दृष्टिकोणः कटासे बजारको हाट हुँदै भौंरा टापुमा पाइला टेक्दा



राजेन्द्र प्रसाद धिताल

सूर्याेदयसँगै हाम्रो मैदानी यात्रा सुरु भएको छ । मलाई सर्वथा नवीनताको अनुभूति भइरहेको छ । आकाश सफा र कञ्चन छ । घना हरियो जङ्गलका बीचमा बाङ्गोटिङ्गो बाटो छ । बाटोभरि हटारुहरुको लहर छ । कुनै–कुनै रुखहरुमा बादरहरु उफ्रिरहेका छन् । कतै–कतै ससाना बच्चाहरु बोकेर रुखमा चढिरहेका बादरहरु देखिन्छन् । थरीथरीका चराको चिरबिरले बाटोको यात्रालाई सङ्गीतमय बनाएको छ।यात्रीहरुमा एक प्रकारको आनन्द छ । हाट आइपुगेको मिठो अनुभूति छ।बाटोभरि कतै भैसीका हुल छन्, कतै भेडाका बथान छन् त कतै घोडाका लहरहरु छन् । ठूला ठूला कुकुरहरु पनि हटारुसगै हिडेका छन् । यी सबै हाट हिडेका छन् । मेरो मनमा गहिरो जिज्ञासा छ, यिनीहरू हाट किन आएका होलान् ? मैले प्रश्न राख्ने ठाउँ बज्यू बाहेक अन्त कतै छैन । म बज्यूलाई सोध्छु । बज्यूसग आफू पनि यसै गरी भेडा ल्याएर हाट आएको अनुभव रहेछ । प्रायः हिउँदमा हिमाली भेगका भेडा, घोडा चराउने पाल्ने ठाउँ रहेछ भित्री मधेस र यो तराईको न्यानो समथर मैदानी भूभाग । जामु र कुहिनेका ठूल्ठूला नदी किनारमा भेडा चराएका मिठा अनुभूतिहरु बज्यूका हृदयमा जीवन्त रहेछन् । भित्री मधेसका बाबिया चौरजस्ता फाट होउन् या मधेसका बड्चौर र पाताबारी जस्ता जङ्गल होउन् यी ठाउँहरु हिमाल पहाडका बासिन्दाका लागि हिउदे पशुपालनका प्राकृतिक स्थल रहेछन् । बज्यूले भेडा पाल्दाका आफ्ना अतीत संझनु भयो । दिवङगत बाजेलाई संझनु भयो । बाजेको देहावसानपछि घरको जिम्मेवारी जेठाबाले समालेको, जेठाबा, जेठीआमा, आमा र कान्छाबुबाहरु भेडा घोडा चराउन लेकबेसी गर्न थालेको रोचक संस्मरण बज्यूले हिड्दै सुनाउदै गर्नुभएको थियो । मैले हठात आजभोलि हाम्रा भेडा खोइ त भनेर सोधेको थिए ।

बज्यूले मलाई भन्नु भएको थियो, मेरो पिताजी सानै उमेरमा भागेर भारततिर जानु भएछ । लामो समय भारतमा बसेर आएको हुँदा उहाँको पुख्र्याैली पेशासँगको सम्बन्ध टुटेछ, जुम्लामा बसेर खेतीपाती र भेडापालन गरेर खान असहज मानेपछि उहाँले आफ्नो भागको भेडा बेच्नु भएको रहेछ र तराईमा जग्गा किन्नु भएको रहेछ । यी सबै कुरा बताइरहदा बज्यूको मुहारमा एक प्रकारको उदासी देखिन्थ्यो । झर्न नसकेर परेलीमै अडिएका आसुले बज्यूका आखा भरिएका थिए । कुरा गर्दा गर्दै घरि बाजेलाई सम्झेर, घरि घर सम्झेर त घरि अतीतका स्मृतिमा डुलेर द्रवीभूत हुदै बज्यू रुन थाल्नु भयो । नजिकै कान्छोबुबाले सबै कुरा सुन्नु भएको रहेछ । किशोर उमेरका मेरो कान्छोबुबा मभन्दा ११ बर्षले जेठो हुनुहुन्थ्यो । बाटोभरि गरुङ्गो भारी र हाम्रो संरक्षणको गहन अभिभारा एकसाथ बोकेर उहाँ थाक्नु भएको थियो । बज्यूको वेदनाले कान्छोबुबा दुख्नु भएछ, हेछु त उहाँका आखाबाट पनि आसु छचल्किएको छ । नयाँ ठाउँ जानुपर्ने र नितान्त नौलो परिवेशमा जीवनको भावी गन्तव्य खोज्नुपर्ने परिवेशमा थियौ हामी । मलाई त बज्यूको काखले सबै प्रकारका भय र अनिश्चितताको अन्त्य गरिदिन्थ्यो र म नवीततामा पुलकित हुन सक्थे । बज्यू भने जिम्मेवारी बोधले हुन सक्छ झन्झन् गम्भीर बन्दै जानुभएको थियो । सानो कुरामा रुने र अलिकति रमाइलो हुनेबित्तिकै पुलकित हुने मेरो स्वभाव नै छ ।

मेरो कलिलो र चन्चल मन एकनास स्थिर रहन सक्दैन । बाटामा सेता गाईहरुको हुल छ, घाटीमा बाँधिएका घन्टी बजेर गाईहरुले वातावरण सङ्गीतमय बनाइरहेका छन् । तराईका यी सेता गाईहरुलाई गौरी गाई भनिदो रहेछ । गाईका स–साना बाच्छाहरु देखेर मलाई तिनीहरूसगै खेलूखेलूझै लाग्न थाल्छ । थरिथरिका जनावर, मान्छे र चराचुरुङ्गीहरुको मिठो सङ्गमले मलाई यहाँको हरियो बनमा नौलो जीवनको अनुभूति हुन्छ । हिड्दा हिड्दै बाटामा एउटा बजार भेटिन्छ । मानिसहरू त्यस बजारलाई कटासे बजार भन्छन् । बजारको पश्चिमछेउमा एउटा सानो खोलो बगेको छ । खोला किनारमा लहरै मानिसहरू बिहानको भात भान्साको प्रबन्ध गरिरहेका छन् । हामी पनि खोला किनारमा विश्राम गर्छौ । बज्यू भान्साको तयारी गर्न थाल्नु हुन्छ । कान्छोबुबा प्लास्टिकको जर्किनमा खाना पकाउन र पिउनका लागि खोलाको पानी ल्याउनु हुन्छ ।नजिकैको झाडीबाट सुकेका दाउरा बटुल्नुहुन्छ र आगो बालिदिनुहुन्छ । मेरो ध्यान भने नजिकै देखिएको कटासे बजारतिर छ । बजार हेर्न जाने रहरले मलाई कुत्कुत्याएको छ । बजार रङ्गिचङ्गी देखिएको छ । मान्छेहरुको ठूलो हुल ओहोरदोहोर गरिरहेको छ । बजार घुम्न जाने रहर कान्छोबुबाको मनमा पनि लुकेर बसेको रहेछ । मैले बज्यूसँग कटासे बजार हेर्न रहर प्रकट गर्नेबित्तिकै कान्छोबुबा मलाई बजार घुमाउन तयार हुनुभयो । छिटै आउने भनेर हामी बजारमा गयौं । यसअघि कहिल्यै नदेखेका कुराहरू मैले कटासे बजारमा देख्न पाएको छु ।

बजारमा लहरै दोकानहरु छन् । चिनी, गुड र नूनका रासहरु छन् । बोराका बोरा नून र चिनी मैले आज पहिलोपटक देखेको छु । बडो जतनले पट्याएर राखिएका नयाँ नयाँ सिलाउने कपडाहरु, थरीथरीका सिलिसिलाइ लुगाहरु, सुइटर, सिरक, डसना र कम्मलहरु लहरै सजाएर राखिएका छन् । मिठा र बास्नादार खानेकुराहरुले मेरो मनलाई लोभ्याएका छन् । प्लास्टिकका थैलामा राखिएका पिपलमेट, गोट्टा, चकलेटका थुप्राहरु पसल पसलमा छन् । कान्छोबुबा मलाई देखिस् त हाट भनेर सोध्नुहुन्छ । म झिलिमिली हाट देखेर आह्लादित हुन्छु । कान्छोबुबा एक पोको पिपलमेट किन्नु हुन्छ र मलाई दिनुहुन्छ । रातो पिपलमेटको पोको पाएर म पुलकित हुन्छु, खुसीले गद्गद् हुन थाल्छु । खाना खाने बेला भयो, छिटो आओ भनेर बज्यूले ठूलो आवाजमा बोलाउनु भयो । हतार हतार हामी भान्सा बनाएको ठाउँमा गयो । बज्यूले दाल भात पकाउनु भएको थियो । खाना खायौं र फेरि हिडाइ सुरु गर्याै । कटासे बजारको पूर्व दक्षिणतिर हामी हिड्दै छौं । घना जङ्गलको बीचमा बाटो छ । त्यो जङ्गललाई पाताबारी भन्दा रहेछन् । पाताबारीको बनभरि पशुबस्तु र हटारुहरुको बाक्लो चहलपहल छ।कतै टाढा टाढाबाट सुरिलो स्वरमा देउडा गीतको गुन्जन सुनिन्छ । भेडी गोठालाहरु भेडा चराउन छोडेर ठाउँ ठाउँमा विश्राम गरिरहेका छन् । यो पाताबारीको बन हिमालका भेडा, घोडा पहाडका भैसी र तराईका गौरी गाईहरुको साझा चरन क्षेत्र बनेको छ । प्रकृतिको यो रमणीय हरियाली, घरपालुवा जनावरहरुको यो अपूर्व संयोग र प्रदेश यात्रामा रहेका अपरिचित मानिसहरू बीचको हार्दिकता मलाई विचित्र अनौठो लाग्छ । बाटामा यात्रामा रहेका कहाँ कहाँका मानिस पनि मलाई अत्यन्तै आत्मीय व्यवहार गर्दछन । मेरो हृदयबाट कता–कता आफन्त र पराइबीचको सीमा रेखा नै मेटिदैछ झै मलाई अनुभूति हुदैछ ।

पाताबारी र छतिवन बनको बीचमा हिड्दा हिड्दै फेरि हामी कर्णाली नदीको समीप आइपुग्छौ । हरियो जङ्गलको बीचमा बग्दै गरेको निलो कर्णाली देखेर म रोमान्चित हुन्छु । यहाँ फाँटमा कर्णाली फैलिएकी छन् । यिनको आकार विस्तारित भएको छ । उकालो ओरालोमा बग्दा बग्दै थाकेर विश्राम गर्न थालेझैं यिनको बगाइको गति सुस्त बनेको छ । हामी कर्णाली किनारमा विश्राम गर्न थाल्यौं । अब हाम्रो यात्रा अरु हटारुहरुको भन्दा भिन्न बनेको छ । यात्रुहरू नदीको छेउछाउ हुँदै सती बजार जाने कुरा गर्दैछन् । उनीहरूको जाने निश्चित गन्तव्य छैन । कोही गाउँबस्तीमा व्यापार गर्ने आएका छन् । कोही हिमाली जडीबुटी बेचेर लुगाफाटोको प्रबन्ध गर्ने योजनामा छन्, कोहीभने परदेश जानेछन् र जे पायो त्यही काम गरेर जहान परिवारका लागि लुगा लगायतका आवश्यक बस्तुको सरजाम गर्नेछन् । हटारुहरुले लामा लामा कुरा गरेको र ससाना योजना बनाएको म ध्यान दिएर सुनिरहेको हुन्छु, तर कति कुराहरू मेरो मस्तिष्कमा घुस्न सक्दैनन् । यिनले के भनेका होलान् भनेर म पछिसम्म सोचिरहन्छु । अर्काे प्रसङ्ग आएपछि म आफूले नबुझेका कुराहरूमा ध्यान दिन छोडिहाल्छु । यति चाहि बुझेको छु कि हाम्रो साथमा आएका हटारुहरुको जाने निश्चित ठाउँ छैन । हामी भने मेरो बुबाले जग्गा किनेको ठाउँमा जानेछौ । कर्णाली किनारमा पारिबाट नाउँ आइपुग्छ । अरु हटारुहरुले हामीलाई विदा गर्छन् । हामी नाउँमा चढ्छौ।कटासे बजारमा समान किन्न गएका केही नयाँ मानिसहरू नाउँमा चढ्छन् । निलो र गहिरो कर्णालीमा सरर नाउँ तैरिन्छ । दुईजना नवयुवकहरुले अग्ला काठका भाटाहरुले नाउँ चलाएका छन् ।

बज्यू डराउनु भएको छ । उहाँ बारम्बार कुलदेवताको पुकारा गर्नु हुन्छ । म बज्यूको काखमा छु । मलाई रतिभर डर छैन । कर्णालीलाई मैले आफ्नै नजिकैकी आफन्त सम्झेको छु । बीचबीचमा नदीका तरङ्गबाट पानी नाउँमा आइपुग्छ र मलाई स्पर्श गर्न थाल्छ । कर्णालीको चिसो पानीको स्पर्शले मलाई अपार आनन्दको अनुभूति हुन्छ । कर्णाली तरिसकेपछि नाउँमा भेटिएका नयाँ मान्छेहरुसँगै हामी हिड्न थाल्छौ । केही बेर हिडेपछि जङ्गल सकिन्छ र ठूलो खुला फाँट देखिन्छ । यो फाँटलाई मानिसहरु भौरा टापु भन्दा रहेछन् । यहाँ चारैतिर धानका बाला झुलेका खेतहरु छन् । कतै धान काटेर खेतमा धान लहरै छोडिएका छन्, कतै ठूल्ठूला खल्यानहरुमा धानका कुन्यु लगाइएका छन् । ठूल्ठूला खेतबारीका बीचमा गाउँहरु छन् । नितान्त नौला घरहरू देखिन्छन् । सबैजसो घरहरू खरले छाडिएका छन् । केही घरहरू ठाटी हालेका छन्, तर धेरैजसो घरहरू एकतले नै छन् । यहाँका मान्छेहरुका बोली, भाषा र लुगा सबै नौला लागेका छन् मलाई । सबैभन्दा बढी नौला त मलाई धानबाली र तोरीबारीका पहेला फाँटहहरु लागेका छन् । हामीसँग भेटिएका नयाँ मान्छेहरु थारु जातिका रहेछन् । उनीहरूको भाषा हामी बुझ्दैनौ । हाम्रो भाषा उनीहरूले बुझेका छैनन् । हिमाल र तराईका मानिसहरूको यो संयोग अनौठो प्रतीत भइरहेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार