शुक्लाफाँटामा बाघ गणना सकियो



कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

गत फागुन अन्तिम सातादेखि ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट सुरु गरिएको राष्ट्रिय बाघ गणनाको फिल्डको काम सकिएर क्यामेरा संकलन भइरहेको हो । ‘शुक्लाफाँटा र डिभिजन वनअन्तर्गत राखिएका क्यामेराहरू संकलन भइसकेका छन्,’ उनले भने, ‘संकलन भएका क्यामेराका तस्बिरहरूको विश्लेषण गरेर बाघको सङ्ख्या पत्ता लगाइन्छ ।’

शुक्लाफाँटामा प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ । बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोलीसहित ५२० स्वचालित क्यामेरा जडान गरिएका थिए । सन् २०२२ को राष्ट्रिय गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ थिए । निकुञ्ज कार्यालयले हरेक वर्ष बाघको आन्तरिक सर्वेक्षण गर्ने गर्दछ । निकुञ्जको आन्तरिक सर्वेक्षणअनुसार यहाँ ४३ वटा बाघ छन् ।

यस पटकको राष्ट्रिय गणनामा पनि सोही सङ्ख्यामा बाघको सङ्ख्या हुन सक्ने अनुमान संरक्षण अधिकृतहरूको छ । ‘निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन्, एकै वर्षमा धेरै सङ्ख्या नबढेका हुनसक्छन्,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘यसपटकको राष्ट्रिय गणनामा पनि त्यही सङ्ख्या हुनसक्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार