खुसी दिवस र खुम्चिदै खुसीको खगोल



साना कुरामा पनि खुसी खोज्न सकिन्छ । आफूसँग भएका कुराहरूको लागि कृतज्ञता व्यक्त गर्ने र धन्यवाद दिने बानीले पनि खुसीले हामीलाई पछ्याउन सक्त । परिवार र नजिकका साथीभाइहरूसँग गुणस्तरीय समय बिताउने गर्दा पनि खुसी मिल्ने गर्दछ । नियमित व्यायाम, योग वा ध्यान गर्नाले मनलाई शान्त र खुसी राख्न मद्दत गर्छ । अरूलाई सानो सहयोग गर्दा पनि आत्मसन्तुष्टि र खुसी मिल्ने गर्दछ ।

जीतबहादुर शाह

अन्तर्राष्ट्रिय खुसी दिवस हरेक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जातिको एउटा आधारभूत लक्ष्य र अधिकारको रूपमा मान्यता दिँदै यो दिवस मनाउन सुरु गरेको हो । सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले खुसीलाई आधारभूत मानव लक्ष्य मान्ने प्रस्ताव पारित गरेको थियो । सन् २०१३ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालियो । यो दिवस मनाउने अवधारणा ल्याउनमा छिमेकी देश भुटानको ठूलो भूमिका छ । भुटानले सन् १९७० को दशकदेखि नै आर्थिक वृद्धिको साटो ‘कूल राष्ट्रिय खुसी’लाई प्राथमिकता दिँदै आएको छ । सन् २०२६ को लागि यो दिवसको मुख्य सन्देश ‘हेरचाह र साझेदारी’ रहेको छ । यसले आपसी दया, करुणा र एकअर्कालाई सहयोग गर्नाले कसरी समाजलाई खुसी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन्छ । साथै, यस वर्षको छलफलमा ‘डिजिटल युगमा मानसिक स्वास्थ्य र खुसी’ को विषयलाई पनि महत्व दिइएको छ । यो दिवसले मानिसहरूलाई तनावमुक्त रहन र मानसिक स्वास्थ्यको ख्याल राख्न प्रेरित गर्छ । खुसी र शान्ति विना दिगो विकास सम्भव छैन भन्ने सन्देश यसले दिन्छ । यसले समाजमा आपसी प्रेम, दया र कृतज्ञता फैलाउन मद्दत गर्छ । त्यसकारण पनि खुसीलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ । भोलीमात्रै हाम्रो घर आँगनमा खुसी दिवस आउँदैछ । त्यो पनि सानोतिनो हो र ! अन्तर्राष्ट्रियस्तरको । खुसी दिवस आएर मात्र के गर्नु, त्यसको साथमा खुसी आउने भए पो मज्जा । कत्तिपय खुसीमै विद्यावारिधी गर्नेहरूका निम्ति त खुसी नआउदो रहेछ ।

हामीजस्ताका लागि त झन के आओस् खुसी । कतिपय विश्वकै सबैभन्दा बढी भौतिक सम्पत्तिका मालिकका निम्ति त खुसी भागीभागी हिड्दोरहेछ । हामीजस्तो बिहान के खाउँ र बेलुका के खाउँ भन्नेहरूको निम्ति के आओस् खुसी ! धेरै मानिसहरूले यस्तैयस्तै विचारहरू अभिव्यक्त गर्दै खुसीका निम्ति दुख व्यक्त गरिरहेका हुन्छन् । वास्तविकता भने अर्कै छ । खुसी हुनका लागि ठूला उपलब्धि नै चाहिन्छ भन्ने छैन। साना कुरामा पनि खुसी खोज्न सकिन्छ । आफूसँग भएका कुराहरूको लागि कृतज्ञता व्यक्त गर्ने र धन्यवाद दिने बानीले पनि खुसीले हामीलाई पछ्याउन सक्त । परिवार र नजिकका साथीभाइहरूसँग गुणस्तरीय समय बिताउने गर्दा पनि खुसी मिल्ने गर्दछ । नियमित व्यायाम, योग वा ध्यान गर्नाले मनलाई शान्त र खुसी राख्न मद्दत गर्छ । अरूलाई सानो सहयोग गर्दा पनि आत्मसन्तुष्टि र खुसी मिल्ने गर्दछ । यसरी हेर्दा हामी ठूलाठूला कुराहरूमा खुसी खोज्ने गर्दछौँ । खुसीहरू भने सानासाना चिजहरूमा लुकेर बसेको हुँदोरहेछ । हामीसँग भएको खुसी हामीबाट भाग्नका लागि सानासाना कुराहरू भए भागिहाल्दो रहेछ । एउटा घरको दुइजना सदस्यमध्ये एकजना सदस्य बाहिरको कामकाजमा दिउँसोभरी दौडधूप गरेर थकाइले लखतरान हुँदै घरमा फर्कन्छ । बाइक चढेर गेटमा आइपुग्छ । हर्न बजाउछ गेट खोल्नका लागि । गेट खोल्न अलि ढिला हुन्छ । गेट खोल्न जति ढिला हुन्छ, उसको रिसको पारो माथि–माथि चढ्दै जान्छ । अन्तमा गेट खोल्न आएको परिवारको सदस्यसँग लखतरान भएर थाकेर आएको मानिस आगो भएर प्रस्तुत हुन्छ र भन्छ, ‘अरु कामको त कुरै छाडौँ, तिमीलाई समयमा गेट खोल्न पनि अब त अल्छि लाग्ने भइसक्यो होइन ?’ घरको सदस्यबाट प्रतिकार गरिन्छ, ‘के घरमा मेरो केही काम छैन ? के म बिना काम बसेको छु जस्तो लाग्छ ?’ खुसी भाग्न र तनाव निम्तिनका लागि त्यो घरमा यति भए पर्याप्त हुन्छ । वनमा डढेलो लगाउन एउटा झिल्कोले काम गरे झै घरमा आगो सल्काउनका लागि एकाध शब्द भए पुग्छ ।

अर्को घरमा पनि स्थिति त्यस्तै हो तर शैली फरक छ । घरको एकजना सदस्य पहिलेको घरको जस्तै दिउँसोभरि काम गरेर थकाइले लखतरान हुँदै घरमा फर्कन्छ र गेट खोल्नका लागि बाइकको हर्न बजाउँछ । पहिलेको झै गेट खोल्न ढिला हुन्छ यहाँ पनि । गेट खोल्न जति ढिला हुन्छ त्यति समयसम्म पर्खिने क्रममा घरमा उनी पनि आज मजस्तै काममा व्यस्त रहेछन् भन्ने कुराको अनुमान गर्न भ्याउछ उक्त मानिसले । केही छिनपछि गेट खुल्छ । गेट खुलेपछि बाहिरबाट भित्रपस्न नभ्याउदै गेट खोल्ने आफन्तसँग जिज्ञासा राख्दछ ‘तिमी पनि कति काममा व्यस्त छौँ है । अब त सकिएन काम ?’ घरको सदस्यबाट प्रतिउत्तर आउँछ, ‘खासै त्यस्तो केही थिएन । घरको काम न हो । अलि अलि त भइहाल्छ । बरु तिमी पो आज बढी थाकेर आएको जस्तो देख्छु । बढी दौडधूप गर्नु प¥यो कि क्या हो ?’ घरका सदस्यहरूको यो छोटो वार्तालापसँगै उनीहरूको दिउँसोभरी गरेको कामबाट उत्पन्न थकाइ घटेर स्वाभाविक हुन्छ र थालनी हुन्छ सुखद सहकार्यको । माथिका केसहरूको अध्ययन गर्दा मानिसले आफँैभित्रबाट खुसीको उत्पादन पनि गर्न सक्दो रहेछ र आफैँभित्रबाट दुःखको उत्पादन पनि गर्न सक्दोरहेछ भन्ने कुराको पुष्टि हुन्छ । धेरै मानिसहरूले घरपरिवार, समाज र विद्यालयबाट समेत नकारात्मक किसिमले शिक्षा आर्जन गर्ने भएकोले कुनै पनि समस्याको कारण पनि नकारात्मक तरिकाबाट नै खोज्ने गर्दछ मानिसले । छोरा कलेजको परीक्षामा उत्कृष्ट भएर साथीहरू र गुरुहरूको बधाइ थाप्दाथाप्दै ढिला भइरहेको हुन्छ ।

घरमा भने आमाले ‘आज छोराले किन ढिला ग¥यो ? कतै दुःख पायो कि ? कतै दुर्घटनामा पो प¥यो कि ?’ भन्ने सोचिरहेकी हुन्छिन् । सोच र दृष्टिकोण नकारात्मक भयो भने त्यसबाट सिर्जना हुने क्रियाकलाप, व्यवहार र बोलीबचन पनि त्यो भिन्न हुन नसक्दा रहेछन् । नकारात्मक क्रियाकलाप वापत उसले अरुबाट पाउने क्रियाकलाप, व्यवहार र बोलीबचन पनि त्यो भन्दा फरक हुँदैनन्, हुबहु आफूले अरुलाई गरेजस्तै हुन्छन् । मानिस रुदै जन्मने भएकोले पनि होला, उसलाई हाँस्ने भन्दा रुने बुद्धि अलि छिटो फुर्दो रहेछ । शब्दमा असाध्य ठूलो ताकत हुन्छ । मानिसलाई परिवर्तन गर्ने ताकत । मानिसलाई उन्नत बनाउने ताकत । मानिसलाई अनन्य मित्र बनाउने ताकत । मानिसलाई जीवनभर आफूभित्र समाहित गर्न सक्ने ताकत । संसारलाई नयाँ दृष्टिकोण दिने ताकत । र संसारका कहिलिएका मान, सम्मान र पुरस्कार हात पार्ने ताकत । यतिमात्र होइन मानिसलाई ध्वस्त र बर्बाद बनाउने ताकत पनि शब्दमा हुने गर्दछ । मानिसलाई जिन्दगीभर जेलको चिसो हावा खुवाउने ताकत पनि शब्दमा हुने गर्दछ । शब्दकै कारणले यसरी सम्बन्ध बिग्रिएर खुसी खोसिएका तमाम दृष्टान्तहरू भेटिन्छन् । त्यसैले भुक्तभोगीहरू भन्ने गर्दछन्, ‘जीव्रोमा हड्डी हुँदैन तर यसले हड््डी भाँच्ने काम गर्दछ ।’ शब्दहरू मन र मष्तिष्कबाट निर्देशित हुन्छन् भने मन र मष्तिष्क सोच र दृष्टिकोणबाट निर्देशित हुने गर्दछ । मानिसको सोच र दृष्किोणलाई शिक्षा, अनुभव र भोगाइको माध्यमबाट परिमार्जन गर्न सकिन्छ । यसका लागि सर्वप्रथम हाम्रो शिक्षा लिने र शिक्षा दिने तौरतरिकामा समेत परिमार्जन गर्नुपर्ने जरुरी छ । शिक्षाले बाह्य दुनियाँमा खुसी खोज्न मानिसलाई निर्देशित गर्ने होइन कि मानिसभित्र नै खुसी खोज्नका लागि अभिप्रेरित गर्ने किसिमले शिक्षणसिकाइ गतिशील हुनुपर्दछ ।

शिक्षाको लक्ष्य मात्र खुसी हुने होइन कि शिक्षा लिने प्रक्रिया नै खुसी र उल्लासपूर्ण हुनुपर्दछ । व्यक्तिलाई काम सम्पन्न भइसकेपछि खुसीको महसुस त होला नै तथापि काम गर्दागर्दै असीम खुसीको महसुस हुने गरी शिक्षा दिनुपर्दछ । परीक्षाको नतिजा आएपछि होइन कि परीक्षाको तयारी गर्दागर्दै खुसी हुन सक्नुपर्दछ । यसका लागि मानिसभित्र सकारात्मक सोचको बीजारोपण गर्नु पर्दछ । बिष रोपेर अमृत फल्दैन भने झै हामीले पनि अरुलाई खुसी दियौँ भने आफ्नो निम्ति पनि खुसी नै प्राप्त हुन्छ । आफ्नो खुसीको निम्ति कतिपय मानिसहरू अरुलाई दुःख दिन्छन् । अरुको रगत र पसिना चुस्छन् । अरुलाई धोका दिन्छन् । अरुले गरेको काममा आपूmले जस लिने दुष्प्रयास गर्दछन् । बैतनिक भएको नाताले अरुलाई प्रभावकारी सेवा प्रदान नगरेर ठग्ने र दुःख दिने गर्दछन् । यसले गर्दा आफूलाई पनि कहिल्यै सुखशान्ति मिल्ने सम्भावना रहदैन ।जतापनि आफ्नो मात्र कुरा काटेको सुन्दा त बाँच्नु पनि धिक्कार जस्तो लाग्ने गर्दछ । त्यसैले जति सकिन्छ मीठो र नम्र बोलीबचन र व्यवहारबाट या भनौँ आफ्नो कर्तव्य इमान्दारितापूर्वक सम्पादन गरेर मान्छेहरू आफ्नो बनाउने प्रयासले खुसीका लागि लगानी बढाएको आभास हुने गर्दछ मानिसलाई । अहिले धेरै मुलुकहरूले शिक्षाले देशको आर्थिकस्तर वृद्धि गरेर मात्र हुँदैन व्यक्तिमा सकारात्मक सोचको विकास गरेर खुसी र आशावादी पनि बनाउन सक्नुपर्दछ भन्ने कुरालाई प्राथमिकता दिएर तदनुसारका नीति र कार्यक्रमहरू अघि बढाउन थालेको अवस्था छ । यो मामिलामा माथि उल्लेख गरेझै भूटान दक्षिण एसियामा अग्रपङ्तिमा छ । आर्थिक हिसाबले अति सम्पन्न मुलुकहरूमा पनि आत्महत्या गरेर जीवन समाप्त गर्ने मानिसहरूको सङ्ख्या घट्नुको सट्टा झन्–झन् बढ्न थालेपछि धेरै देशहरूले शिक्षा आर्थिक सम्पन्नताका लागि भन्दा खुसीका लागि भन्ने कुरालाई जोड दिन थालेका छन् ।

मानिसको उद्देश्य खुसी हुनका लागि आर्थिक सम्पन्नता भन्ने थियो तथापि यो कुरा अब असत्य सावित हुँदै गएपछि धेरै मुलुकहरू अहिले यसतर्फ सोच्न बाध्य भएको अवस्था छ । खुसीको कारणले मानिस निरोगी र दिर्घजीवी हुने तथ्य धेरै अध्ययनहरूबाट सिद्ध भइसकेको छ । विश्व स्वास्थ्य संगठनले समेत मानिसमा हुने असी प्रतिशत रोगहरू मानसिक कारणले हुने तथ्यको उजागर गरेको छ । मानिस सकारात्मक सोचका कारणले खुशी र प्रफुल्लित हुँदा हाम्रो शरीरमा एन्डोर्फिन भन्ने एकप्रकारको रसायन उत्पन्न हुने गर्दछ जसले मानिसमा रोगको विरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिको विकास गर्दछ । त्यसैगरी मानिसमा नकारात्मक सोचको कारणले तनाव र हैरानी हुँदा शरीरमा एड्रेनिल भन्ने रसायन पैदा हुन्छ जसले गर्दा मानिसको रोगका विरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाउने गर्दछ । हामी सबैलाई खुसी चाहिएको त छ तर भेटिएको भने छैन । हाम्रो निम्ति खुसी खोज्ने यात्रा उधो बगाएको सामान उभो खोज्न गएजस्तो रहेछ । मानिसले धनसम्पत्तिले खुसी दिन्छ भनेर धनसम्पत्ति आर्जन गर्न यत्तिसम्म हर्कत ग¥यो कि आफ्नो प्रतिष्ठा र इज्जत बेचेर खुसी खोज्नतिर लाग्यो । यसरी त खुसी पाउन त सम्भवै भएन बरु भएकै खुसी समेत भाग्दै र हराउदै गयो । बरु पैसा कमाउनका लागि होइन कि इज्जत र प्रतिष्ठा कमाउनका लागि पैसा खर्च गर्नेहरूलाई खुसी मिल्दोरहेछ । मूलतः खुसी हुनका लागि एउटा अचूक ओखती भनेको सकारात्मक सोच हो । संसारमा हुने हरेक विषयवस्तु र घटनाका पछाडि केही न केही सकारात्मक पक्षहरू पनि रहेका हुन्छन् ।

उक्त सकारात्मक पक्षको पहिचान गरेर त्यसलाई आत्मसात गर्न सक्नुपर्दछ । सकारात्मक भएर सोच्ने हो भने बिहान उठ्ने वित्तिकै पनि खुसी मनाउने विषयहरू भेटिन्छन् । अरु केही नभए पनि हरेक दिन यो डेढलाख भन्दा बढि मानिसहरूको मृत्यु भइरहेको हुन्छ । आफू र आफ्नो परिवारका सदस्यहरू त्यो ब्ल्याकलिष्ट भित्र परिएन भनेर पनि एकाबिहानै हर्षोल्लास मनाउन सकिन्छ । निष्कर्षमा भन्नुपर्दा, भोली आउँदै गरेको अन्तर्राष्ट्रिय खुसी दिवस मनाउका लागि सबैभन्दा ठूलो कुरा मनको दैलोमा खुसीलाई स्वागत गर्नका लागि सकारात्मक सोचरुपि रिसिप्सन कक्षको स्थापना गर्नु आवश्यक छ । यत्ति भए खुसीको खगोलमा जति पनि सयर गर्नलाई मानिससँग खुसी हुने सामथ्र्यको विकास गर्न सकिन्छ । अन्यथा खुम्चिदै गएको खुसीको खगोलमा जति प्रयत्न गरेर आर्थिकस्तर उकासे पनि हाम्रो खुसी भने खुम्चिदै जाने कुरामा सन्देह देखिदैन । यस्तो कसैको नहोस् । बरु जता गएपनि खुसी भेटिदै जाओस् । यस्तो हओस् कि हरेक पुरुषका निम्ति हरदिन भेटनका लागि पर्खिबसेकी प्रेमिका जस्तै बनोस् खुसी र हरेक नारीको निम्ति पनि त्यसरी नै भेट्नका लागि पर्खिबसेको प्रेमी बनोस् खुसी । सबैलाई अन्तर्राष्ट्रिय खुसी दिवसको उपलक्ष्यमा यो पङ्क्तिकारको यही शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार