काठमाडौँ ।
भारतले नेपालमा सञ्चालन हुने विभिन्न सात वटा परियोजनाका लागि ४७.३ करोड सहयोग गर्ने भएको छ । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कार्यान्वयन हुने ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनामा यो लगानी हुनेछ।
जसका विषयमा बिहीबार नेपाल र भारतका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा कोल्ड स्टोरको निर्माण, तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा कोल्ड स्टोरको निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा जनबल माध्यमिक विद्यालयको विद्यालय भवन, छात्रावास र चमेनागृहको निर्माण हुनेछ ।
यसैगरी, कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा कालिका प्राथमिक विद्यालय भवन निर्माण, रौतहटको परोहा नगरपालिका–४ मा परोहा बर्थिङ्ग सेन्टर (प्रसूति केन्द्र)को निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा कस्तुरी माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण र बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण पनि यही परियोजनामा समेटिएका छन् ।
यी आयोजना नगरपालिका, गाउँपालिकालगायत सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सन् २००३ यता भारतले नेपालमा बिहीबार समझदारी गरिएका ७ वटा परियोजनासहित ५९८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ ।
यीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ५०६ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी परियोजना नेपालका सबै ७ वटा प्रदेशमा फैलिएका छन् । बाँकी परियोजना कार्यान्वयनका विभिन्न चरणमा रहेका दूतावासले जनाएको छ ।
‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकता क्षेत्रहरूमा पूर्वाधार सुदृढ गर्नुका साथै विकास र समृद्धि प्रवद्र्धनमा नेपाल सरकारको प्रयासलाई बलियो बनाउन भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ दूतावासले भनेको छ ।









प्रतिक्रिया दिनुहोस्