बाँकेबाट तेस्रोपटक सांसद बन्ने दोस्रो नेता राई



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँके क्षेत्र नम्बर २ बाट मोहम्मद इश्तियाक राई तेस्रोपटक संसदीय निर्वाचनबाट निर्वाचित भएका छन् । २०४८ सालयता बाँकेबाट तीनपटक संसदीय निर्वाचनबाट चुनिने नेतामा राई पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला पछि दोस्रो व्यक्ति हुन् । राईले यसअघि २०६४ सालको संविधानसभा र २०७२ सालको प्रतिनिधिसभामा पनि निर्वाचित भएका थिए ।

कोइराला २०४८, २०५६ को प्रतिनिधिसभा र २०७० सालको संविधानसभाको निर्वाचनमा गरी तीनपटक निर्वाचित भएका थिए । बाँकेबाट २०१५ सालयता नै सरकारको मन्त्री मण्डलमा सहभागी भएका नौ जनामध्ये एक रहेका राई तीनपटक मन्त्री भइसकेका छन् । मन्त्री हुँदा उनले केही योजनाहरुलाई दिएको गति नै यसपटक उनको चुनावी एजेण्डा थियो ।

उनले आफूले मन्त्री हुँदा बजेटको व्यवस्था गरेका योजनाहरुकै प्रचार उनले आफ्नो चुनावी अभियानका क्रममा गरेका थिए । मधेशकेन्द्रित एजेण्डामा आधारित राजनीतिबाट उदाएका राई यसपटकको निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन जनता समाजवादी पार्टीबाट एमालेमा प्रवेश गरेका थिए । त्यसबेला एमालेका साथै उनको पुरानो दल जनता समाजवादीका कार्यकर्ताहरुमाझबाट पनि असन्तुष्टि बाहिरिएको थियो ।

उनको पुरानो पार्टी जसपा नेपालका नेता एवं कुनैबेलाका सहकर्मी कमरुद्धिन राईले नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए । कमरुद्धिनले आफ्नो चुनावी प्रचारलाई राईको आलोचना गर्नेमै सीमित गरेका थिए । जसले यसपटक राईलाई प्राप्त हुनसक्ने धेरै मत कमरुद्धिनले काट्ने र त्यसले राईलाई जित निकाल्न कठिन हुने आकलन भइरहेको थियो ।

तर, यसपटक राई २०७९ सालमा हार ब्यहोर्दा पाएको मतभन्दा पनि बढी मत ल्याएर निर्वाचित भएका छन् । निर्वाचित भएपछिको विजय ¥यालीमा बोल्दै राईले बाँकेका जनताले विकास रोजेको दाबी गर्दै आफूलाई आलोचना गर्र्ने, धर्मको नाममा राजनीति गर्ने, विरासतको आधारमा राजनीति गर्ने र गलत प्रचार गर्नेहरुलाई नकारेको बताए ।

उनले विकासवादी नेताको रुपमा आफूलाई प्रचार गर्दा नेपालगन्जको सुर्खेत मुख्य सडकमा भएको अल्फाल्ट ओभरले, नेपालगन्ज गुलरिया हुलाकी सडक आयोजनामा बजेट छुट्याएको, हुलाकी सडकअन्तगर्त नेपालगन्ज बघौडा सडकखण्डमा पर्ने पुलहरुका लागि बजेट विनियोजन गरेको, डुडुवा क्षेत्रमा सडक तथा पुलमा बजेट छुट्याएको भन्दै बताउँदै आएका छन् ।

यसैगरी नेपालगन्जस्थित भेरी अस्पतालको नयाँ इन्डोर भवन निर्माणका लागि बजेट छुट्याएको नेपालगन्जमा हाइमास्ट बत्ती जडान, सडक ट्राफिक लाइट जडान, विभिन्न संघसंस्थाको विकासमा सहयोग गरेको लगायतका दाबी गर्ने गरेका छन् । उनका आलोचकहरु भने उनले नियमित रुपमा हुने विकासका कामहरुलाई पनि आफूले गरेको भनेर प्रचार गरेको, भौतिक निर्माणलाई नै विकासको रुपमा प्रचार गरिरहेको बताउँछन् भने त्यस्ता निर्माण योजनामा आर्थिक अनियमितता गरेको पनि आरोप लगाउँछन् ।

अर्काेतिर केही योजनाहरु अघि नबढेको भनेर समेत आलोचकहरुले उनलाई घेर्ने गरेका थिए । जुन आलोचनमा सबैभन्दा अघि उनकै पूर्वसहकर्मी कमरुद्धिन राई थिए । तर इश्तियाकलाई २४ हजार ६ सय २८ मत प्राप्त हुँदा कमरुद्धिनले जम्मा नौ सय ८ मत मात्रै पाएर जमानत पनि जोगाउन सकेनन् । अर्काेतिर राईले आफ्नो प्रतिस्पर्धीका रुपमा देखेको दल राप्रपा थियो ।

किनकी उनी २०७९ मा राप्रपाका महामन्त्रीसमेत रहेका डा. धवलशमशेर राणासँग पराजित भएका थिए । उनले राणाको नाम नलिइकन धर्मका आधारमा राजनीति गरेको र नेपालगन्जको सद्भावलाई खलबल्याउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन् । तर, राप्रपाका नेताहरु र आलोचकहरु उनले पनि बाहिर विकासका कुरा गरे पनि भित्र धार्मिक भावनाका आधार मत प्रभावित गर्ने गरेको र मुस्लिम समुदायको मतकै आधारमा उनले चुनाव जित्ने गरेको आरोप लगाउँछन् ।

यद्यपि यसपटक राप्रपाका राणाले चुनाव नलड्ने घोषणा गर्दै आफ्नो ठाउँमा पार्टीका सहायक सहमहामन्त्रीसमेत रहेका ऋषिराज देवकोटालाई अघि सारे । राणाले २९ हजार पाँच सय ७७ मत ल्याएकोमा देवकोटाले एक हजार सात सय २३ मतमात्रै ल्याएर पराजय व्यहोरे । यसको अर्थ राईले यसपटक मुस्लिम समुदायको मात्रै मत पाएर जितेका होइनन् । उनलाई धेरै हिन्दु मतदाताले पनि मत दिएका छन् ।

त्यसैलाई उनले धर्मको नाममा गरिएको राजनीति हारेको भनेका हुन् । राईले आफू जनप्रतिनिधि रहँदा कुनै पनि धार्मिक समुदायबीच टकरावका घटना नहुने गरेका दाबी गर्दै आफूलाई धार्मिक एजेण्डामा राजनीति नगर्ने नेताका रुपमा अथ्र्याउँदै आएका छन् । यसैगरी यसपटक उनका अर्का प्रतिस्पर्धी मानिएका थिए नेपाली काँग्रेसका सुधांशु कोइराला ।

जसलाई उनले विरासतमा राजनीति गर्नेहरु भन्ने टिप्पणी गरेका छन् । कोइराला पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भतिजा तथा काँग्रेसका नेताद्वय किरण कोइराला तथा स्वर्गीय अरुण कोइरालाका छोरा हुन् । उनी यसपटक तेस्रो स्थानमा रहेर १७ हजार पाँच सय ९६ मतमा सीमित भए । काँग्रेसको बलियो उम्मेदवार मानिएका कोइरालाले पनि जित निकाल्न नसकेपछि राईले विरासतको राजनीतिले पनि हारेको टिप्पणी गरेका हुन् ।

राईको निकटतम प्रतिस्पर्धी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठप्रति लक्षित उनले कुनैै टिप्पणी गरेका छैनन् । यद्यपि विवेकलाई अधिकांश विश्लेषकहरुले कमजोर आँकेकोमा उनले १८ हजार पाँच सय ८२ मत ल्याएका छन् । राईले आफूलाई यसपटक सामाजिक सञ्जालमा मिडियाका नाममा अनेक अफवाह फैलाएर बदनाम गर्न खोजिएको पनि आफ्ना विजयी ¥यालीका क्रममा बताए । उनले बाँकेका मतदाताले त्यस्ता अफवाहलाई पनि पराजित गरेको बताए ।

महत्वाकांक्षी वाचा पूरा गर्ने चुनौतीमा राई

मोहम्मद इश्तियाक राईले प्रायः निर्वाचनमा विशेषगरी भौतिक निर्माणका योजनालाई नै मुख्य एजेण्डाको रुपमा प्रस्तुत गर्ने गरेका छन् ।प्रतिनिधिसभा सदस्यको रुपमा नीतिगत सुधारका एजेण्डालाई भन्दा नियमित हुने विकासका काम र कार्यकारी पदमा पुगेपछि गर्न सकिने विकास निर्माणका योजनाजस्ता एजेण्डाहरु उनका प्रतिबद्धतापत्रमा समेटिएका छन् ।

उनले त्यस्ता वाचाहरु गर्नुका पछाडि सरकारमा मन्त्रीको बन्ने र त्यसबाट हुनसक्ने प्रभावका आधारमा विकासका योजनाहरुको वाचा गर्ने गरेको उनका आलोचकहरु बताउँछन् । तर, यसपटक उनीआबद्ध दल नेकपा एमालेको स्थिति हेर्दा निकै कमजोर हालत देखिएको छ । जसले गर्दा यसपटक उनले त्यही दलबाट मन्त्री बन्ने पाउनु असंभवजस्तै देखिन्छ ।

राई यसअघि दुईपटक निर्वाचित भएकोमा दुवै कार्यकालमा मन्त्री बनेका थिए । २०६४ सालमा निर्वाचित भएकोमा उनी २०६७ सालमा श्रम तथा यातायत व्यवस्थामन्त्री बनेका थिए । त्यसपछि २०७४ सालमा निर्वाचित भएका उनी २०७५ सालमा केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा सहरी विकासमन्त्री बनेका थिए भने २०७८ मा शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए ।

यसपटक उनलाई मन्त्री बन्न पाउने अवसर आउने संभावना निकै कम छ । तर उनले गरेका वाचाहरु कार्यकारीको पदमा रहेको व्यक्तिले मात्रै पूरा गर्न सक्ने खालका छन् । उनले यसपटकको आफ्नो चुनावी प्रतिबद्धतापत्रमा नेपालगन्जमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेदेखि नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि कुटनीतिक पहल गर्नेसम्मका योजना समेटेका छन् ।

उनले नेपालगन्ज चक्रपथको योजना अघि बढाउने, डुडुवामा बाढी र डुवान रोक्न तटबन्ध गर्ने, नेपालगन्जमा आकाशे पुल निर्माण गर्ने योजना प्रतिबद्धतापत्रमा समेटेका छन् । राईले नेपालगन्जमा रहेको एकीकृत भन्सार जाँचचौकी (आइसीपी)लाई सुख्खा बन्दरगाहका रुपमा विकास गर्ने, नौबस्ता ओैद्योगिक क्षेत्रलाई पाँच वर्षभित्र निर्माण पूरा गर्ने, विदेशबाट फर्किएकालाई उनीहरुको सीपअनुसार रोजगारी उपलब्ध गराउने दाबी गरेका छन् ।

नेपालगन्ज र डुडुवामा सरकारी विद्यालयमा सुविधासम्पन्न भवन र डिजिटल शिक्षण प्रणाली लागू गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई क्षेत्रीय विश्वविद्यालयको रुपमा विकास गर्ने पनि उल्लेख गरेका छन् । यसैगरी भेरी अस्पतालमा चिकित्सक र अन्य प्राविधिक जनशक्तिको दरबन्दी थप गर्ने, स्पेशियालिटी सेवा विस्तार गर्ने, स्वास्थ्य चौकीलाई आधुनिक सुविधायुक्त बनाउने पनि उनको दाबी छ ।

कृषकका लागि मदखाद, बीउ र सिँचाइसहित आधुनिक कृषि ओैजार तथा प्रविधिको पर्याप्त व्यवस्था सुनिश्चित गर्ने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै हुम्लाको हिल्सासम्म पर्यटन प्रवद्र्धन हेतु सडकमार्ग विस्तार पहल गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । यी योजनाहरु पूरा गर्न उनले कसरी स्रोतको व्यवस्थापन गर्छन् त्यसको खाका दिएका छैनन् ।

तर, महेन्द्र पुस्तकालयमा चुनावअघि भएको बहस कार्यक्रममा उनले सन्दर्भमा भनेका थिए, ‘विकासका लागि खल्तीबाट कसैले स्रोतको व्यवस्थापन गर्ने होइन । राज्यको ढुकुटीबाट गर्ने हो । त्यसका सांसदको रुपमा पहल गर्ने हो ।’ राईले चुनावी प्रचारमा बाँके २ ले ल्याकत भएको नेता खोजेको पनि बताएका थिए । अब उनले आफ्नो ल्याकत प्रमाणित गरेर आफ्ना योजनाहरु पूरा गर्नुपर्ने चुनौती उनका सामु छ ।

विशेषगरी क्रिकेट रंगशालाका लागि जग्गा नै उपलब्ध नरहेको ठाउँमा कसरी र कहाँ क्रिकेट रंगशाला निर्माण गर्छन् भन्ने प्रश्न उनका प्रतिस्पर्धीहरुले गर्दै आएका छन् । २०७९ को निर्वाचनमा पनि राप्रपाका डा. राणाले मल कारखाना स्थापना गर्न पहल गर्ने भनेर प्रतिबद्धतापत्रमा वाचा गरेका थिए । त्यही योजनालाई लिएर राणाले गरेको वाचा पूरा गर्न नसकेको भन्दै उनको चर्काे आलोचना हुने गरेको छ । आफ्ना वाचामा खरो नत्रिएकै कारण राणालाई यसपटक चुनाव जित्न असहज हुने अवस्था आएपछि उनले चुनाव नलड्ने निर्णय गरेको राईकै समर्थकहरुले बताउने गरेका छन् ।

‘दलबदलु’ बन्दै छ राईको छवी

मोहम्मद इश्तियाक राईको राजनीतिक यात्रा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुरु भएको हो । २०५३ सालमा राप्रपामा रहेका आफ्ना बुवाकै पदचाप पछ्याएर राजनीतिमा आएका राई विशेषगरी २०५६ सालबाट बढी सक्रिय हुन थालेका थिए । बिएस्सी पढ्न भारत गएका राई पढाइ अधुरै छोडेर २०५६ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका बुवालाई सांसदको चुनाव जिताउन सघाउन आए र त्यसपछि राजनीतिमै आफूलाई सक्रिय बनाएका थिए ।

राजनीतिसँगै आयातनिर्यातको व्यवसाय पनि सुरु गरेका राईको वास्तविक राजनीतिक उदय भने मधेश आन्दोलनले गराएको हो ।जनआन्दोलनसँगै उदाएको मधेशी जनअधिकार फोरममा आबद्ध भएका राई २०६३ सालमा अन्तरिम संविधानमै आफ्ना असन्तुष्टिहरु जाहेर गर्दै सुरु भएको मधेश आन्दोलनमा अगुवाइ गर्नेमध्ये एक भए ।

मधेश आन्दोलनको केन्द्र बनेको नेपालगन्जबाट आन्दोलनको अगुवाइ गरेका राई २०६४ सालमा फोरमका केन्द्रीय सदस्य र अवध क्षेत्रको इन्चार्ज बने । भर्खरै स्थापित हुँदै गरेको पार्टीभित्र राईको पदोन्नति पनि तीव्र रुपमा भयो । उनी २०६५ सालमै पार्टीको राजनीतिक समिति सदस्य र २०७४ सालमा केन्द्रीय सचिव बने ।

समयक्रमसँगै मधेशी दलभित्र फुट्ने र जुट्ने क्रम चलिरह्यो । राई अन्ततः मधेशकेन्द्रित दलका नेताहरु नै सम्मिलित र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा केन्द्रयीस्तरकै भूमिकामा रहे । २०८१ सालमा पार्टी फुटाएर उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको महासचिव थिए । तर, उक्त दलले आफूलाई राजनीतिक रुपमा स्थापित गराउन सकेको थिएन ।

मधेशका केही ठिक मुद्दाहरुको आड लागेर पटक–पटक सत्तामा पुगेको भन्दै मधेशका सबैजसो दल र तिनका नेताहरु अलोकप्रिय भइरहेका थिए । राईले त्यही बदलिँदो राजनीतिलाई बुझेर यस निर्वाचनको उम्मेदवारी दर्ताको अघिल्लो दिन एकाएक नेकपा एमालेबाट टिकट लिएर आए।

उनी एमालेमा प्रवेश गर्ने चर्चा राजनीतिक वृत्तमा अनुमान भइरहने गरे पनि एमालेबाट उम्मेदवारका लागि सिफारिस भइसकेका व्यक्तिहरु टिकटको आशमा बसिरहेका बेला एकाएक अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार बनाएर चक्मा दिएका थिए । मधेशमा भएका विभिन्न आन्दोलनमा सहभागीमाथि दमन गरेको र अपहेलना गरेको आरोप खेप्दै आएका ओलिबाट मधेश आन्दोलनकै एक नेताले उम्मेदवारीको टिकट लिनुलाई राईको पनि राजनीतिक नैतिकतासँग जोडेर हेर्न थालिएको छ ।

उनको पुरानो दल, एमालेभित्रै र उनका आलोचकहरुले उनलाई दलबदलु नेताका रुपमा आलोचना गर्न थालेका छन् । त्यो आलोचना चुनाव प्रचारका क्रममा चर्काे रुपमा भए पनि त्यसले राईको चुनावी अंकगणितलाई केही फरक पारेन । यद्यपि राजनीतिक रुपमा आगामी दिनमा पनि अडान देखाउन नसकेमा उनको ‘दलबदलु’ छवीले पनि उनको राजनीतिलाई संकटमा पार्नसक्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार