एनपिएलको दोस्रो संस्करणबाट ९ करोड २१ लाख मुनाफा



काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठकले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको आय–व्यय विवरण अनुमोदन गरेको छ । जस अनुसार क्यानले ९ करोड २१ लाख २१ हजार ९३५ रूपैयाँँ ५ पैसा खुद आम्दानी गरेको छ ।

यस प्रतियोगिताको कूल ग्रस रेभिन्यू ४७ करोड ३६ लाख ५५९ रूपैयाँँ रहेको थियो भने खर्च कटाई कूल नाफा २५ करोड ३९ लाख ९५ हजार ४३५ रूपैयाँँ भएको थियो। उक्त नाफाबाट ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५०० रूपैयाँँ ८ वटा फ्रेन्चाइज टोलीहरूलाई बाँडफाँट गरी बाँकी रकम क्यानको भागमा परेको हो ।

यद्यपि, यो आर्थिक विवरण अनुमोदन गर्ने प्रक्रियामा क्यानभित्रको आन्तरिक विवाद भने प्रष्ट देखिएको छ । १७ सदस्यीय निर्वाचित कार्यसमितिमध्ये उपाध्यक्ष रोशन सिंहसहित ८ जना सदस्यहरूले बैठक बहिष्कार गरेका थिए । असन्तुष्ट पक्षले एनपिएलको हिसाब विवरण पहिले नै अध्ययन गर्न पाउनुपर्ने अडान राखेको र क्यानले सो विवरण उपलब्ध नगराएको भन्दै उनीहरू बैठकमा अनुपस्थित भएका हुन् ।

कोरम पु¥याउन ९ जना सदस्यहरूको मात्र उपस्थितिमा सोमबार यो बैठक सम्पन्न गरिएको थियो, जबकि यसअघि शुक्रबार बोलाइएको बैठक पनि बहिष्कारकै कारण सारिएको थियो । बैठकले क्यानको वार्षिक साधारणसभा २०८३ साल वैशाख २७ र २८ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता थप गर्न र हाल राष्ट्रिय खेलकुद परिषद् मातहत रहेको तल्लो मुलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।

कार्यकाल समाप्त भएका २० जिल्लाहरूको अवधि जेठ मसान्तसम्म थप गरिएको छ र सोही समयभित्र अनिवार्य रूपमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिइएको छ । आईसीसीको निर्देशनबमोजिम क्यानले यस वर्षदेखि समग्र महिला क्रिकेटको विकासका लागि ५ लाख अमेरिकी डलर लगानी गर्ने व्यवस्था गरेको छ । बैठकले क्यानको सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट समेत अनुमोदन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार