सडक पुगेपछि बन्न थाले भूकम्पप्रतिरोधी विद्यालय



हुम्ला ।

एक समय माटो र ढुंगाको गाह्रोमाथि जस्तापाता छाएर बनाइएका विद्यालय भवन उत्तरी हुम्लाको परिचयजस्तै थिए । दुर्गम भूगोल, सडक यातायातको अभाव र निर्माण सामग्रीको महँगो ढुवानीका कारण पक्की संरचना निर्माण स्थानीय तह र विद्यालयका लागि सहज थिएन । तर, हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै यहाँको शिक्षा पूर्वाधार निर्माणमा नयाँ परिवर्तन देखिन थालेको छ । अहिले उत्तरी हुम्लाका विद्यालयमा भूकम्पप्रतिरोधी पक्की भवन निर्माणको क्रम बढ्न थालेको छ ।

जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि जिल्ला बाहिरबाट सिमेन्ट, फलामे छडलगायत निर्माण सामग्री सहज र तुलनात्मक रूपमा सस्तो ढुवानी हुन थालेको हो । यसले पहिले सीमित बजेटमा अस्थायी प्रकृतिका भवन निर्माण गर्नुपर्ने बाध्यता हटाएको छ । आरसिसी तथा भूकम्पप्रतिरोधी संरचना निर्माणको बाटो खोलेको स्थानीय तहका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीहरूले बताएका छन् । सिमकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार सडक पहुँच विस्तारसँगै विद्यालय भवन निर्माणको स्वरूपमा समेत परिवर्तन आएको छ ।

‘पहिले निर्माण सामग्रीको ढुवानी अत्यन्तै महँगो थियो । त्यसैले विद्यालयका भवन माटो, ढुंगा र जस्तापातामै सीमित हुन्थे,’ उनले भने, ‘अहिले निर्माण सामग्री सहज रूपमा आउन थालेपछि नयाँ विद्यालय भवनलाई पक्की र भूकम्पप्रतिरोधी बनाउने क्रम बढेको छ ।’ उनका अनुसार हुम्ला जिल्ला २०८२ साल असार २२ गते राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रूपमा जोडिएको थियो भने सडक सञ्जालको पहुँच विस्तारले यातायातको सुविधामा सीमित नभई जिल्लाको सामाजिक तथा भौतिक विकासका क्षेत्रमा समेत प्रभाव पार्न थालेको छ । विद्यालय भवन निर्माण त्यसको पछिल्लो उदाहरण बनेको उनको भनाइ छ ।

‘सडक नजोडिँदासम्म सिमेन्ट, छड तथा अन्य निर्माण सामग्री हवाईमार्ग वा कठिन पैदल तथा खच्चडमार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो,’ उनले थपे, ‘ढुवानी खर्चकै कारण निर्माण सामग्रीको मूल्य अत्यधिक महँगो पर्ने गरेको थियो, परिणामस्वरूप स्थानीय तहले उपलब्ध बजेटबाट गुणस्तरीय र दीर्घकालीन संरचना निर्माण गर्न कठिनाइ भोग्दै आएका थिए ।’ तर अहिले अवस्था बदलिएको सिमकोट गाउँपालिकाका योजना अधिकृत मोहनबहादुर शाहीले पनि बताए ।

उनका अनुसार पहिले माटो, ढुंगा र जस्तापाताबाट निर्माण गरिने भवनमा खर्च हुने बजेटबाटै अहिले पक्की संरचना निर्माण गर्न सकिने अवस्था सिर्जना भएको छ । ‘सडक सञ्जालसँग जोडिएपछि निर्माण सामग्रीको ढुवानी सहज भएको छ । पहिलेको तुलनामा सिमेन्ट र फलामे छडको लागत घटेको छ,’ शाहीले भने, ‘त्यसैले सिमकोट गाउँपालिकाले अब विद्यालयका नयाँ भवन आरसिसी तथा भूकम्पप्रतिरोधी ढाँचामा निर्माण गर्न सुरु गरेको छ ।’

पुराना माटो र ढुंगाका भवन भूकम्प, वर्षा तथा हिमपातका कारण जोखिमपूर्ण बन्ने सम्भावना रहने भएकाले पक्की र भूकम्पप्रतिरोधी भवन निर्माणलाई प्राथमिकता दिइएको हो । खार्पुनाथ गाउँपालिकामा पनि नयाँ पक्की तथा भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माण सम्पन्न भई पठनपाठनसमेत सुरु भइसकेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार आगामी दिनमा निर्माण हुने विद्यालयका नयाँ भवनलाई अनिवार्य रूपमा पक्की तथा भूकम्पप्रतिरोधी संरचनाका रूपमा अघि बढाउने योजना रहेको छ ।

हुम्लाको दक्षिणी क्षेत्रमा भने सडक पहुँच विस्तार भइसकेकाले विद्यालयका पक्की भवन निर्माणको काम यसअघि नै सुरु भएको थियो । सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा सडक पहुँचसँगै सिमेन्ट, छड र अन्य निर्माण सामग्रीको ढुवानी सहज भएपछि विद्यालय तथा अन्य सार्वजनिक भवन पक्की निर्माण गर्ने क्रम बढेको थियो । उत्तरी हुम्ला भने सडक सञ्जालमा ढिलो जोडिएकाले यहाँका अधिकांश विद्यालय लामो समयसम्म परम्परागत निर्माण सामग्रीमा निर्भर थिए । अहिले सडक पुगेपछि उत्तरी क्षेत्रले पनि दक्षिणी हुम्लाकै जस्तो भौतिक विकासको गति समात्न थालेको स्थानीयवासीको बुझाइ छ । स्थानीय तहहरूले आगामी दिनमा पुराना तथा जोखिमयुक्त विद्यालय भवनको पहिचान गरी क्रमशः विस्थापन गर्ने र नयाँ भवन निर्माण गर्दा भूकम्पप्रतिरोधी मापदण्डलाई प्राथमिकता दिने तयारी गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार