अटिजम मस्तिष्कको विकाससँग सम्बन्धित एक जन्मजात न्यूरोलोजिकल अवस्था हो । यसले सामाजिक अन्तक्र्रिया, सञ्चार र व्यवहारमा प्रभाव पार्दछ । यो रोग होइन् । यो अपांगताको एक प्रकार हो । यो सामान्यतया बालबालिका जन्मेको तीन वर्षमा देखिन थाल्छ । यसमा व्यक्तिको सोच, व्यवहार र सञ्चारशैली सामान्य अवस्थाभन्दा फरक हुन्छ । आँखा जुधाउन नसक्नु, एक्लै बस्न मन पराउनु र अरुको भावना नबुझ्नु यसका मुख्य विशेषता र लक्षण मानिन्छन् । त्यसैगरी बोल्न ढिलो हुनु, नबोल्नु, बोलीमा शब्दहरू दोहो¥याउनु, सांकेतिक भाषा प्रयोग गर्न गाह्रो हुनु, एउटै व्यवहार वा खेलौनाप्रति बढी केन्द्रित हुनु, परिवर्तन नरुचाउनु, एउटै व्यवहार बारम्बार दोहो¥याउनु, ठूलो आवाज, तीव्र प्रकाश वा विशेष गन्धप्रति असाधारण प्रतिक्रिया जनाउनु, घुमिरहनु, औँलाले देखाउनुको सट्टा अरुको हात समातेर कुनै वस्तु देखाउनु लगायतका यसका लक्षण देखिने गर्दछन् । अटिजम पूर्ण रूपमा निको नभए पनि प्रारम्भिक पहिचान, थेरापी र उचित मार्गदर्शनद्वारा यस्ता बालबालिकाहरूको कार्यक्षमतामा उल्लेख्य सुधार ल्याउन सकिने चिकित्सक बताउँछन् । अटिजम भएका केही व्यक्तिहरूमा बौद्धिक अपांगता हुन सक्छ तर केहीमा संगीत, कला वा गणित जस्ता क्षेत्रमा विशिष्ट प्रतिभा पनि हुन सक्छ । यो एक आजीवन रहने अवस्था हो तर उचित सहयोग र मायाले उनीहरू आत्मनिर्भर हुन सक्छन् ।
समाजमा केही यस्ता बालबालिका पनि छन् जो त्यो भिडमा मिसिन सक्दैनन् । उनीहरू पढ्न चाहन्छन्, सिक्न चाहन्छन् तर वातावरण उनीहरूको लागि तयार छैन । तीमध्ये धेरै अटिजम भएका बालबालिका हुन्– जसका लागि नेपालको शिक्षा प्रणाली अझै पूर्ण रूपमा खुला हुन सकेको छैन । हाम्रो समाजमा जब कुनै बालबालिका अरूभन्दा फरक व्यवहार देखाउँछ, धेरैजसोको पहिलो प्रतिक्रिया हुन्छ– ‘यो बच्चा अलि अटेरो छ’ वा ‘ढिलो सिक्ने खालको हो ।’ तर, यस्ता व्यवहारहरू कुनै अनुशासनको समस्या होइनन् यो अटिजमका संकेत हो । दुर्भाग्यवश, नेपालमा अझै पनि अटिजमलाई सही रूपमा बुझ्ने संस्कार विकास हुन सकेको छैन । हरेक अस्पतालमा बच्चाहरूको अटिजम निदान तथा परामर्श कक्ष सञ्चालन गर्न आवश्यक छ । समाजमा अटिजमसम्बन्धी समस्या पहिचान गरी आवश्यक परामर्श दिन आवश्यक छ । अटिजमलाई धेरैले अझै रोगको रूपमा बुझ्ने गर्छन्, जसलाई औषधिले निको पार्न सकिन्छ भन्ने भ्रम छ । तर, अटिजम वास्तवमा मस्तिष्कको विकाससँग सम्बन्धित एउटा अवस्था हो । यसले व्यक्तिको सोच्ने तरिका, सञ्चारशैली र सामाजिक सम्बन्धमा फरक ल्याउँछ । यसलाई ‘ठीक पार्नुपर्ने’ होइन, ‘बुझ्नुपर्ने’ अवस्था हो । यही बुझाइको अभावले अटिजम भएका बालबालिकाहरूलाई समाजबाट टाढा धकेल्ने काम भइरहेको छ । अटिजमबारे जनचेतना न्यून हुँदा धेरै अभिभावक आफ्ना बालबालिकामा देखिएका लक्षणहरू लुकाउने गर्छन् । जनचेतना नै छैन भने अभिभावकहरू आफैँ अन्योलमा पर्ने गरेका पाइन्छन् ।
कतिपयले त बच्चाको व्यवहारलाई सामान्य मान्छन्, कतिपयले लाजको विषय ठान्छन् । यसरी लुकाउँदा समस्या झन् गहिरिँदै जान्छ । समयमै पहिचान हुन नसक्दा बालबालिकाले आवश्यक सहयोग पाउँदैनन्, जसले उनीहरूको विकासमा दीर्घकालीन असर पार्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चार हजार आठ सय ८६ जना अटिजम प्रभावित बालबालिका छन् । यो केवल देखिएको सङ्ख्या हो, वास्तविक सङ्ख्या अझ धेरै हुन सक्छ । किनभने अटिजम सजिलै पहिचान हुने अवस्था होइन । यसका लागि दीर्घकालीन अवलोकन, विशेषज्ञको मूल्यांकन र अभिभावकको सचेतता आवश्यक हुन्छ । नेपालमा समावेशी शिक्षा नीति भए पनि व्यवहारमा यसको कार्यान्वयन कमजोर छ । अटिजम भएका बालबालिकालाई सामान्य विद्यालयमा समेट्ने वातावरण अझै तयार भइसकेको छैन । शिक्षकहरूमा आवश्यक तालिमको अभाव, कक्षाकोठामा सहयोगी संरचनाको कमी र अभिभावकको डर लगायतका कारणले अटिजम भएका बालबालिका शिक्षा प्रणालीबाट बाहिरिने जोखिममा छन् । सरकारले केवल उपचार सेवा उपलब्ध गराउनु पर्याप्त होइन । जनचेतना, प्रारम्भिक स्क्रिनिङ, विद्यालयस्तरका कार्यक्रम र अभिभावक तालिम– यी सबैमा लगानी आवश्यक छ । अटिजम समस्या होइन, बुझाइको कमी हो । हामी सबैले आफ्नो दृष्टिकोण परिवर्तन गर्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्