नन्दराम जैशी । सुर्खेत
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णालीमा १२ निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।
सार्वजनिक मतपरिणामअनुसार १२ निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेस ५ सिट जित्दै कर्णालीबाट प्रतिनिधिसभा संसद्मा प्रतिनिधित्व गर्ने पहिलो दल बनेको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले ४ सिट जितेको छ भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान १÷१ सिट जितेका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएका १२ निर्वाचन क्षेत्रमध्ये मुगु, हुम्ला, दैलेख–१, जाजरकोट र सुर्खेत–१ मा काँग्रेसले जित हात पारेको छ भने नेकपाले रुकुम पश्चिम, सल्यान, कालीकोट र डोल्पामा जितेको छ ।
यस्तै रास्वपाले सुर्खेत–२, राप्रपाले जुम्ला र एमालेले दैलेख–२ बाट खाता खोलेका छन् । उम्मेदवारहरुले प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्दै आफ्नो राजनीतिक यात्रामा अर्को उपलब्धि थपेका हुन् । यसरी विजयी भएका उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक जीवनमा नयाँ अध्याय थप्दै प्रतिनिधिसभामा कर्णालीको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।
विजयी भएका उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक यात्रामा नयाँ इतिहास पनि लेखाएका छन् । पहिलोपटक संसद् यात्रा तय गर्नेदेखि ह्याट्रिक जित निकाल्नेसम्मका उपलब्धिसहित उनीहरूले आ–आफ्नो क्षेत्रमा इतिहास रचेका हुन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा रमेशकुमार सापकोटा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै इतिहास रच्न सफल भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सापकोटाले प्रतिस्पर्धी काँग्रेस र एमाले उम्मेदवारहरूलाई पछि पार्दै संसद् यात्रा तय गरेका हुन् । यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट विष्णुबहादुर खड्का पनि पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार खड्काले निर्वाचन जितेसँगै आफ्नो राजनीतिक जीवनमा पहिलो संसदीय सफलता हासिल गरेका हुन् ।
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट बासनाकुमारी शाही विजयी भएकी छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी उनले पहिलोपटक प्रतिनिधिसभाको यात्रा तय गर्दै नयाँ इतिहास बनाएकी हुन् । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका हुन् । उनी यसअघि पनि प्रतिनिधिसभामा निर्वाचित उम्मेदवार हुन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा शून्य बनेको नेकपा एमालेले भने यसपटक कर्णालीबाट खाता खोलेको छ । यसैगरी, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटबाट आफ्नो राजनीतिक विरासत जोगाउन सफल भएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता शाही यसपटकको निर्वाचनमा विजयी भएसँगै प्रतिनिधिसभा सदस्यमा लगातार तेस्रोपटक निर्वाचित हुँदै ह्याट्रिक जित निकाल्न सफल भएका छन् ।
जाजरकोटमा खडकबहादुर बुढा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार बुढाले शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर इतिहास रचेका हुन् । यता, जुम्लाबाट ज्ञानबहादुर शाही विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता शाहीले दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्दै आफ्नो राजनीतिक यात्रामा अर्को उपलब्धि थपेका छन् ।
यस्तै, हुम्लाबाट काँग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन् भने मुगुमा काँग्रेस उम्मेदवार खड्ग शाही र सल्यानबाट नेकपा उम्मेदवार रमेशकुमार मल्ल निर्वाचित भएका छन् । उनीहरु पहिलोपटक संसदीय यात्रा सुरु गर्दैछन् । यता, डोल्पामा नेकपा उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् । उनी यसअघि पनि पटक पटक निर्वाचन जित्दै आएका छन् । यस्तै, रूकुम पश्चिममा जनार्दन शर्माको जितको यात्रामा ब्रेक लगाउँदै गोपाल शर्मा विजयी भएका छन् । जनार्दनले नेकपा एमालेसँग गठबन्धन गर्दा पनि नेकपाका गोपालले जित हासिल गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्