विश्व फुटबलमा ‘मेस्सी साम्राज्य’



कीर्तिमानी नौ सय गोलको ऐतिहासिक कोशेढुंगा पूरा गरेका मेस्सीभन्दा अगाडि यो सफलता पाउने एक मात्र खेलाडी उनका चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो हुन् । ४१ वर्षीय रोनाल्डोले सन् २०२४ को सेप्टेम्बरमा पोर्चुगलका लागि खेल्दै नौ सय गोल पूरा गरेका थिए । आधिकारिक तथ्यांकअनुसार ब्राजिलका महान् खेलाडी पेलेको नाममा ७७८ गोल र ब्राजिलियन खेलाडी रोमारियोको नाममा ७८५ गोल रहेको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

लियोनल आन्द्रेस मेस्सी अर्थात् लियो मेस्सी । मेस्सीको पूरा नाम लियोनल आन्द्रेस मेस्सी कुचिटिनी हो । यो विश्व फुटबलमा यस्तो नाम हो, जसरी उनलाई असाधारण प्रतिभा, अतुलनीय निरन्तरता र अद्भूत विनम्रताका कारण चिनिन्छ । उनलाई विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिन्छ । विश्वमा सबैभन्दा धेरै हेरिने खेल फुटबल ।

उनका फ्यान, फुटबलप्रेमी र फुटबल पण्डित उनलाई समकालीन ‘फुटबलका राजा’ भनेर सम्बोधन गर्छन् । विश्वकै सर्वोत्कृष्ट फुटबलरको उपमा पाएका तिनै मेस्सीले चैत पहिलो साता आफ्नो फुटबल करिअरमा ऐतिहासिक कोशेढुंगा पूरा गरे । उनले आफ्नो व्यावसायिक फुटबल करिअरको नौ सय गोल पूरा गरेका छन् । विश्व फुटबलमा कुनै पनि खेलाडीले आफ्नो फुटबल करिअरमा यो आँकडा यसअघि क्रिस्टियानो रोनाल्डोले मात्रै पूरा गरेका छन् ।

मेस्सी दोस्रो फुटबलर हुन्,जसले कीर्तिमानी नौ सय गोल गरेका हुन् । चैत ४ गते बुधबारका दिन उनीआबद्ध इन्टर मायामी र नासभिल एफसीबीच भएको खेलमा मेस्सीले ऐतिहासिक सफलता हासिल गरेका हुन् । ३८ वर्षीय मेस्सीले अमेरिकाको टेनेसीस्थित जियोडिस पार्कमा भएको ‘कनकाकाफ च्याम्पियन्स कप’को खेलमा नौ सयको कोशेढुंगा पार गरेका थिए ।

मेस्सी सन् २०२३ को जुन महिनामा इन्टर मियामीमा आबद्ध भएका थिए । त्यसयता उनले ९२ खेलमा ८१ गोल गरिसकेका छन् । उनकै दर्शनीय प्रदर्शनमा इन्टर मायामीले लिग कप र एमएलएस कप जितेको छ । कीर्तिमानी आठ पटकका ‘बालोन डि’ओर’ अवार्ड विजेता मेस्सीले इन्टर मायामी, बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पीएसजी) र अर्जेन्टिनाका लागि खेल्दै गोलको वर्षा नै गरेका छन् ।

आफ्नो व्यावसायिक फुटबल करिअरमा मेस्सीले सबैभन्दा धेरै बिताएको क्लब बार्सिलोना हो । जहाँ उनले १७ वर्ष बिताए । जहाँ उनले कूल ७७८ खेल खेलेका छन् । बार्सिलोनाका लागि मेस्सीले कूल ६७२ गोल गरेका छन् । बार्सिलोनामा रहँदा उनले १० वटा ला लिगा जितेका छन् । ४ वटा च्याम्पियन्स लिग र अन्य थुप्रै उपाधि जितेका छन् ।

बार्सिलोनाको इतिहासमा १७ वर्ष १० महिनाको उमेरमा सबैभन्दा कान्छो गोलकर्ताको कीर्तिमान पनि मेस्सीकै नाममा छ । मेस्सीले सन् २०२२ मा बार्सिलोना छाडेपछि दुई सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) बिताए । त्यहाँ उनले ७५ खेल खेले । पीएस्जीमा उनले कूल ३२ गोल गरेका थिए । सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएपछि उनी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भए ।

अर्जेन्टिनाका लागि उनले हालसम्म १९६ खेलमा ११५ गोल गरिसकेका छन् । मेस्सीले सबैभन्दा धेरै ७५५ खोल बायाँ खुट्टाले गरेका छन् । दायाँ खुट्टाले १११ गोल र टाउकोले (हेडर)मार्फत ३० र अन्य गोल सङ्ख्या ४ रहेको छ । यसैगरी मेस्सीले डि–बक्स भित्रबाट ७२४ गोल, डि–बक्स बाहिरबाट १७६ गोल, पेनाल्टीमार्फत ११२ गोल र फ्रि–किकमार्फत ७० गोल गरेका छन् । क्लब फुटबलमा उनले सेभियाविरुद्ध सबैभन्दा धेरै २५ गोल गरेका छन् ।

त्यसपछि एथ्लेटिक क्लबविरुद्ध २४ गोल र त्यसपछि एथ्लेटिको म्याड्रिडविरुद्ध २३ गोल गरेका छन् । मेस्सीले सन् २०१२ मा एकै वर्षमा ९१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए । उनी च्याम्पियन्स लिगमा सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडी पनि हुन् । सबैभन्दा सफल खेलाडीको रूपमा स्थापित भएपछि उनलाई ग्रेटेस्ट अफ अल टाइम ‘गोट’ अर्थात् सबै समयका महान् फुटबलर पनि मानिन्छ ।

रोजारियो, न्यापकिन पेपरमा सम्झौतादेखि महान् फुटबलरसम्म

विश्व फुटबलमा मेस्सी जति विश्वप्रसिद्ध छन् । तर, उनको विगत निकै कारुणिक छ । अभाव झेल्दै कडा संघर्षबाट सफलताको सगरमाथासम्म पुगेका मेस्सीको जन्म २४ जुन सन् १९८७ मा अर्जेन्टिनाको रोजारियोमा भएको थियो । उनका पिताको नाम जर्ज मेस्सी हो । जो स्टिल फ्याक्ट्रीका म्यानेजर थिए । आमाको नाम सेलिया कुचिटिनी हो । उनी चुम्बक उद्योगमा कामदार थिइन् ।

मेस्सी फुटबलप्रेमी परिवारमा हुर्किए । उनी आफ्ना दाइहरू रोड्रिगो र माटियाससँग फुटबल खेल्दै हुर्किए । मेस्सीले ४ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेका हुन् । उनलाई स्थानीय क्लब ग्राण्डोलिमा भर्ना गरियो, उनका पिता जर्जले प्रशिक्षण दिने दिन्थे । ग्राण्डोलिमा भर्ना भएको दुई वर्षपछि मेस्सी न्येवेल्स ओल्ड ब्वाइज क्लबमा आवद्ध भए ।

जहाँ उनले छ वर्ष खेले । १० वर्षको उमेरमै मेस्सी शारिरीक समस्यामा परेका थिए उनको शारीरिक विकास हार्मोनको कमी देखिएको थियो । उनको उपचारमा धेरै रकम खर्च भयो । सुरुमा उनीआबद्ध न्येवेल्सले उपचार खर्च दिने बाचा गरे पनि दिएन । उनलाई अर्जेन्टिनाकै अर्को क्लब रिभर प्लेटले उपचार गर्ने बताए पनि आर्थिक कमजोरीका कारण पूरा गर्न सकेन् ।

उनको उपचारमा निकै समस्या भयो । मेस्सीको परिवारको उनको परिवारले धेरै क्लबहरूको खोजी गरेको थियो । पछि पिता जर्ज मेस्सीले नातेदारका माध्यमबाट स्पेनी क्लब बार्सिलोनामा मेस्सीका लागि ट्रायल दिने जमर्को गरे । मेस्सीको खर्च जुटाउने र खेलमा सुधार ल्याउने उद्देश्यले मेस्सीलाई १३ वर्षको उमेरमै स्पेन ल्याइएको थियो ।

सन् २००० को सेप्टेम्बरमा बार्सिलोनामा मेस्सीको ट्रायलका लागि कुरा मिल्यो । मेस्सीले उत्कृष्ट खेल कौशल प्रर्दशन गरे । उनको खेलबाट बार्सिलोनाका डाइरेक्टर चार्ली रेकाच प्रभावित भए । उनले मेस्सीलाई तत्काल बार्सिलोनामा अनुबन्ध चाहे । तर त्यो समय युरोपेली क्लबले साना विदेशी खेलाडी किन्न मिल्दैन थियो । पछि चार्लीको जोडबलमा १४ डिसेम्बर २००० मा बार्सिलोनाले मेस्सीसँग सम्झौता ग¥यो ।

त्यतिबेला कुनै पनि ‘पेपर डकुमेन्ट’ नभएका कारण बार्सिलोनाले मेस्सीसँग ‘न्यापकिन’मा नै सम्झौता गरेका थिए । सन् २००१ फेब्रुअरीमा मेस्सीको परिवार बार्सिलोनामा बसाइँ स¥यो । मेस्सीको परिवार बार्सिलोनाको मैदान क्याम्प नोउ नजिकै अपार्टमेन्ट लिएर बस्न थाल्यो । बार्सिलोनाको युथ एकेडमी ला मासियामा भर्ना भएको एक वर्षपछि उनी फेब्रुअरी सन् २००२ मा रोयल स्पेनिस फुटबल फेडेरेसनमा आबद्ध भए।

यसले मेस्सीलाई जुनसुकै प्रतियोगिता खेल्न सक्ने बाटो खोलिदिएको थियो । त्यसपछि उनको मित्रता सेस फाब्रिगास र जेरार्ड पिकेसँग भएको थियो । १४ वर्षको उमेरमा रोग निको भएपछि उनी बार्सिलोनाको टोलीका महत्वपूर्ण सदस्य भए । १७ वर्षको उमेरमा उनले बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरे । जहाँ उनले जीवनको महत्वपूर्ण १७ वर्ष बिताए ।

उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा भने सन् २००५ मा डेब्यु गरे । सन् २००६ को विश्वकपमा उनले अर्जेन्टिनाका लागि गोल गरेका थिए । जतिबेला उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । सन् २००७ को कोपा अमेरिकामा फुटबलमा उत्कृष्ट खेलाडी बनेका थिए । सन् २००८ मा अर्जेन्टिनाले बेइजिङ ओलम्पिक जितेको थियो ।

सन् २०१० को विश्वकपमा अर्जेन्टिना फाइनल पुगे पनि सन् २०११ मा मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीको कप्तान बने । उनको कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनल पुगेको थियो । यस्तै २०१५ र २०१६ को उनकै कप्तानीमा अर्जेन्टिना फाइनल पुगे पनि अन्र्तराष्ट्रिय उपाधि जित्नबाट वञ्चित भएको थियो ।

सन् २०२२ मा उनकै कप्तानीमा अर्जेन्टिनाले विश्वकप जित्यो । जुन अर्जेन्टिनाको दोस्रो विश्वकप हो । अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो । मेस्सीका अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता समेत हुन् । उनकै कप्तानीमा अर्जेन्टिनमा सन् २०२६ को विश्वकप खेल्दै छ । उनी सन् २००६ देखि लगातार विश्वकप खेल्दै आएका छन् ।

अर्जेन्टिना, मेस्सी र नेपाल साइनो

नेपाल र अर्जेन्टिनाबीच सन् १९६२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, नेपालमा अर्जेन्टिना र अर्जेन्टिनामा नेपालको दूतावास अझै छैन । नेपालले ब्राजिलमा रहेको दूतावासबाट अर्जेन्टिनाको मामिला हेर्दै आएको छ । अर्जेन्टिनाले भारतबाट नेपालका लागि पनि काम गर्छ ।

नेपाल र अर्जेन्टिनाबीच सामान्य व्यापार साझेदारी भने भएको देखिन्छ । नेपाली नागरिक रोजगारीका लागि अर्जेन्टिना पुग्ने गरेका छन् । राजनीतिक, आर्थिक, सांस्कृतिक वा अन्य क्षेत्रका विषयमा संवाद, सहकार्य र समझदारी निकै कम भए पनि फुटबलमा भने नेपालको अर्जेन्टिनासँग गहिरो सम्बन्ध छ ।नेपाली फुटबलप्रेमीको मन अर्जेन्टिनासँग गहिरोसँग गाँसिएको छ । अर्जेन्टिना र ब्राजिल जस्ता विश्व फुटबलका महारथी हुन् ।

फुटबलमा अर्जेन्टिनाको समर्थन गर्ने नेपाली फ्यानहरूको सङ्ख्या उल्लेखनीय छ । खासगरी अर्जेन्टिनाका फुटबल लिजेन्ड डीयागो म्यारोडोना र लियोनल मेस्सीका नेपाली फ्यानहरू धेरै छन् । फुटबलप्रेमीको भावनासँग जोडिएको सहयोगको कुरा गर्दा २०७२ सालको विनाशकारी भूकम्पपछि युनिसेफ नेपालसँग सहकार्य गरेर लियो मेस्सी फाउण्डेसनले गोरखा, काभ्रे, ललितपुर, रामेछाप, दोलखा र सोलुखुम्बु गरी ६ जिल्लामा १४ स्वास्थ्य केन्द्रहरू बनाउने करिब ५ लाख अमेरिकी डलर सहयोग गरेको थियो । केही महिनाअघि मेस्सी भारत आउँदा पनि नेपाली फ्यानहरू उनलाई भेट्न भारतमा पुगेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार