कोहलपुर (बाँके) ।
भदौ १० को विनाशकारी बाढीमा परी बाँके र बर्दियाका चार जनाले ज्यान गुमाएका छन् । बाढीमा परी रसुवामा आयोजनामा कार्यरत मजदुर र सरकारी कर्मचारी गरी दुवै जिल्लाका कूल चार जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमा तीन जना बाँके र एक जना बर्दियाका रहेका छन् । बाढीमा परेर ज्यान गुमाउनेमध्ये बाँकेका तीनजना पुरुष कोहलपुर नगरपालिकाका हुन् ।
निधन हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का २३ वर्षीय कबीरलाल थारू, २८ वर्षीय महेश थारू र कोहलपुर–११ कै नहकुल शर्मा रहेका छन् । कबीरलाल र महेश रसुवास्थित एक जलविद्युत् आयोजनामा कामदारको रूपमा कार्यरत थिए भने शर्मा भन्सार कार्यालयका अधिकृत थिए । शर्माको शव गोरखामा भेटिएको थियो । कबीरलाल र महेशको शव भने चितवनमा भेटिएको थियो ।कबीरलालको शव भदौ १२ र महेशको शव १३ गते भेटिएको थियो । उनीहरू तीनै जनाको अन्तिम दाहसंस्कार गरीसकेको छ ।
यता, जिल्ला प्रशासन कार्यालय बाँकेले बाँके जिल्लाका २३ जना नागरिक सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट बाँके जिल्लाका ३२ जना नागरिक सम्पर्ककमा आएका छन् । बाढीमा परी बर्दियाका समेत हालसम्म एक जनाको निधन भएको छ । रसुवा बाढीमा परेर बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २ का गोपाल दहितको निधन भएको हो ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बर्दियाका सांसद ठाकुरसिंह थारूले रसुवा बाढीमा परी दहितको निधन भएको जानकारी दिएका थिए । दहितको शव उनकी दिदी मन्जी थारूले पहिचान गरिसकेकी छन् । ‘दहितको शव परिवारले पहिचान गरिसकेका छन् । उक्त शवमा अरुले पनि दाबी गरेका कारण परिवार रित्तो हात फर्किन बाध्य भएको छ,’ सांसद थारूले भनेका छन् । यस्तो प्रकारको कानुनी अल्झन तत्काल सुल्झाएर पीडित नागरिकहरूलाई शव हस्तान्तरण गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका थिए ।
यस्तै उनले बाढीमा परेर घाइते भएका बर्दियाका रामप्रसाद थारू र नन्दलाल घर्तीको निःशुल्क उपचार गर्नसमेत उनले माग गरे । रसुवा बाढीमा फसेका नागरिकहरूको तत्काल उद्धारमा सरकार अझै गम्भीरु रूपमा लाग्नुपर्नेमा उनले जोड दिए । प्रतिनिधिसभा सदस्य थारूले इन्जिनियर, सुरक्षाकर्मी र सर्वसाधारणगरी हालसम्म बर्दियाका ७५ जना सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिए । उद्धार प्रयास जारी गरे पनि अवस्था सार्वजनिक नहुँदा आफन्तहरू रसुवा र नुवाकोट लगायतका अस्पतालहरूमा भौँतारिरहेको उनले अवगत गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्