूमाथि लागेको आरोपकाबीच कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस गरेका थिए । सचिव बुढाथोकीमाथि पछिल्लो समय विभिन्न विवादहरू उठ्दै आएका थिए । विशेष गरी दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको तथा प्रचलित नियमावली उल्लंघन गरेको आरोप लाग्दै आएको थियो ।

यसका साथै उनले आफ्नो स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर लाखौँ रूपैयाँ भुक्तानी लिएको विषय सार्वजनिक भएपछि उनको तीव्र आलोचना भएको थियो । उक्त आरोपहरूका आधारमा बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी समेत परेको थियो । विवाद बढ्दै गएपछि उनले अन्ततः उनले पदबाट राजीनामा दिने निर्णय लिएका हुन् ।

उनको राजीनामापछि अब प्रदेशसभामा नयाँ सचिव नियुक्तिको प्रक्रिया अघि बढेकोे छ । सचिव बुढाथोकीको राजीनामा समेत स्वीकृत भएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनको राजीनामा स्वीकृत गरेका हुन् । बुढाथोकीले मंगलबार साँझ राजीनामाका लागि निवेदन पेस गरेका थिए । तर राजीनामा निवेदनमा उनले घरायसी कारण भनेर उल्लेख गरेको स्वीकृत पत्रमा उल्लेख छ ।

६५ वर्ष उमेर पूरा भए पनि पदमा रहन संघर्ष गरिरहेका बुढाथोकीको विषयमा सञ्चारमाध्यम र सार्वजनिक रूपमा व्यापक प्रश्न उठेको थियो । चर्को दबाबपछि अन्ततः उनी राजीनामा दिन तयार भएका हुन् । उनले मंगलबार साँझपख प्रदेशसभाकै एक कर्मचारीलाई एकान्तमा खटाएर राजीनामा पत्र तयार पारेका हुन् ।

प्रदेशसचिव बुढाथोकी पछिल्लो समय निकै विवादमा तानिएका पात्र हुन् । दोहोरो सुविधा लिनेदेखि आफ्नो स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर लाखौँ भुक्तानी लिएको भन्दै उनको आलोचना भइरहेको छ । विगतमा केन्द्रको संसद् सचिवालयमा काम गरेका उनले दोहोरो सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पटक पत्र काटेको थियो ।

तर उनका धेरैजसो अभिलेख सचिवालयमा नभेटिने गरेको कर्मचारीहरू बताउँछन् । उनी ६५ वर्ष नाघेको कुरा पनि बाहिरी रूपमा थाह पाएपछि कर्मचारीले पत्र लेखेर बायोडाटा माग्नु परेको थियो । अहिले प्रदेससभा सदस्यका स्वकीयहरूको पारिश्रमिक रोकेका बुढाथोकीले आफ्नो स्वकीय श्रीमतीको भने नियमित तलब लिइरहेको भन्दै प्रदेशसभा सदस्यदेखि कर्मचारीहरू समेत उनको गतिविधिबाट दिक्क थिए ।

तर उनलाई सचिव पदमा कायम राख्न सभामुख नन्दा गुरुङले सक्रियता बढाएको आरोप छ । एक कार्यकाल बिताइसकेर दोस्रो पटक २०८१ जेठ १३ गते प्रदेशसभा सचिवमा नियुक्त भएका बुढाथोकी चैत ४ गते ६५ वर्ष उमेर पूरा भएको हो । तर सभामुख गुरुङले निरन्तरता दिन चाहेपछि उनले राजीनामाको निर्णय बदले । बुढाथोकीलाई निरन्तरता दिन सभामुख गुरुङ निकै सक्रिय भइन् ।

सचिवालयसम्बन्धी ऐनमा सचिव हुन ४० वर्ष पुगेको र ६५ वर्ष ननाघेको भन्ने शब्द उल्लेख छ । तर पाँच वर्ष कार्यकाल पूरा नभएको र ६५ वर्ष पूरा भएको अवस्थामा के गर्ने भन्ने उल्लेख नभएको भन्दै उनलाई सचिवालयमा कायमै राख्न सभामुख सक्रिय भएकी थिइन् । सभामुख गुरुङले आफैँ विधिविपरीत मुख्य न्यायाधिवक्ताको कार्यालयमा राय मागसहित पत्र लेखिन् ।

उनले नेपालको संविधानको धारा १६० को उपधारा (५)बमोजिम रायका लागि पत्र लेखिन् । तर त्यो विधिसम्मत नभएको र सभामुखले त्यसरी सचिवालयलाई बाइपास गरेर पत्र लेख्न नमिल्ने भन्दै सभामुखकै भूमिकामाथि प्रश्न उठेको थियो ।

सभामुखको गतिविधिले व्यवस्थापिकाको गरिमामाथि नै आँच आउन सक्ने भन्दै सांसदहरूले नै प्रश्न उठाएका थिए । उनकै दल एमालेका नेता, कार्यकर्ताहरूले समेत प्रश्न उठाएका हुन् । विवादकै बीच मंगलबार साँझ सचिव बुढाथोकीले राजीनामा दिन निवेदन तयार गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार