प्राविधिक टोलीद्वारा सुरुङमा खोज तथा उद्धार तीव्र



काठमाडौँ ।

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ । बाढीले आयोजनाका संरचना, पहुँचमार्ग तथा सुरुङका प्रवेशद्वारहरू पुरिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विदेशी उद्धारकर्मी तथा प्राविधिक टोलीहरू संयुक्त रूपमा जोखिमपूर्ण सुरुङभित्र पुग्ने प्रयासमा जुटेका छन् ।
बाढी आएको एक साता बितिसक्दा पनि सुरुङभित्रको खोज तथा उद्धार सहज बन्न सकेको छैन ।

विशाल चट्टान, माटो, लेदो, भत्किएका फलामे संरचना तथा पानी जम्ने समस्याका कारण उद्धार टोलीले एक–एक मिटर गर्दै सुरुङभित्र प्रवेश गर्नुपरेको छ । विशेषगरी रसुवागढी, लाङटाङ, चिलिमे तथा त्रिशूली नदी आसपासका जलविद्युत् आयोजनाका सुरुङहरूमा अहिले खोज तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ । सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण भएकाले उद्धार उपकरण र विशेष प्राविधिक जनशक्तिको आवश्यकता परेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार रसुवागढी हाइड्रोपावरको सुरुङभित्र उद्धार टोलीले करिब १५० मिटर अघि पुगेको छ ।

तर सुरुङभित्र रहेका ठूला चट्टान र बाढीले थुपारेको सामग्रीका कारण थप अगाडि बढ्न कठिनाइ भइरहेको छ । उद्धारकर्ताहरूले सुरुङभित्र रहेका अवरोध हटाउँदै क्रमशः खोजीलाई अगाडि बढाइरहेका छन् । सुरुङभित्रको संरचनात्मक अवस्था कमजोर हुन सक्ने जोखिमसमेत रहेकाले प्रत्येक चरणमा प्राविधिक मूल्यांकनपछि मात्रै टोलीलाई अगाडि बढाइएको छ । लाङटाङ हाइड्रोपावरमा पनि विदेशी उद्धारकर्मीसहित २५ जनाको संयुक्त टोली सुरुङभित्र करिब १५० मिटरसम्म पुगेर खोज तथा उद्धारमा संलग्न छ । चिलिमे हाइड्रोपावरमा समेत नेपाली र विदेशी प्राविधिक तथा उद्धारकर्मीको संयुक्त टोलीले सुरुङ क्षेत्रलाई केन्द्रमा राखेर खोजी जारी राखेको नेपाली सेनाले जनाएको छ ।

त्रिशूली–३ ‘ए’मा सबैभन्दा जटिल

बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा भने उद्धार कार्य अत्यन्तै जटिल रहेको जनाइएको छ । आयोजनाको केबल डक्ट टनेलको मुख बाढीले पुरिएपछि त्यसलाई खोल्न नेपाली सेनाको नेतृत्वमा चिनियाँ प्राविधिक टोलीसहित ९३ जनाको संयुक्त टोली परिचालन छ । प्रधानमन्त्री कार्यालयका अनुसार उद्धार कार्यमा पाँचवटा एक्स्काभेटर, कम्प्रेसर, ब्रेकरलगायतका भारी उपकरण प्रयोग गरिएको छ ।

सुरुङको प्रवेशद्वारमा बाढीले थुपारेको करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएको संरचना, फलामे सामग्री र ठूला ढुङ्गाको थुप्रो उद्धार टोलीका लागि मुख्य चुनौती बनेको थियो । निरन्तरको प्रयासपछि उक्त डेब्रिसको केही भाग हटाउँदै सुरुङको मुख माथिल्लो भागबाट करिब तीन फिट खुलाउन सफल भएको उद्धार टोलीले जनाएको छ । त्यसपछि प्राविधिक तथा उद्धारकर्मी सुरुङभित्र १५ देखि २० मिटरसम्म प्रवेश गर्न सफल भएका छन् ।

तर सुरुङभित्र एक्स्काभेटर र अन्य मेसिन प्रवेश गराउन अझै पूरै मुख खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम तीव्र पारिएको छ । सुरुङको प्रवेशमार्गमा रहेका थप सातवटा विशाल बोल्डर हटाउन ब्लास्टिङको तयारीसमेत गरिएको छ । प्राविधिक टोलीका अनुसार त्रिशूली–३ ‘ए’को उक्त सुरुङ करिब १७० मिटर लामो छ । सुरुङभित्र बाढीले ठूलो मात्रामा माटो, लेदो र अन्य सामग्री थुपारेको अनुमान गरिएको छ । त्यसलाई हटाएर सुरुङ छिचोल्न सकेपछि मात्रै भित्र रहेको पावर हाउस तथा अन्य मुख्य संरचनासम्म पुग्न सकिने अवस्था रहेको बताइएको छ ।

पानी जम्दा उद्धारमा थप कठिनाइ

त्रिशूली–३ ‘ए’ क्षेत्रमा वर्षाका कारण सुरुङभित्र पानी जमेपछि समस्या भएको छ । वर्षापछि सुरुङ क्षेत्रमा करिब डेढ मिटर पानी जमेको र त्यसलाई पम्पको सहायताले बाहिर निकाल्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ । सुरुङको मुखमा रहेको डेब्रिस हटाउने क्रममा कम्प्रेसर मेसिन, ब्रेकर र आवश्यक स्थानमा ब्लास्टिङ प्रविधिको प्रयोग गरिएको छ । लामो प्रयासपछि सुरुङको आउटलेट पहिचान गर्न सफल भए पनि पानी, माटो र लेदोका कारण उद्धार कार्य अपेक्षाकृत ढिलो भइरहेको उद्धार टोलीले जनाएको छ । प्राविधिक दृष्टिले पनि सुरुङभित्र प्रवेश गर्नु मात्र पर्याप्त नभएको उद्धारमा संलग्न टोलीको भनाइ छ ।

बाढीपछि सुरुङको संरचना कति सुरक्षित छ ? थप पहिरो वा चट्टान खस्ने सम्भावना कति छ ? र भित्र विषाक्त ग्यास वा अक्सिजनको कमी छ कि छैन ? भन्ने विषय उत्तिकै महत्वपूर्ण भएकाले उद्धार कार्य अत्यन्त सावधानीपूर्वक अगाडि बढाइएको छ । यस्तै माथिल्लो त्रिशूली–१ हाँकु क्षेत्रमा पनि नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ । त्रिशूली–३ ‘बी’मा नेपाली सेनाका ६१ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको उद्धार टोली परिचालित छ ।

उक्त टोलीले बाढीबाट प्रभावित आयोजनाको कार्यालय र आवासीय क्षेत्र पहिचान गर्दै त्यहाँसम्म पुग्न एक्स्काभेटरको प्रयोग गरी पहुँचमार्ग निर्माण गरेको जंगी अड्डाले जनाएको छ । बाढीले आयोजनाका संरचना मात्र नभई उद्धार टोलीलाई घटनास्थलसम्म पुग्ने बाटोसमेत अवरुद्ध पारेकाले कतिपय स्थानमा उद्धार कार्य सुरु गर्नुअघि नै पहुँचमार्ग निर्माण गर्नुपरेको छ ।

समयसँगै दौडमा उद्धार अभियान

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार अहिले सामान्य उद्धार अभियानभन्दा फरक प्रकृतिको बनेको छ । खुला क्षेत्रमा खोजी गर्नुभन्दा सुरुङभित्रको उद्धार कार्य प्राविधिक रूपमा जटिल र जोखिमपूर्ण हुने भएकाले भारी उपकरण, विस्फोटन प्रविधि, पम्पिङ प्रणाली र दक्ष जनशक्तिको संयुक्त परिचालन गरिएको छ । विशाल चट्टान, फलामे संरचना, माटो र लेदोले सुरुङहरू थुनिँदा उद्धार टोलीले ती अवरोध हटाउँदै क्रमशः भित्र पस्ने रणनीति अपनाएको छ ।

विदेशी प्राविधिक र उद्धारकर्मीको सहभागिताले जटिल सुरुङ क्षेत्रमा खोजीलाई थप व्यवस्थित बनाउन सहयोग पुगेको सरकारी निकायहरूको भनाइ छ । तर बाढीपछि लगातार भइरहेको वर्षा र सुरुङभित्र पानी जम्ने समस्याले अभियानलाई थप कठिन बनाइरहेको छ । अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ तथा अस्ट्रेलियाली इन्जिनियर प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको परिस्थिति आफूले अहिलेसम्म सामना गरेका सबैभन्दा कठिन परिस्थिति रहेको बताए । बाढीमा नेपाली उद्धारकर्ताहरूले सम्भव भएसम्म सबै प्रयास गरेको उनको भनाइ छ ।

नेपाली उद्धारकर्ताहरूले सुरुङभित्रका कामदारको उद्धारका लागि गरेको प्रयासलाई नजिकबाट नियाली रहेका डिक्सले यस किसिमको विषम परिस्थितिमा उद्धारकर्मीहरूले गरेको प्रयास अभूतपूर्व रहेको बताए ।सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारको उद्धारमा सहयोग गरेका डिक्सले अहिलेको नेपालको परिस्थिति आफूले सामना गरेका सबैभन्दा कठिन परिस्थितिहरूमध्येको एक भएको बताए ।

जलविद्युत् संरचनाहरूमा रहेको ठूलो परिणामको अस्थिर माटो र जमिन मुनि पुरिएका कारण अपेक्षित सफलता हात पर्न नसकेको उनी बताउँछन् । तर सरकारी निकाय तथा सुरक्षा संयन्त्रका अनुसार सबैभन्दा चुनौतीपूर्ण सुरुङ क्षेत्रमा प्राविधिक जनशक्ति र भारी उपकरणको प्रयोग बढाउँदै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । सुरुङभित्र थुप्रिएको डेब्रिस पूर्ण रूपमा हटाएर मुख्य संरचनासम्म पुग्न अझै समय लाग्ने देखिए पनि उद्धार टोलीले प्रतिकूल परिस्थितिका बाबजुद अभियानलाई तीव्र बनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार