कोहलपुर प्राइड लिग सुरुः युनाइटेड भिजन र कोहलपुर स्पोर्टस्को विजयी सुरुवात



 कोहलपुर  । 

बाँकेको कोहलपुरमा क्याम्पा कोहलपुर प्राइड लिग २०८२ सुरु भएको छ । कोहलपुर स्पोर्टस् एकेडेमीको आयोजनाको नेपाल क्रिकेट संघद्धारा मान्यताप्राप्त कोहलपुर प्राइड लिग सुरु भएको हो । लिगको बिहीबार एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले उद्घाटन गरे । लिग उद्घाटन सत्रमा बोल्दै सचिव खड्काले कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता कोहलपुरमा सञ्चालन हुनु सुःखद पक्ष रहेको बताए ।

कोहलपुर क्रिकेटको इतिहास बोकेको ठाउँ रहेकाले क्रिकेट प्रतियोगिताहरु निरन्तर सञ्चालन हुन आवश्यक रहेको उनले बताए । केही वर्षयता कोहलपुरलगायत बाँकेको क्रिकेट चलायमान हुँन नसकेको बताउँदै उनले आगमी दिनहरुमा यस्ता लिगले चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले राष्ट्रियस्तरका खेलाडीहरुको सहभागितामा हुने लिगहरुले स्थानीय खेलाडीहरुले आफ्नो क्षमता प्रस्फुटन गर्न पाउनुका साथै क्रिकेटको विकास हुने बताए ।

स्थानीयस्तरबाटै खेलाडीहरु उत्पादन मात्र नभइ समग्र कोहलपुरलाई खेलको माध्यमबाट चिनाउन मद्दत पुग्ने जानकारी दिए । स्थानीय सरकारले पनि खेलकुदलाई प्रथामिकता दिएको बताउँदै उनले कोहलपुर नगरपालिकाई धन्यवाद दिए । उनले अन्य स्थानीय तहहरुले क्षेत्रमा लगानी गर्ने तर, खेलकुद क्षेत्रमा लगानी गर्न हिचकिचाउने गरेको बताए ।

कोहलपुर क्रिकेट रंगशाला लगायतका भौतिक संरचनाको संरक्षण गर्नुका साथै निर्माणका लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । कोहलपुर प्राइड लिगको सफलताको शुभकामना दिँदै उनले लिगलाई निरन्तरता दिन सुझाव दिए । निर्वाचित भएलगातै कोहलपुर क्रिकेट रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलहरु सञ्चालन गर्ने इच्छा रहे पनि विविध कारणले सञ्चालन गर्न नसकिएको कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

कोहलपुर क्रिकेट रंगशालाको आफ्नै छुट्टै इतिहास र पहिचान रहेकाले प्रतियोगिता सञ्चालन हुँदा जाने सन्देश उत्तिकै महत्वपूर्ण रहेने उनको भनाइ थियो । तीन प्रदेशको केन्द्रबिन्दुमा रहेको कोहलपुर क्रिकेट रंगशालाको विकास गर्न सके खेलकुदको माध्यबाट फड्को मार्न सकिने बताए ।

भौतिक पूर्वधार र आर्थिकले मात्र नभई सहर चलायमान बनाउन सबै कुराहरु सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
कोहलपुरलाई चलायमान बनाउन र क्रिकेटको विकास गर्न कोहलपुर प्राइड लिगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए । कुनै पदमा रहे पनि नरहे पनि सधैँ प्रतियोगिता सञ्चालनको लागि सक्दो सहयोग पनि हुने उनले बताए ।

युनाइटेड भिजन र कोहलपुर स्पोर्टस्को विजयी सुरुवात

‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोर्टस् एकेडेमीले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिन बिहीबार कोहलपुर–११ स्थित कोहलपुर क्रिकेट रंगशालामा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटल्याण्ड स्कुल र कोहलपुर स्पोर्टस् एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।

पहिलो उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले टस जितेर ब्राइटल्याण्ड स्कुललाई बलिङको निम्तो दिएको थियो । सुरुवाती ब्याटिङ गरेको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । युनाइटेड भिजन क्रिकेट क्लबले दिएको १ सय ५६ रनको लक्ष्य पक्ष्याएको ब्राइटल्याण्ड स्कुलले १६.१ ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।

योसँगै युनाइटेड भिजन क्रिकेट क्लबले २२ रनले विजयी भएको हो । युनाइटेड भिजन क्रिकेट क्लबलाई विजयी गराउन महत्वपूर्ण ३ विकेट लिँदै सन्तोष यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै प्रतियोगिताको दोस्रो खेल कोहलपुर स्पोर्टस् एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । टस जितेको कोहलपुर स्पोर्टस् एकेडेमीले पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो ।

कोहलपुर स्पोर्टस् एकेडेमीले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । अर्जुन घर्तीले २७ बलमा ६५ रनर भिम सार्कीले ३७ बलसमा ५२ रनको अर्धशतक पारीको सहयोगमा कोहलपुर स्पोर्टस् एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई विसाल १ सय ९८ रनको लक्ष्य दिएको थियो ।

कोहलपुर स्पोर्र्टस् एकेडेमीले दिएको १ सय ९८ रनको विसाल लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमीले खराब सुरुवात गर्दै ७५ रनमा अलआउट भयो । निर्धारित १६.३ ओभरमा अलआउट हुँदै ७५ रन जोडेर १ सय २२ रनको हार ब्यहोर्नु प¥यो । टिमका लागि कुनै पनि ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् । हिमालयन क्रिकेट एकेडेमीका ब्याटरहरु कोहलपुर स्पोर्टस् एकेडेमीका बलरसामु निरीह बने ।

कोहलपुर स्पोर्टस् एकेडेमीलाई विजयी बनाउन महत्वपूर्ण ४ विकेट लिएका शिद्धान्तराज शाही ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख र द्वितीय हुने टिमले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कोहलपुर स्पोर्टस् एकेडेमीको आयोजना, कोहलपुर नगरपालिका संरक्षकत्व र बाँके जिल्ला क्रिकेट संघको समन्वयमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुनेछ ।

आज दुई खेल हुने

आज प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल ब्राइटल्याण्ड स्कुल र एसपीए धनगढी कलेजबीच प्रतिस्पर्धा हुने भएको छ । आज ८ बजेदेखि यी दुई टिमबीच प्रतिस्पर्धा हुने भएको हो । त्यस्तै दोस्रो खेल भने दिउँसो १२ बजेदेखि कोहलपुर स्पोर्टस् एकेडेमी र न्यू होराइजन स्पोर्टस् एकेडेमीबीच प्रतिस्पर्धा हुने छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार