आगो लगाएर सिर्जनाको हत्या



वीरेन्द्र जैसी । नेपालगन्ज ।

शनिबार राति करिब १२ बजे बाँकेको नेपालगन्ज वडा नम्बर १२ कोरियनपुरमा एउटा सनसनीपूर्ण घटना भयो । सडकमा तीनतिर बाटो रहेको चोकमा एक जना महिलाको जलेको अवस्थामा रहेको शरीर स्थानीयहरूले देखे र प्रहरीलाई खबर गरे । प्रहरी धेरै टाढा पनि थिएन । उक्त घटनास्थलबाट करिब दुई सय मिटर पर भेरी प्राविधिक शिक्षालयको गेटमा प्रहरीको बिट छ ।

प्रहरी आएर ती जलेकी महिलालाई उठाएर अस्पताल लगियो र अस्पतालमा आइतबार बिहान १ः२० बजे मृत घोषणा गरियो । महिलाको अनुहार नचिनिने अवस्थामा रहेकोले प्रहरीलाई पनि खनाखत गर्न कठिन भयो । आइतबार मध्यान्हतिर मात्रै प्रहरीले खनाखत ग¥यो । उक्त शव सोही ठाउँ बस्ने २२ वर्षीया सिर्जना बुढामगरको हो ।

सिर्जनाको शव भेटिएको घटनास्थल उनीसँग दुई वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका स्थानीयवासी आरिफ ढपालीको घरबाट करिब पचास मिटरको दूरीमा हो । घटनाबारे थाहा पाएपछि मृतकका आफन्तहरूले घटनास्थलमा पुगेर आरोप लगाउन थाले ‘उनका प्रेमी भनिने र सँगै बस्दै आएका आरिफ ढपालीसँग सिर्जनाको खटपटपूर्ण सम्बन्ध थियो । तिनै व्यक्तिले हत्या गरेका हुन् ।’

आफन्तहरूले प्रहरीमा सिर्जनाको सम्बन्ध रहेका ढपालीसहित उनका परिवारका सदस्यहरूका नाममा जाहेरी पनि दिएका छन् । प्रहरीले यो समाचार तयार पार्दासम्म सिर्जनाको सम्बन्ध रहेका ढपालीसहित उनका आमा र दिदीसहित तीन जनालाई नियन्त्रणमा लिइसकेको जनाएको छ। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले सिर्जनाको मृत्यु हत्या वा आत्महत्याका कारण भएको भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको बताउँछन् ।

मृतकको शवको पोष्टमार्टम पनि गर्न बाँकी रहेको उनको भनाइ छ । जाहेरीका आधारमा पक्राउ परेकाहरूसँग सोधपुछ तथा घटनास्थलको जाँचबुझ तथा पोष्टमार्टम रिपोर्टपछि मात्रै सबैकुरा स्पष्ट हुने उनले बताएका छन् । तर, स्थानीयहरू भने अन्तै हत्या गरेर चोकमा ल्याएर आगो लगाइएको हुनसक्ने आशंका व्यक्त गर्छन् । घटनास्थल नजिकै घर भएकी एक व्यक्तिले भनिन्, ‘राति ११, १२ बजे भनेको मानिसहरू सुति नसकेको हुने समय हो । रातभरी यो चोकमा बत्तीको उज्यालो हुन्छ । यदि यहीँ हत्या गरेको भए थाहा भइहाल्थ्यो । अन्तै कतै मारेर ल्याएर यहाँ जलाएको जस्तो लाग्छ ।’

उनका अनुसार घटनास्थल नजिकै सलाई पनि भेटिएको थियो । तर प्रहरीले उक्त घटना कसरी भयो भन्नेकुरा खुलाउन सकिने अवस्थामा नरहेको बताएको छ । बाँके प्रहरी प्रमुख जिसी भने प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँछन् । उनले भने, ‘घटनाको गम्भीरता हेरेर हामीले अनुसन्धानलाई तीव्रता दिएका छौँ । म आफैँ अनुसन्धानमा खटिएको छु । आशंका गरिएका व्यक्तिहरूलाई पक्राउ गर्ने र सोधपुछ गर्ने काम चलिरहेको छ ।’

शनिबारै प्रेमीलाई प्रहरीबाट छुटाएर ल्याएकी थिइन् सिर्जनाले

सिर्जना र उनका प्रेमी भनिने स्थानीय एक व्यक्ति (आरिफ ढपाली) भन्ने व्यक्तिसँग खटपटपूर्ण सम्बन्ध रहँदै आएको उनका आफन्तहरूले बताएका छन् । ती व्यक्ति उक्त घटनापछि फरार थिए । प्रहरीले आइतबार अपरान्ह उनलाई पनि पक्राउ गरिसकेको छ । ती पहिलेदेखि नै हिंस्रक व्यवहार देखाउने ती व्यक्तिसँग टाढा रहन आफूहरूले सम्झाउँदा पनि सिर्जनाले नमानेको सिर्जनाकी हजुरआमा बताउने एक आफन्तले बताइन् ।

पछिल्लोपटक शुक्रबार पनि सिर्जना र ती व्यक्तिबीच खटपट भएको र सिर्जनामाथि कुटपिट भएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।
त्यसपछि प्रहरीले ती व्यक्तिलाई हिरासनमा राखेको थियो । तर शनिबारै सिर्जनाले मिलापत्र गरी ती व्यक्तिलाई प्रहरीबाट छुटाएर लिएर आएको बाँके प्रहरी प्रमुख अंगुर जिसीले जानकारी दिए । ‘ममाथि कुटपिट भयो भनेपछि ल्याएर कस्टडीमा राखिएको थियो । हिँजै मिलापत्र गरेर उनीहरू गएका रहेछन्,’ प्रमुख जिसीले भने ।

सिर्जना नेपालगन्ज ६ रानीतलाउ नजिकै कोठा भाडामा लिएर बस्दै आएकोमा उनको शव आरिफको घरनजिक भेटिएको घटनाबारे सोधपुछ गर्न आरिफलाई नियन्त्रणमा लिइएको प्रहरीले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । यसअघि वडा कार्यालयमा पनि उनीहरूको झगडाको विषयमा मिलापत्र गराइएको पाइएको छ ।

नेपालगन्ज वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यले बाटोमै झगडा गरिहिँड्ने उनीहरूको विषयमा अभिभावक समेत बोलाएर छलफल गर्दा, उनीहरूबीच कानुनी सम्बन्ध नरहेको पाइएपछि अलग अलग बस्ने भनेर सहमति कागज गराइएको बताए । तर पछिल्लोपटक फेरि उनीहरू अलग–अलग बसेको भन्ने आफूले सुने पनि फेरि करिब एक महिनायता नै उनीहरूबीच तनाव चलिरहेको जानकारी पाएको बताए । सिर्जनाको चार वर्षकी छोरी छन् भने श्रीमान्सँग सम्बन्ध टुटेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीबाट दुई सय मिटर नजिकै भयो घटना

सिर्जनाको जलेको अवस्थामा शव भेटिएको घटनास्थलबाट करिब दुई सय मिटर पर भेरी प्राविधिक शिक्षालयको गेटमा प्रहरीको बिट छ । घटनास्थल उक्त प्रहरी बिटबाट घरहरूले छेकिएको गल्लीमा भए पनि घटना भएको समय अधिकांश मानिसहरू जागै हुने समय हो । अर्कोतिर बाँके प्रहरीले २४सै घण्टा प्रहरी भ्यान खटाइरहेको विपी चोकबाट पनि करिब एक किलोमिटर आसपासको स्थानमा उक्त घटनास्थल पर्छ ।

तर पनि उक्त सनसनीपूर्ण घटना हुन गएको भन्दै स्थानीयहरू त्रसित छन् । उक्त सडक भित्री गल्लीमा भए पनि विपी चोक नजिकै रहेको सञ्जिवनी अस्पताल (पुरानो नेपालगन्ज मेडिकल कलेज)मा आउजाउ गरिरहने र रातभरी चहलपहल भइरहने ठाउँ भएको उनीहरू बताउँछन् । त्यसरी मानिसहरू जागै भएको बेला र प्रहरी नजिकै रहेको ठाउँमा भएको घटनाले सुरक्षा आफूहरूलाई आतंकित बनाएको स्थानीयहरू बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार