‘अपराह्नपछि भने जेनजी समूहको उपस्थिति देखियो । उनीहरूमध्ये कोही भने पहिलोपटक मतदानमा सरिक हुँदै थिए । अनुहारमा न त कुनै उत्साह देखिन्थ्यो न त कुनै निराशा नै । मध्यम प्रकृतिको शालीन संवेगमा जेनजी समूहका मतदाताहरू मताधिकार प्रयोग गरिरहेका देखिन्थे ।’
प्रभात सुवेदी
यसपटकसहित गणतन्त्रको स्थापनापछि सातौँपटक निर्वाचन कर्मचारीका रुपमा सहभागी भएँ । २०६४ देखि सहायक मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरेर विसं २०७३ सालमा श्रेणी वृद्धि भएपछि लगातार तीनपटक मतदान अधिकृतका रुपमा कार्यसम्पादन गरियो । त्यसपछि अर्थात् २०७९ र अहिलेको निर्वाचनहरूमा भने सहायक मतदान अधिकृतकै रुपमा खटाइयो । राज्यले खटाएपछि काम गर्नु नै पर्छ । संविधानतः राज्यको नागरिक अझ राष्ट्रको सेवकका नाताले नकार्ने कुरा भएन भनी राज्यले खटनपटन गरेअनुसार नै कार्यसम्पादन गरियो । गत निर्वाचनमा भन्दा यसपटकको खटनपटनमा शिक्षकहरूबाट मर्यादामा आँच पुगेको, सम्मानजनक जिम्मेवारी नदिइएको तथा कर्मचारी र शिक्षकका बीचमा विभेद गरिएको गुनासोका आवाजहरू आए । केही शिक्षकहरुले आत्मसम्मानमा ठेस पुगेको भनी निर्वाचनमा खट्न नसक्ने भनेर व्यक्तिगत तथा साङ्गठनिक रुपमै विज्ञप्तिहरू प्रकाशन गरेका थिए । अधिकांश शिक्षकहरूले कार्यसम्पादन गरेको पाइयो । बर्दिया जिल्लामा भने यसपटक इतिहासमा नभएको खटनपटन भयो अर्थात् कुनै पनि शिक्षकहरुलाई मतदान अधिकृतका रुपमा खटाइएको थिएन । अब लागौँ फागुन २१ अर्थात् मतदानको दिनतर्फ । म खटिएको बर्दिया जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत राजपुर नगरपालिकाको वडा नं. १० मा पर्ने श्री चन्द्रोदय आधारभूत विद्यालय थियो । जहाँ ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्रहरू रहेका थिए ।
म भने ‘क’ केन्द्रको सहायक मतदान अधिकृतका रुपमा खटिएको थिएँ । १८ गते निर्वाचन कार्यालय राजापुरमा पुगेर नियुक्तिपत्रसहित निर्वाचनका सामग्रीहरू बुझियो । १८ गते नै मतदानस्थल तोकिएको, मदिरा निषेधित क्षेत्र, हातहतियार निषेधित लगायतका अनुसूचिहरू टाँस्ने काम गरियो । भोलिपल्ट तराईमा होली पर्व भएकाले बिहानै मतदानस्थलमा पुगेर सर्वदलीय, सर्वपक्षीय वैठक गरी मतदानलाई निष्पक्ष र शान्तिपूर्ण बनाउने कार्यमा सबैले सहयोग गर्नेलगायत विभिन्न प्राविधिक समस्याहरूका बारेमा आवश्यक निर्णयहरू गरियो । दलका प्रतिनिधिहरूका लागि आवश्यक कागजात २० गते दिउँसोसम्म दिनका लागि अनुरोध गरियो । तत्पश्चात हामी मतदान केन्द्र निर्माणको कार्यमा जुट्यौँ । बुथ निर्माणका लागि आवश्यक सरसामानहरू जुटाएर निर्वाचन प्रहरी र हामी सबै मिलेर बुथ निर्माणको कार्य सम्पन्न गरी अन्य साजसज्जाको काम भने २१ गते बिहानका लागि छाड्यौँ । २१ गते सबेरै उठेर आवश्यक तयारीमा जुट्यौँ । महिला, पुरुष, फरक क्षमताका व्यक्तिहरु, भित्र, बाहिर सबै कार्डहरू टाँस्ने, छेकाबारा लगाउने, कर्मचारीहरूको स्थान, मतदान प्रतिनिधीहरू बस्ने स्थान आदिको निश्चित गरेर हामीले सोअनुसार तयारीमा रह्यौँ । मैले भने सम्पूर्ण मुचुल्काहरूमा भर्नुपर्ने कुराहरू अघिल्लो दिनमा नै भरिसकेको थिएँ । सवा ६ बजेदेखि नै प्रतिनिधिहरूको रोहवरमा कार्य प्रारम्भ गरी हस्ताक्षर गराउँदै अगाडि बढेँ । साढे ६ बजेतिर मतपेटिकालाई सिल लगाइयो र मतपत्रको प्याकेट खोलेर हस्ताक्षरका लागि अधिकृतलाई दिई म भने सबै कर्मचारी तथा सुरक्षाका साथीहरूलाई तयारीमा रहन जानकारी गराई मतदान कार्य प्रारम्भ गर्न तयारी अवस्थामा बसेँ ।
ठिक ७ बजे मतदान कार्य प्रारम्भ गर्न खोज्दा बुथमा एकजना पनि मतदाता नदेखेपछि एकछिन त हामी सबै अलमल प¥यौँ । यसअघिका निर्वाचनमा ६ नबज्दै त्योभन्दा पनि अगावै आएर मतदाताहरूको लामो लाइन बनिसकेको हुन्थ्यो अनि बुथमा उपस्थितमध्ये सबैभन्दा ज्येष्ठ नागरिकहरू मध्येबाट नै मतदान कार्यको उद्घाटन गर्न लगाइन्थ्यो तर यसपटक ज्येष्ठ नागरिक त के कोही पनि नागरिक मतदान गर्न उपस्थित नभएकोले एकछिन दङ्गदास परियो । मैले ठट्यौली पारामा प्रतिनिधिहरूलाई सोधेँ, ‘हैन, मतदाताहरूलाई बोलाउनुभएको छैन कि कसो ?’ यसरी सोध्ने आँट आउनुमा केही प्रतिनिधिहरु पूर्वपरिचित हुनुहुन्थ्यो भने केही त आफ्नै विद्यार्थीहरू । करिब १० मिनेटपछि मात्र एकजना ४५ वर्ष हाराहारीका वयस्क पुरुष मतदानका लागि आउनुभयो र उहाँबाट नै मतदानको कार्य प्रारम्भ गरायौँ । त्यसको करिब १५÷२० मिनेटसम्म अर्थात् साढे सातपछि मात्र मतदाताहरूको उपस्थिति फाट्टफुट्ट हुनथाल्यो । यसअघिका निर्वाचनहरूमा हामीलाई भ्याइनभ्याइ हुने गथ्र्यो भने यसपालिको निर्वाचनमा कुनै हतारो गर्नै परेन । अत्यन्तै सहजताका साथ, शान्तपूर्वक, शालीन ढङ्गबाट मतदान कार्य अगाडि बढिरह्यो । मतदानका लागि बढीमा २ देखि ३ जनाको मात्रै लाइन बनेको थियो । तै पनि मतदाताहरूले वाक्कदिक्क लाग्नेगरी लाइनमा बस्नु परेको भने थिएन ।
बिहानको समयमा आउने अधिकांश मतदाताहरू भने ५० वर्षभन्दा कम उमेरका हुनुहुन्थ्यो भने मध्याह्नपछि आउने मतदाताहरू भने ज्येष्ठ नागरिकहरू हुनुहुन्थ्यो । यसको कारण भने खाना खाएर खानुपर्ने औषधिहरू खाएर ज्येष्ठ बुबाआमाहरू आउनुभएको थियो भन्ने हाम्रो अनुमान रह्यो । अपराह्नपछि भने जेनजी समूहको उपस्थिति देखियो । उनीहरूमध्ये कोही भने पहिलोपटक मतदानमा सरिक हुँदै थिए । अनुहारमा न त कुनै उत्साह देखिन्थ्यो न त कुनै निराशा नै । मध्यम प्रकृतिको शालीन संवेगमा जेनजी समूहका मतदाताहरू मताधिकार प्रयोग गरिरहेको देखिन्थे । खासै भिडभाड पनि थिएन । केन्द्र ‘क’मा रहेका जम्मा ६७२ मतदाताहरूमध्ये ४२१ जनाले मतदान गरेका थिए भने कर्मचारीहरूमध्ये समानुपातिक लिस्टमा १ जना निर्वाचन प्रहरी र ७ जना कर्मचारीहरूको मात्र नाम भएकोले जम्मा ८ जनाले मतदान ग¥यौँ । धेरैको नामावलीमा नाम नभएका कारणले गर्दा मताधिकारबाट वञ्चित हुनु प¥यो । अझ सशस्त्र प्रहरीका केही जवानहरू मतदान कार्य सम्पन्न भई मुचुल्का तथा विवरणहरू तयारी गरिसकेपछि मात्र आउनु भई हाम्रो नाम यहीँ छ, भोट हाल्न पाउनु प¥यो भनेर भन्नुभएको थियो । हामीले अब त मिल्दैन भनेपछि उहाँहरु जानुभयो । मतदानमा सरिक सबै मतदाताहरू यसपालि भने शान्त र शालीन देखिन्थे । कुनै आवाज पनि सुनिदैनथ्यो । चुपचाप आएर मत सङ्केत गर्दै बाहिरिएका थिए ।
यदाकदा मतदाता शिक्षा अझै प्रभावकारी नभएको पाइयो । कोही कोहीले भने मतपत्रमा ए… ए … भन्दाभन्दै औँलाको ल्याप्चे लगाइहालेको समेत पाइयो । हामीले थाहा पाएसम्म पहिलो मतपत्रमा त्यसो भए पनि दोस्रोमा भने सुधार गर्न लगायौँ । कतिपयलाई दुईवटा मतपत्र हुने कुराबारे थाहा नै रहेनछ । जे होस् पछि भने केही सहज हुँदै गएपछि खासै समस्या देखिएन । निर्वाचनमा मतदाताहरू मौन थिए । यो मौनताले भने केही सङ्केत गरिरहेको जस्तो आभास हुन्थ्यो । जुन आभास साँच्चिकै निर्वाचनको मत परिणामले देखाएको छ । भूकम्प आउनुअघिको वातावरणीय अवस्थाजस्तै मतदाताहरूको मन मस्तिष्क रुपान्तिरित भएको पाइयो । यसरी विसं २०४६ र त्यसपछिको पार्टीका नेतृत्व र कार्यशैलीबाट असन्तुष्ट अनि रुष्ट बनेका जनताहरूले यसपालि भने आफ्नो मत परिवर्तन गरेर राम्रै सबक सिकाएका छन् । सामाजिक सञ्जालहरूमा ‘सधैँ नेताहरूले मात्रै गठबन्धन गर्ने यसपालिका त जनताहरूले पनि गठबन्धन गरेर देखाइदिए’ भन्ने अभिव्यक्तिहरू पनि चर्चामा आए । अबको राजनीति पहिलाकाजस्ता आमसभा, कोणसभामा खोक्रा भाषण चर्का नारा लगाउँदै दिएका आश्वासनले मात्रै सफल हुँदैन भन्ने कुरा वर्तमानले देखाएको छ । जनता फेरिइसकेका छन्, प्रविधिले धेरै अगाडि पु¥याएको छ । नेताहरूले यी कुराहरूलाई बुझ्न नसक्नु र प्रतिशोधको राजनीतिमा रुमल्लिइ रहनुको परिणतिले आजको अवस्थामा पु¥याएको हो भन्ने कुरा छर्लङ्ग भएको छ । यो परिस्थितिलाई अझ भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसबाट उत्पन्न विषम परिस्थितिले बढावा दिएको भने पक्कै हो ।
यसका साथै बालेनको उदय र रास्वपासँगको सहकार्य, विगतमा सरकार पक्षले रास्वपाका सभापति रवि लामिछानेलाई छानबिनका नाममा दिइएको दुःख, नेताहरूका भ्रष्टाचारदेखि काण्डैकाण्डका चाङहरु लगायतका विविध कारणहरूले गर्दा पनि यसपटक जनताले मत परिवर्तन गरिदिए । जसका कारण तीन दशकको राजनैतिक इतिहासलाई परास्त गरी तीन वर्षअघि मात्रै उदाएको पार्टी रास्वपाले छोटो समयमै कुनै प्रकारको हत्याको श्रृङ्खला तथा आन्दोलन नगरिकन डिजिटल प्लेटफर्मको प्रयोग गर्दै आमजनताको मनमनमा बस्न सफल भई पहिलो नम्बरको पार्टी बन्न सफल हुँदै १ सय २५ सिट प्रत्यक्षतिर हासिल गर्न सफलभएको छ भने समानुपातिकतर्फ पनि निकै लोकप्रिय मत प्राप्त गरिरहेका कारण सदनमा दुईतिहाइको सरकार बनाउन सक्ने जनादेश प्राप्त गरेको छ । यो ऐतिहासिक जनादेशलाई अवसर र चुनौतीका रुपमा लिएर पार्टीको आन्तरिक शुद्धीकरण तथा जुन वाचाका कारण लोकप्रिय मत प्राप्त भएको छ, ती वाचाहरूलाई पूरा गर्नु प्रमुख दायित्व र कर्तव्य रास्वपाको रहेको छ । यदि यो अवसरलाई रास्वपाका नेता तथा कार्यकर्ताले गुमाएर पुरानै प्रवृत्ति र चरित्र देखाउन थालेमा वर्तमानका जेनजीका भावी पुस्ताहरूले अझ भयानक विद्रोह निम्त्याउन सक्ने कुरालाई भने नकार्न भने सकिँदैन । बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा बन्ने सरकारले कुराभन्दा पनि काम गरेर नेपाली जनताको मन जित्न सफल रहोस् शुभकामना ।









प्रतिक्रिया दिनुहोस्