समानुपातिकबाट बने कर्णालीका चार महिला सांसद



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ चार महिलासहित पाँचजना सांसद छनोट भएका छन् । तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेका ६ दलमध्ये राप्रपाबाहेक अन्य पाँच दलबाट एक÷एक जनालाई समानुपातिक सांसद बनाइएको हो । जसमा एक पुरुष र चार महिला रहेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले एक÷एक जनालाई समानुपातिक सांसद बनाएका हुन् ।

प्रत्यक्षमा एक सय २५ र समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गर्दै पहिलो दल बनेको रास्वपाले कर्णालीलाई समानुपातिकतर्फ एक सिट मात्रै दिएको हो । देशभरबाट २७ जना सांसद छान्दा कर्णालीबाट सुर्खेतकी सीता बादी दलित महिला क्लस्टरबाट सिफारिसमा भएकी हुन् । यस्तै, नेकपा एमालेले कर्णालीबाट कालीकोटकी यशुदाकुमारी बराललाई सांसद बनाएको छ ।

उनलाई एमालेले महिला खसआर्यतर्फ पिछडिएको क्षेत्रबाट चयन गरेको हो । नेकपाले पार्वती विश्वकर्मालाई सांसद बनाएको छ । जाजरकोटकी पार्वतीलाई नेकपाले दलित महिला र पिछडिएको क्षेत्रबाट सांसदमा सिफारिस गरेको हो । नेपाली काँग्रेसले कालीकोटका कालीबहादुर सहकारीलाई सांसद बनाएको छ ।

उनी कालीकोटबाट खसआर्य पुरुषको कोटामा पिछडिएको क्षेत्रबाट सांसद बनेका हुन् । यस्तै, हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सुर्खेतकी राधिका रम्तेललाई सांसदमा सिफारिस गरेको छ । उनलाई दलित महिला क्लस्टरबाट सिफारिस गरिएको हो ।कर्णाली प्रदेशबाट सांसद बनेका पाँचै जनाको योगदान राजनीतिसँगै सामाजिक कार्य पनि उल्लेख्य रहेको छ । विशेषगरी उनीहरू सबै सामाजिक कार्यमा योगदानका दृष्टिकोणले पर्दापछिका ‘हिरो’ हुन् ।

चर्चामा नआएकी रम्तेल बनिन् सांसद

यसपटक कतै चर्चामा नआएकी सुर्खेतकी राधिका रम्तेल प्रतिनिधिसभा सदस्य बनेकी छन् । समानुपातिकतर्फ चार सिट मात्रै पाएको श्रम संस्कृति पार्टीले रम्तेललाई सांसद बनाएको हो । २०३९ सालमा बाबियाचौरमा जम्मिएकी राधिका खासै चिनिएकी राजनीतिक पात्र भने होइनन् । तर उनी विभिन्न सामाजिक कार्यमा निरन्तर संलग्न रहँदै आएकी थिइन् ।

नारायण नगरपालिका–१ पुरानो बजार दैलेखमा विवाह गरेपछि उनी महिला सशक्तीकरण मञ्चमा जोडिएर दैलेखका ग्रामिण भेगमा सीमान्तकृत महिलाका आवाज बन्दै आएकी छन् । तर पर्दा अगाडी नआएरै २०५९ सालदेखि सामाजिक न्यायका पक्षमा उभिँदै आएकी राधिकालाई सरप्राइजमा सांसद पद मिलेको छ ।

अन्य ठूला दलका संघ संगठन हावी भएको परिदृश्य देखेकी राधिकालाई सांसद नै बन्छु जस्तो त लागेको थिएन् । तर उनलाई हर्कराज साम्पाङले लागू गरेको श्रमवाद भने मन परेको थियो । जसले उनलाई श्रम संस्कृति पार्टीमा लाग्न प्रेरित ग¥यो र कमजोर संगठनकैबीच उनी सुर्खेत जिल्ला उपाध्यक्ष बनिन् । संगठन विस्तार हुन नसके पनि उनको पार्टीले कर्णालीमा समानुपातितर्फ चार हजार ६५७ मत पाएको छ । नव उदायको पार्टीका लागि कर्णालीको यो मत भविष्यका लागि शुभ संकेत पनि हो ।

पीडितको आवाज बनेकी पार्वती सांसद बनिन्

जाजरकोटको भेरी नगरपालिका–१० को एक साधारण किसान परिवारमा जन्मिएकी पार्वती विक पनि सांसद बनेकी छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ सांसद बनाएको हो । गाउँको सामाजिक संरचनामा दलित समुदायले भोग्ने अपमान, अवसरको अभाव र असमान व्यवहारले पार्वतीलाई सधैँ बेचैन बनाएको थियो ।

त्यही बेचैनीले उनलाई अधिकार र समानताको आन्दोलनतर्फ धकेल्यो । समाजमा दबिएका आवाजका लागि बोल्ने साहस उनले विस्तारै विकास गरिन् । तत्कालीन माओवादी केन्द्रले सुरु गरेको जनयुद्धले उठाएको सामाजिक समानता, सीमान्तकृत वर्गको उत्थान र न्यायको एजेण्डाले पार्वती विकलाई गहिरो प्रभाव पारेको थियो । समयसँगै उनी सामाजिक न्यायको अभियानमा सक्रिय अनुहार बन्न पुगेकी थिइन् ।

जाजरकोटमा हुने जातीय विभेदका घटनामा पार्वती विक सधैँ पीडितका पक्षमा उभिने नेतृका रूपमा चिनिन्छिन् । विभेदविरुद्ध आवाज उठाउने, पीडित परिवारलाई न्याय दिलाउन पहल गर्ने र प्रशासनिक तथा कानुनी प्रक्रियामा साथ दिने काममा उनी निरन्तर सक्रिय छन् ।
रूकुम पश्चिमको सोती गाउँमा भएको नवराज विकसहित युवाहरूको सामूहिक हत्या नेपाली समाजको इतिहासकै दर्दनाक घटनामध्ये एक बन्यो ।

त्यस घटनापछि न्यायको माग गर्दै उठेको आन्दोलनमा पार्वती विक अग्रपंक्तिमा देखिइन् । लामो समय सामाजिक न्यायका लागि सडक र आन्दोलनमा बिताएकी पार्वती विकलाई नेकपाले समानुपातिक सांसदका रूपमा संघीय संसदमा पठाएको हो । यो केवल एउटा पद प्राप्ति मात्र होइन, दलित समुदायको संघर्ष र प्रतिनिधित्वको प्रतीक पनि हो ।

सीता पहिलो बादी महिला सांसद

सुर्खेतकी सीता बादी पहिलो बादी महिला सांसद बनेकी छन् । उनी समानुपातिक सांसदमा चयन हुनु केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण संकेत पनि हो । परम्परागत रूपमा पछाडि पारिएको बादी समुदायबाट राष्ट्रिय राजनीतिको मूलधारमा प्रतिनिधित्व हुनु आफैँमा ऐतिहासिक मानिन्छ ।

सीता बादीको बाल्यकाल अत्यन्तै संघर्षपूर्ण रह्यो । कर्णालीका दुर्गम क्षेत्रमा बालुवा संकलन गर्दै जीविकोपार्जन गर्ने क्रममा उनले शिक्षा, स्वास्थ्य र अवसरको अभावलाई नजिकबाट अनुभव गरिन् । यीनै अनुभवले उनलाई समाजमा रहेका विभेद, गरिबी र बहिष्करणका मुद्दा उठाउन प्रेरित ग¥यो । जीवनका कठिन मोडहरू पार गर्दै उनी आत्मनिर्भर बन्ने लक्ष्यसहित काठमाडौँ झरेकी थिइन् ।

काठमाडौँको बुढानीलकण्ठ–चुनिखेल क्षेत्रमा उनले हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरण व्यवसाय सुरु गरिन् । यस व्यवसायले उनलाई आर्थिक रूपमा सबल बनाउनुका साथै अन्य महिलालाई पनि रोजगारी सिर्जना गर्ने अवसर दिएको छ । साना उद्यममार्फत महिलालाई आत्मनिर्भर बनाउने उनको प्रयास प्रशंसनीय मानिन्छ ।

राजनीतिक यात्रामा उनी सुरुमा विवेकशील साझा पार्टीसँग आबद्ध भइन् । त्यहाँ रहँदा उनले सुशासन, पारदर्शिता र समावेशिताका मुद्दामा सक्रिय भूमिका खेलिन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएपछि उनले आफ्नो राजनीतिक सक्रियता अझ विस्तार गरिन् । रास्वपाबाट समानुपातिक सांसदमा सिफारिस हुनु उनको निरन्तर संघर्ष, सामाजिक योगदान र नेतृत्व क्षमताको कदरका रूपमा हेरिएको छ ।

उनको संसद् प्रवेशले विशेषगरी सीमान्तकृत समुदायका महिला र दलित वर्गका लागि नयाँ आशा जगाएको छ । उनी संसद्मा पुगेपछि सामाजिक न्याय, शिक्षा, महिला सशक्तीकरण, सीमान्तकृत समुदायको अधिकार र उद्यमशीलताको प्रवद्र्धनका विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

दुर्गमका पीडा बोल्ने यशोदा सांसद

कालीकोटकी यशोदा बराललाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्नु कर्णालीजस्तो पछाडि पारिएको क्षेत्रको प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण कदम मानिएको छ । विशेषगरी ‘महिलातर्फ पिछडिएको क्षेत्र’ अपांगता कोटाबाट उनको सिफारिसले समावेशी प्रतिनिधित्वलाई थप सुदृढ बनाएको छ ।

यशोदा बराल लामो समयदेखि जिल्लास्तरमा सक्रिय राजनीतिक र सामाजिक अभियन्ताका रूपमा परिचित छिन् । कालीकोटजस्तो दुर्गम जिल्लामा महिलाको सहभागिता न्यून रहँदा उनले गाउँस्तरबाटै संगठन निर्माण, महिला सशक्तीकरण र जनचेतनामूलक अभियान सञ्चालन गर्दै आफ्नो पहिचान बनाएकी हुन् ।

उनको राजनीतिक यात्रा पार्टीका आधारभूत संरचनाबाट सुरु भएको हो । अनेरास्ववियु तथा महिला संगठनमार्फत उनले संगठन विस्तार, प्रशिक्षण र नेतृत्व विकासमा काम गरिन् । ग्रामीण भेगका महिलालाई राजनीतिमा जोड्ने, आत्मनिर्भर बनाउने र सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने कार्यमा उनको सक्रियता उल्लेखनीय छ ।

बरालले विशेषगरी शिक्षा, स्वास्थ्य, महिला अधिकार र स्थानीय विकासका मुद्दामा काम गर्दै आएकी छन् । कालिकोटका विकट बस्तीहरूमा विद्यालय पहुँच, मातृस्वास्थ्य सेवा र सडक–सञ्चारको अभावजस्ता समस्यालाई उनले निरन्तर उठाउँदै आएकी छन् । स्थानीय तह र पार्टी संरचनामार्फत उनले नीति निर्माण तहमा यी विषयलाई प्राथमिकतामा राख्ने प्रयास गर्दै आएकी छिन् ।

उनको समानुपातिक सिफारिसलाई कर्णाली क्षेत्रका महिलाको आवाज संघीय संसद्सम्म पु¥याउने अवसरका रूपमा हेरिएको छ । संसद्मा पुगेपछि उनले विशेषगरी दुर्गम क्षेत्रको विकास, महिला सशक्तीकरण, गरिबी न्यूनीकरण र आधारभूत सेवाको पहुँच विस्तारका मुद्दालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

यशोदा बरालको राजनीतिक यात्रा गाउँस्तरको सक्रियताबाट राष्ट्रिय प्रतिनिधित्वसम्म पुगेको उदाहरण हो, जसले कर्णालीका महिलालाई राजनीतिमा अघि बढ्न थप प्रेरणा दिने विश्वास गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार