जग्गा विवादमा महिलाको हत्या, घरमा आगजनी



कोहलपुर (बाँके) ।

बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ छमनियामा एक महिलाको हत्या भएको छ । मंगलबार बिहान १० बजेतिर हँसिया प्रहारबाट ती महिलाको हत्या भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका अनुसार मारिनेमा छमनियाकी ५५ वर्षीया भगवनी थारू रहेकी छन्। प्रहरी निरीक्षक तथा सूचना अधिकारी रामनारायण गुप्ताले हँसिया प्रहार भएकी थारूको घटनास्थलमै मृत्यु भएको बताए ।

उनका अनुसार हँसिया प्रहरी गरी महिलाको हत्या गर्ने सोही ठाउँका ५५ वर्षीय सिताराम थारू रहेका छन् । थारूले नै मृतक भगवनीका छोरा ३५ वर्षीय अर्जुन थारूलाई समेत हँसिया प्रहार गरेर गम्भीर घाइते बनाएका छन् । टाउकोमा गम्भीर चोट लागेका अर्जुनको अहिले उपचार भइरहेको छ । त्यतिमात्रै होइन मृतक भगवनीको घरमा उनले आगजनी गरिदिएका छन् ।

आगजनीबाट घरमा पूर्ण रूपमा क्षति पुगेको छ । घरमा भएका लत्ताकपडा, अन्न तथा जिन्सी जलेर पूर्ण रूपमा नष्ट भएका छन् । ‘घटना मंगलबार बिहान ११ बजेतिरको हो । जग्गा विवादका कारण दुःखद् घटना भएको देखिन्छ । प्रहरी घटनास्थलसम्म पुग्दा महिलाको मृत्यु भइसकेको थियो । घटनापछि छिमेकी र प्रहरी मिलेर पीडकलाई पक्राउ गरिएको छ । म्याद थप भएर अनुसन्धान सुरु भइसकेको छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

कोहलपुर प्रहरीका अनुसार जग्गा विवादका कारण यस्तो दुःखद् घटना निम्तिएको हो । खासमा मृतक भगवनी र सिताराम छिमेकी हुन् । उनीहरूबीच केही समयदेखि घर नजिकै रहेको जग्गा प्रयोगको विषयमा विवाद हुँदै आएको थियो । प्रहरी निरीक्षक गुप्ताले उक्त जग्गा दुवैजनाको नभएको बताए । मृतक भगवनीको परिवारले अर्कैको खेत प्रयोग गर्दै आइरहेका थिए । उक्त खेतमा भगवनीको परिवारले मसुरो लगाएका थिए ।

उक्त खेतको रेखदेखसमेत उनको परिवारले गर्दै आएको थियो । घटना हुनुपूर्व भवगनी घरमै थिइन् । उनका श्रीमान् र छोरा मसुरो लगाएको खेतमा गोडमेलका लागि गएका थिए । त्यहीबेला बिहान ९ः३० बजेतिर सिताराम भगवनीको घरमा पुगेका थिए । उक्त खेत आफूले पनि प्रयोग गर्न पाउनुपर्ने सितारामको अडान थियो ।

सो विषयको विवादले उग्ररुप लिएपछि एक्कासि सितारामले ती महिलालाई हँसिया प्रहार गरेको स्थानीयले बताएको गुप्ताको भनाइ छ । एक्कासि हँसिया प्रहार भएपछि महिला घरबाट भागिन् । भाग्दाभाग्दै रगताम्य भएकी उनको घर नजिकैको खेतमै निधन भयो । यता, सितारामले उनको घरमै आगजनी गरिदिए ।

भगवनीमाथि हँसिया प्रहार हुनुका साथै घरमा आगजनी गरेपछि छिमेकमा के भयो भन्दै हल्ला फैलियो । उक्त कुरा थाहा पाएपछि मसुरो लगाएको खेतमा रहेका महिलाका श्रीमान् र छोरा दौडिँदै घर आए । बाटोमा आउने क्रममा अर्जुनमाथि पनि हँसिया प्रहार भएकोे प्रहरी निरीक्षक गुप्ताले बताए । हँसिया प्रहारबाट ३५ वर्षीय अर्जुन पनि घाइते भएका छन् । सामान्य विवादले चरम रुप लिएपछि यतिबेला छमनिया स्तब्ध बनेको छ । महिलाको हत्या गर्ने सितारामलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार