काठमाडौँ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले थापाले बुधबार दिएको राजीनामा स्वीकार नगर्ने निष्कर्ष निकालेको हो । उक्त राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत् पेश गरिएको थियो ।
बैठकले राजीनामा अस्वीकार गर्ने क्रममा विभिन्न कारणहरू प्रस्तुत गरेको छ । काँग्रेसका अनुसार निर्वाचनमा आएको पराजय व्यक्तिगत नभई संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरूका कारण भएको ठहर गरिएको छ । यसका साथै वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व अझै आवश्यक रहेको निष्कर्ष केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत रूपमा काँग्रेसले निकालेको हो ।
राजीनामा स्वीकार गर्दा पार्टीभित्र अस्थिरता, अन्योल र कार्यकर्ताको मनोबलमा गिरावट आउन सक्ने भन्दै त्यसलाई अस्वीकार गर्नु उपयुक्त देखिएको निर्णयमा उल्लेख छ । काँग्रेसले राजीनामालाई नैतिक र स्वेच्छिक विषयका रूपमा सम्मान गर्दै पनि संस्थागत स्थायित्वलाई प्राथमिकता दिएको जनाएको छ ।
यसैगरी बैठकले सामूहिक जिम्मेवारीको सिद्धान्त, नेतृत्वको निरन्तरता र सुधार कार्यक्रम ‘काँग्रेस २.०’ कार्यान्वयनको आवश्यकतालाई पनि निर्णयको आधार बनाएको छ । आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ ।
राजीनामा अस्वीकार गर्ने ८ आधार
१. निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको ।
२. वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको ।
३. राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले ।
४. राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले ।
५. सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले ।
६. विशेष महाअधिवेशनपश्चात् प्रारम्भ गरिएको सुधार कार्यक्रम (काँग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले ।
७. पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले ।
८. केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले ।









प्रतिक्रिया दिनुहोस्