बुटवल ।
डिफेन्डिङ च्याम्पियन सुनीरा थापाले बुटवलमा जारी आठौँ बुटवल खुला राष्ट्रिय लन टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि जितेकी छन् भने पुरुष सिंगल्सको उपाधिका लागि आयुष्मान घले र प्रनव मानन्धरका बीचमा फाइनल प्रतिस्पर्धा हुने भएको छ । घले र मानन्धरबीच फाइनल आज हुने छ ।
बिहीबार डिफेन्डिङ च्याम्पियन काठमाडौँकी सुनीरा थापाले उपाधि रक्षा गर्ने क्रममा फाइनलमा प्रकृति श्रेष्ठलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरेकी हुन । थापाले सातौँ संस्करणमा पहिलोपटक सहभागिता जनाउँदै अभिलाषा विष्टलाई फाइनलमा पराजित गर्दै पहिलोपटक उपाधि जितेकी हुन् ।
बुटवल टेनिस कोर्टमा भएको फाइनलमा पहिलो सेटबाटै थापाले खेललाई आफ्नो कब्जामा राखेकी थिइन् । उत्कृष्ट प्रदर्शन गर्दै थापाले लिएको अग्रतालाई कायमै राखेर पहिलो सेट ६–२ को स्कोरमा जित निकालेकी थिइन् । दोस्रो सेटलाई पनि थापाले आफ्नो स्प्रिट कायम राख्दै ६–२ कै स्कोरमै श्रेष्ठलाई हराउँदै च्याम्पियन बनिन् ।
उपाधि विजेता थापाले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकी छन् भने उपविजेता श्रेष्ठले नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकी छन् । विजेता तथा उपविजेता खेलाडीलाई नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज राणा, रुपन्देही टेनिस संघका अध्यक्ष विष्णुप्रसाद चापागाई, प्रतियोगिता कोर्डिनेटर मछिन्द्र थापा लगायतले पुरस्कार तथा कप प्रदान गरे ।
बिहीबार नै भएको पुरुष सिंगल्सतर्फको पहिलो सेमिफाइनलमा आयुष्मान घलेले निशान श्रेष्ठलाई ६–१, ७–५ तथा दोस्रो सेमिफाइनलमा प्रनव मानन्धरले राजबिर प्रधानलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेका हुन । प्रतियोगिताको सातौँ संस्करणको फाइनलमा प्रदिप खड्का र रितिक राना भिडेकोमा खड्काले उपाधि जितेका थिए । आठौँ संस्करणमा यी दुवै खेलाडी सहभागी नभएपछि प्रतियोगिताले नयाँ विजेता पाउने भएको छ ।
यसैगरि ३५ वर्ष सिंगल्सतर्फको फाइनलमा कमलबहादुर भण्डारी र अनिस साई भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा अनिल साईले विकाश खड्कालाई ६–४ र ६–४ तथा दोस्रो सेमिफाइनलमा कमलबहादुर भण्डारीले दावा सोनाम शेर्पालाई ६–१ र ७–६ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन ।
प्रतियोगितामा समावेश गरिएका ११ विधामध्ये ९ वटाको छिनोफानो बिहीबार भएको छ भने २ वटाको छिनोफानो आज हुने संघले जनाएको छ । ४५ प्लस सिंगल्सतर्फ कमल भण्डारी विजेता बनेका छन् । भण्डारीले रोहित सुनुवारलाई ६–१ र ६–१ को सेटमा पराजित गरेका हुन ।
प्रतियोगिताको ५५ प्लस सिंगल्सको उपाधि चन्द्र शाहीले चुमेका छन् ।
उनले फाइनलमा मच्छिन्द्र थापालाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरेका हुन् । यसैगरि ६५ प्लस सिंगल्समा मनोज राणा विजेता बनेका छन् । उनी पदम गुरुङलाई फाइनलमा ४–०, ४–२ को सेटमा पराजित गर्दै विजेता बनेका हुन् । उता प्रतियोगिताको मेन्स डबल्सको उपाधि प्रनव खनाल र आयुषमान घलेको जोडीले जितेको छ ।
फाइनलमा प्रनव मानन्धर र निहान जिटिलाई ६–४, २–६ र १०–८ को सेटमा पराजित गर्दैै खनाल र घलेको जोडीले उपाधि चुमेका हुन् । यसैगरि ३५ प्लस डबल्सको विजेता विकाश खड्का र संजय श्रेष्ठको जोडी बनेको छ । खड्का र श्रेष्ठको जोडीले नबिन श्रेष्ठ र राज गुरुङको जोडीलाई ६–१, ६–२ को सेटमा पराजित गरेको हो ।
यता ४५ प्लस डबल्सतर्फ धर्म लामिछाने र राज गुरुङको जोडी विजेता बनेको छ । लामिछाने र गुरुङको जोडीले मनु टी÷पदमको जोडीलाई ७–६, ६–२ को सेटमा पराजित गरेको थियो । डबल्सकै ५५ प्लसमा चन्द्र शाही÷देबेन्द्र श्रेष्ठको जोडी विजेता बन्यो । शाही र श्रेष्ठको जोडीले धर्म लामिछाने÷मनु टीको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गरेको हो ।
शुक्रबार समापन हुने प्रतियोगितामा पुरुष र महिला एकल तथा डबल्स गरी कूल ११ विधामा प्रतिस्पर्धा गराइएको थियो । जसमा एकलतर्फ पुरुष÷महिला खुला तथा उमेर समूहमा पुरुष ३५, ४५, ५५ र ६५ वर्ष गरी ६ विधा समावेश छन् । डबल्सतर्फ महिला २ र पुरुष डबल्स ३५, ४५ र ५५ वर्षमाथि गरी ५ विधामा प्रतिस्पर्धा भएको छ । पुरुष तथा महिला एकल विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रूपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् ।
उमेर समूहअन्तर्गत पुरुष ३५, ४५, ५५ र ६५ वर्षमाथिको विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने क्रमशः २० हजार, २० हजार, १५ हजार र ७ हजार ५ सय रूपैयाँ पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्