नरेन्द्र देवकोटा ‘प्रशान्त’
लागूऔषधको कारोबार बढ्दै गएपछि नेपाललाई मात्रै नभई विश्वलाई नै चासो चिन्ता र चुनौती बढ्दै गएको छ । यसले सामाजिक क्षेत्रमा मात्रै नभएर आर्थिक तथा राजनीतिक क्षेत्रमा समेत विकृति ल्याइदिन्छ । यसैले हरेक मुलुकले लागूऔषध नियन्त्रण गर्न आ–आफ्नै नीति र कानुन बनाएका हुन्छन् । यसतर्फ हरेक मुलुकले सर्वसाधारण जनतालाई सदाचारी, स्वस्थ्य, न्यूनतम सुविधाले सम्पन्न, आर्थिक रूपले समृद्व बनाउन चाहन्छ । यद्यपि अवैध लागूऔषध कारोबार बढ्न थालेपछि सोचेजस्तो मुलुकले गति लिन सक्दैन । अन्तर्राष्ट्रिय प्रयासः संयुक्त राष्ट्र संघको सक्रियता नार्कोट्रिक्स ड्रक्ससम्बन्धी सिंगल कन्भेन्सन १९६१ जारी भएको छ भने १९७२ मा आएको प्रोटोकललाई पनि यसकै उपजको रूपमा लिइएको छ । कानुनी व्यवस्थाः नेपालमा सर्वप्रथम मादक ऐन, २०१७ यससम्बन्धी नियमहरू २०१९ नल्याइएका होइनन् तर वर्तमानको अवस्थालाई सम्बोधन गर्न सक्ने अवस्था थिएनन् । यसैगरी लागूऔषधको नियन्त्रण गर्ने पक्षलाई पनि समेट्न सकेको अवस्था विद्यमान थिएन ।यिनै आवश्यकताको पहिचान गरि लागूऔषध (नियन्त्रण)सम्बन्धी ऐन २०३३ ल्याइयो । सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य सुविधा, आर्थिक हित कायम राख्नको लागि लागूऔषधको खेती, उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसारपसार सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण गर्न वाञ्छनिय भई लागूऔषध (नियन्त्रण ) ऐन २०३३ ल्याइएको हो भन्ने यस ऐनको प्रस्तावनामा उल्लेख गरिएको छ । क्षेत्राधिकारः यो लागूऔषध नियन्त्रण ऐन वा यो ऐनअन्तर्गत बनेको नियम वा आदेशका विरुद्व हुने गरी नेपालबाट वा नेपालभित्र कुनै लागूऔषध निकासी वा पैठारी गरि विदेशमा बसी व्यापार गर्ने नेपाली नागरिक वा विदेशीलाई समेत लागू हुनेछ भन्ने कानुनी व्यवस्थाले यसको क्षेत्राधिकार राष्ट्रिय मात्र नभई बहुक्षेत्रीय समेत रहेको देखिन्छ । धेरैलाई थाहा नहुन सक्छ, लागूऔषध भनेको के हो ? लागूऔषधभित्र के के नामका लागू पदार्थ पर्दछन् यसले समाज र मुलुकमा पार्ने असर र प्रभाव, लागूऔषध के कस्तो अवस्थामा मात्र सेवन गर्न पाइने ? यसको खेती, उत्पादन र निर्माण गरेमा, खरिद बिक्री गरेमा, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारी गरेमा के कति कैद र जरिवानाको सजाय हुने ? बरामद गरिएको लागूऔषध र नगद धनमाल के हुने भन्ने थुप्रै सवालहरूको उत्तर दिन आवश्यक ठानी प्रस्तुत लेख लेख्न प्रयास गरिएकोछ ।
लागूऔषधको परिभाषा
सामान्यतया लागूऔषध भन्नेबित्तिकै नशादार चिज, जसको सेवन गरेमा मष्तिस्कलाई झम्म पार्ने, शरीरलाई लठ्ठ बनाउने, मानिस सुस्त हुने, अस्वस्थ्य हुने, एकोहोरो हुने भन्ने बुझिन्छ । प्रज्ञा नेपाली बृहद् शब्दकोषमा उल्लेख भएअनुसार– मादक पदार्थ, नशालु वस्तु भन्ने बुझिन्छ ।
लागूऔषध (नियन्त्रण) ऐन,२०३३ को दफा ३ (क)मा विषय या प्रसंगले अर्को अर्थ नलागेमा लागूऔषध भन्नाले– गाँजा, औषधोपयोगी गाँजा, अफिम, तैयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झार र पात, अफिम तथा कोकाको सारतत्व, मिश्रण वा लवण समेत मिसाई तयार गरिने कुनै पदार्थ र नेपाल सरकारले समय समयमा राजपत्रमा सूचना प्रकाशित गरि तोकिदिएका प्राकृतिक वा कृतिम लागूऔषध तथा मनोद्विपक पदार्थ र तिनको लवण समेत सम्झनुपर्छ भनिएको छ । यसैगरी दफा ३ (ख)मा गाँजा भन्नाले निम्न पदार्थहरू सम्झनुपर्छ भनिएको छ– भाँग र सिद्ध समेत गाँजा मूलको जुनसुकै बोटको पात र फूल, चरेश तथा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो लिप्सा र चोव, माथि उल्लेख गरिएकामध्ये कुनै पदार्थ भएको सार, निस्सार, निष्कर्ष, मिश्रण तथा पेय । यस ऐनले दुव्र्यसनको समेत परिभाषा गरेको छ– दुव्र्यसन भन्नाले स्वीकृतिप्राप्त चिकित्सकको सिफारिस अनुसारको मात्रा र परिणामभन्दा बढी वा बिनासिफारिस लागूऔषध सेवन गर्ने कार्यलाई सम्झनुपर्छ भनिएको छ ।
लागूऔषध (नियन्त्रण) ऐनले निषेध गरिएका कार्यहरू
यस लागू ऐनले गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न, निकासी पैठारी गर्न, ओसारपसार गर्न, सञ्चय गर्न, सेवन गर्न, अफिम वा कोकाको खेती गर्न वा अफिम वा कोकाको पात वा अन्य लागूऔषधको उत्पादन गर्न, निर्माण वा तैयारी गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, खरिद गर्न, सञ्चय गर्न, राख्न वा ओसारपसार गर्न र गाँजाबाहेक अन्य लागूऔषध सेवन गर्न निषेध गरेको छ।
लागू पदार्थको वर्गीकरण
मूख्य गरेर लागू पदार्थहरूलाई प्राकृतिक लागू पदार्थ र औषधिजन्य लागू पदार्थमा वर्गीकरण गरिएको छ । प्राकृतिक रूपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थहरू जस्तै– गाँजा, भाङ्ग, धतुरो, चरेश, अफिम, जाँड, रक्सी, आदिलाई प्राकृतिक लागू पदार्थका रूपमा बुझ्ने गरिन्छ । दोस्रो औषधिजन्य लागू पदार्थहरूमा मानव जीवन रक्षा गर्न औषधिजन्य पदार्थको रूपमा रहेका जसलाई चिकित्सकको परामर्शबिना नशाको रूपमा प्रयोग गर्दछन् ती पदार्थ औषधिजन्य लागू पदार्थहरू हुन् । नाइट्रोभ्याट, कोरेक्स, प्रोक्सिभोन, नोर्फिन, कोडिन, नाइट्रोसन, फेन्सिडिल, फेनकोडिन आदि यस समूहमा पर्दछन् ।
नेपालमा प्रयोगकर्ताको अवस्था
नेपालमा प्रयोगकर्ताको अवस्थालाई हेर्दा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १३०४२४ जना रहेको देखाएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाको मात्रै तथ्यांक हेर्ने हो भने पछिल्ला आर्थिक बर्ष २०८०–०८१ मा लागूऔषधसम्बन्धी जम्मा १२४ थान मुद्दा दर्ता भएका देखिन्छन् भने पक्राउ हुने स्वदेशी महिला–५, पुरुष १९९ र विदेशी पुरुष ३ समेत २०७ जना प्रतिवादी पक्राउ परेको देखिन्छ । आर्थिक वर्ष २०८१–०८२ मा लागूऔषधसम्बन्धी १३६ थान मुद्दा दर्ता भएका देखिन्छन् भने पक्राउ हुने स्वदेशी महिला–३, पुरुष २०९ विदेशी पुरुष ३ जना समेत २१५ जना प्रतिवादी पक्राउ परेको देखिन्छ । जसमा १ जना फरार रहेबाट जम्मा २१६ जना प्रतिवादी लागूऔषध मुद्दामा संलग्न रहेको देखिन्छ । आर्थिक वर्ष २०८२–०८३ को हालसम्मको तथ्यांकअनुसार जम्मा मुद्दा दर्ता १११, महिला पक्राउ ४ जना, पुरुष प्रतिवादी पक्राउ १३९, विदेशी महिला पक्राउ १ जना, विदेशी पुरुष पक्राउ ७ जना समेत १५१ जना पक्राउ परिसकेका छन् भने १ जना पुरुष प्रतिवादी फरार समेत जम्मा १५२ जना प्रतिवादी कायम भएको तथ्यांकबाट देखिन्छ ।
लागूऔषधका किसिम र प्राप्तिको स्रोत
लागूऔषधका किसिमहरूमा लागूऔषध प्रयोगकर्ताहरूले उक्त तीनै आर्थिक वर्षमा गाँजा, चरेस र ब्राउनसुगर प्रयोग गरेको देखिन्छ । लागूऔषध प्रयोगकर्ताको लागूऔषधको प्राप्तिको स्रोत हेर्दा प्राप्तिको माध्यम भनेको अत्यधिक रूपमा साथिसँगी, डुलन्ते विक्रेताबाट, औषधि पसलबाट, अन्य पसल, इन्टरनेटलगायत अन्य तरिकाबाट पनि प्राप्त गर्ने गर्दछन् ।
दण्ड सजायको व्यवस्था
लागूऔषध (नियन्त्रण) ऐनको दफा १४ को उपदफा (१)को खण्ड (क)मा लागूऔषधहरूमध्ये गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रूपैयाँँसम्म र अफिम कोका वा सोबाट बनेका लागूऔषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । तर गाँजा चरेस वा अफिम कोका वा सोबाट बनेका लागूऔषध एक पटकमा कति मात्रासम्म सेवन गर्ने भन्ने कुरा उल्लेख गरिएको छैन । ऐनको दफा ५ (क)मा ऐनका अन्य दफाहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि औषधोपचारका निमित्त स्वीकृत चिकित्सकको सिफारिसमा कुनै व्यक्तिले अनुमतिप्राप्त पसलबाट सिफारिस बमोजिमको मात्रामा लागूऔषध खरिद गरि सेवन गर्न निषेध गरेको छैन । प्रस्तुत ऐनमा तोकिएका चिकित्सकलाई मात्र औषधिको रूपमा सेवन गर्ने प्रयोजनको लागि मात्र चिकित्सकलाई सिफारिस गर्न सुविधा दिएको छ भने कानुनको मकसद हेर्दा कानुनले नै यस्ता केही लागूऔषध तथा लागू पदार्थ बिक्री गर्ने पसल समेत तोकेको देखिन्छ । तर एक पटकमा या एक दिन या एक हप्ता या महिनामा कति मात्रासम्ममा सेवन गर्न सिफारिस गर्ने भन्ने कुरा नखुलाई गुमराहमा राखेको देखिन्छ । यसैगरी सोही दफाको खण्ड (ख)मा तोकिएको वर्गका व्यक्तिले तोकिएको मात्रामा लागूऔषध सेवन गर्न कानुनले निषेध गर्न नहुने भन्ने उल्लेख छ । यस व्यवस्थाले त्यस्तो तोकिएको कुन वर्ग हो त्यो खुलाएको छैन । उनीहरूले कति मात्रासम्म सेवन गर्न पाउने र सेवनका लागि कति मात्रासम्म सञ्चय गर्न पाउने भन्ने पनि उल्लेख गरिएको छैन ।
कानुनमा पच्चीस बोटसम्म गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद र तीन हजारसम्म जरिवाना र पच्चीस बोटभन्दा बढी गाँजाको खेती गर्नेलाई तीन पर्षसम्म कैद र पाँच हजारदेखि पच्चीस हजारसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । गाँजा उत्पादन, तयारी, खरिद, बिक्रीवितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय गर्ने व्यक्तिलाई मात्राअनुसार दश वर्षसम्म कैद र एक लाख रूपैयाँँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । दफा १४ को उपदफा १ को खण्ड (छ)मा अफिम, कोका वा सोबाट बनेका लागूऔषधको सेवन र खेती गर्ने कार्यबाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई पच्चीस ग्रामसम्मको कारोबार गर्नेलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पाँच हजार रूपैयाँँदेखि पच्चीस हजार रूपैयाँँसम्म जरिवाना, पच्चीस ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचहत्तर हजार रूपैयाँँदेखि दुई लाख रूपैयाँँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । एक सय ग्रामदेखि माथि जतिसुकै परिणामको कारोबार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद र पाँच लाख रूपैयाँँदेखि पच्चीस लाख रूपैयाँँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरि तोकिदिएका प्राकृतिक वा कृत्रिम लागूऔषध तथा मनोद्विपक पदार्थ र तिनको लवण र अन्य पदार्थ समेतको दुव्र्यसन गर्ने व्यक्तिलाई दुई महिनासम्म कैद वा दुई हजार रूपैयाँँसम्म जरिवाना वा दुवै सजाय, माथिको खण्डमा लेखिएदेखि बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एक लाख रूपैयाँँदेखि बीस लाख रूपैयाँँसम्म जरिवाना गर्ने समेत व्यवस्था गरिएको छ ।
बारम्बार अपराध गरेको पुष्टि भएमा थप पाँच वर्षसम्म कैद र एक लाख रूपैयाँँसम्म जरिवाना हुनेछ । साथै रेल तथा हवाईजहाजबाहेक अपराधसँग सम्बन्धित सबै घरजग्गा धनमाल समेत जफत हुनेछ भन्ने समेत व्यवस्था रहेको छ ।
कानुनी समस्या
कानुनमा सेवन गर्दा गर्दैको अवस्थामा कुनै मानिस फेला परेमा उसलाई कम सजायको व्यवस्था रहेको छ । तर सेवनका लागि कति मात्रासम्म सेवन गर्न पाइने भन्ने स्पष्ट व्यवस्था गरिएको छैन । यसैगरी दफा ५ मा तोकिएको वर्ग र व्यक्तिले तोकिएको मात्रामा लागूऔषध सेवन गर्न निषेध गरिएको छैन । तोकिएको वर्ग र तोकिएको व्यक्तिले कति मात्रामा सेवन गर्न पाउने भन्ने स्पष्ट व्यवस्था रहेको देखिँदैन । यसैगरी लागूऔषधको अपराध वृद्वि हुनमा खुला सिमाना ठूलो चुनौती रहेको छ । नैतिक शिक्षाको जरुरी देखिन्छ । यसैगरी सम्पति छानबिनको त्यत्तिकै जरुरी देखिन्छ। कानुनको प्रभावकारी प्रयोग पालना र कार्यान्वयन हुनुपर्ने देखिन्छ ।
उपंसहार
विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषधको बिगबिगीले एकातिर मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ भने अर्कोतर्फ आर्थिक सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि गम्भीर असर पारेको देखिन्छ । खुला सीमालाई व्यवस्थित गर्नुपर्ने देखिएको छ । विद्यालयका स्कुले विद्यार्थीदेखि कलेजका विद्यार्थी प्रायः युवाहरू ग्रस्त भएका देखिन्छन् । आर्थिक गिरावट भएको देखिन्छ । बेलैमा लागूऔषधलाई नियन्त्रण गर्न सकिएन भने मुलुक चुनौतीको भूमरीमा फस्न सक्ने कुरामा विवाद देखिँदैन् ।









प्रतिक्रिया दिनुहोस्