नन्दराम जैशी । सुर्खेत ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशका विभिन्न सात निर्वाचन क्षेत्रमा विजयी भएका उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक यात्रामा नयाँ कीर्तिमान कायम गरेका छन् । पहिलो पटक संसद् यात्रा तय गर्नेदेखि ह्याट्रिक जित निकाल्नेसम्मका उपलब्धिसहित उनीहरूले आ–आफ्नो क्षेत्रमा इतिहास रचेका हुन् ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा रमेशकुमार सापकोटा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै इतिहास रच्न सफल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सापकोटाले प्रतिस्पर्धी काँग्रेस र एमाले उम्मेदवारहरूलाई पछि पार्दै संसद् यात्रा तय गरेका हुन् । यस्तै सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट विष्णुबहादुर खड्का पनि पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार खड्काले निर्वाचन जितेसँगै आफ्नो राजनीतिक जीवनमा पहिलो संसदीय सफलता हासिल गरेका हुन् । दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट बासनाकुमारी शाही विजयी भएकी छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी उनले पहिलो पटक प्रतिनिधिसभाको यात्रा तय गर्दै नयाँ इतिहास बनाएकी हुन् ।
यसैगरी कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटबाट आफ्नो राजनीतिक विरासत जोगाउन सफल भएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता शाही यस पटकको निर्वाचनमा विजयी भएसँगै प्रतिनिधिसभा सदस्यमा लगातार तेस्रो पटक निर्वाचित हुँदै ह्याट्रिक जित निकाल्न सफल भएका छन् ।
जाजरकोटमा खडकबहादुर बुढा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार बुढाले शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर इतिहास रचेका हुन् । यता जुम्लाबाट ज्ञानबहादुर शाही विजयी भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता शाहीले दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्दै आफ्नो राजनीतिक यात्रामा अर्को उपलब्धि थपेका छन् । यसरी कर्णाली प्रदेशका सात निर्वाचन क्षेत्रमा विजयी भएका उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक जीवनमा नयाँ अध्याय थप्दै प्रतिनिधिसभामा कर्णालीको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।
सापकोटा फराकिलो मतान्तरले विजयी
सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेशकुमार सापकोटा विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार सापकोटाले ३० हजार ८२६ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायणकुमार कोइरालासँग उनी १४ हजार ४३४ मतान्तरले विजयी भएका हुन् ।
कोइरालाले १६ हजार ३९२ मत ल्याएका छन् भने नेकपा एमालेका कुलमणि देवकोटाले १३ हजार १५५ मत पाएका छन् । हालसम्म रास्वपाबाट कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्येमा निर्वाचित हुने सापकोटा एकमात्र उम्मेदवार हुन् । सल्यानबाहेक अन्य क्षेत्रमा रास्वपा दोस्रो स्थानमा समेत आएको छैन ।
यस्तै सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार ध्रुवबहादुर शाहीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । खड्का २६ हजार ८९७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार ८९० मत पाएका छन् ।
सुर्खेत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाले दुई हजार ८२८ मत ल्याएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठुकरीले एक हजार ४९ मत प्राप्त गरेका छन् ।
पहिलो प्रयासमै ‘बासना’को जित
४५ वर्षीया काँग्रेस नेतृ बासना थापा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । दैलेख निर्वाचन क्षेत्र–१ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी बासनाले पहिलो पटक प्रतिनिधिसभाको यात्रा तय गरेकी हुन् । शुक्रबार राति सम्पन्न मतगणनाअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पराजित गर्दै बासना विजयी भएकी हुन् ।
बासनाले १२ हजार ३७२ मत प्राप्त गर्दा शर्माले ११ हजार ७९६ मत पाए । यस्तै, तेस्रो स्थानमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ७ हजार ८९४ मत ल्याएका थिए भने नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले जम्मा ४ हजार १०९ मत मात्रै पाए । पुराना र अनुभवी नेताहरू रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापासँग प्रतिस्पर्धा गर्न बासनाका लागि यो चुनाव निकै चुनौतीपूर्ण थियो ।
त्यस्तै रास्वपाबाट उम्मेदवार बनेका बस्नेतसहित यी तीनै जना नेता कुनै बेला एमालेभित्रका सहकर्मी थिए । अहिले फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिँदा एमालेको मत विभाजित भएको हो, जसको प्रत्यक्ष फाइदा उठाउन काँग्रेस नेतृ बासना सफल भइन् । दैलेख सदरमुकामस्थित होटेल पार्किङकी सञ्चालकसमेत रहेकी बासना २०७४ सालमा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन् ।
तर त्यो बेला झिनो मतले उनी पराजित भइन् । नेविसंघको राजनीतिबाट उदाएकी उनी काठमाडौँमै जन्मेर हुर्केकी हुन् । नेपाली सिने जगत्की लोकप्रिय नायिका विपना थापाकी बहिनी उनी विवाहपश्चात् दैलेखमा सक्रिय राजनीतिमा क्रियाशील थिइन् । उनी दैलेख काँग्रेसभित्र चिनिएकी महिला नेतृ हुन् । विगतमा काँग्रेसले दैलेखमा गरेको विकासलाई नै आफ्नो चुनावी एजेन्डा बनाएकी उनले काँग्रेसको पुरानो विरासत फर्काउने दाबी गर्दै आएकी थिइन् । यो क्षेत्रको हालसम्मको विकासमा काँग्रेसको अग्रणी भूमिका पनि छ ।
अर्कोतर्फ, चुनावी मैदानमा एक मात्र महिला उम्मेदवार भएकाले पनि उनीप्रति सबैको सहानुभूति रहेको थियो । त्यसैमा पार्टीको बलियो संगठन नै उनको जितको मुख्य आधार बन्यो । यस्तै दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । उनी यसअघि पनि प्रतिनिधिसभामा निर्वाचित उम्मेदवार हुन् । पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिक्पालकुमार शाही ६ हजार ७९७ मतमा सीमित भएका छन् । रास्वपाका बखतबहादुर शाहीले भने ६ हजार ७९७ मत मात्रै ल्याएका छन् ।
प्रतिनिधिसभामा महेन्द्रबहादुरको ह्याट्रिक
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा नेता महेन्द्रबहादुर शाही कालीकोटमा आफ्नो विरासत जोगाउन सफल भएका छन् । यस पटकको निर्वाचनमा विजयी भएसँगै उनी प्रतिनिधिसभा सदस्यका लागि ह्याट्रिक जित निकाल्न सफल भएका छन् । तर उनको संसदीय यात्रा भने यो चौथो पटक हो । यसअघि २०७४ मा उनी कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका शाहीले कूल ११ हजार ३३८ मतसहित चुनाव जितेका हुन् । उनीसँग प्रतिस्पर्धामा आएका एमालेका नगीन्द्रबहादुर शाही ‘नेशनल’ले १० हजार ३५२ मत प्राप्त गरेका थिए । नगीन्द्रले ०७९ को चुनावमा पनि महेन्द्रसँग हारेका थिए । यस्तै काँग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाउँदा विप्लव नेतृत्वको माओवादीबाट उम्मेदवार बनेका महेन्द्रका पूर्वसहकर्मी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चौथोमा सीमित बनेका छन् ।
उनले ४ हजार ५९९ मत मात्रै पाए । आफूभन्दा जुनिएर नेतासँग प्रतिस्पर्धामै आउन नसकेर ‘प्रकाण्ड’को लज्जास्पद हार भएको हो । सधैँ जोखिमलाई जीतमा परिणत गर्ने नेताका रुपमा चिनिएका महेन्द्रबहादुर ०७९ को प्रतिनिधिसभा निर्वाचनमा २३ हजार ७२७ मत ल्याएर विजयी भएका थिए । त्यो बेला नगीन्द्र शाही (एमाले) १६ हजार ७१८ मत मा सीमित रहे ।
यस्तै ०७० को प्रतिनिधिसभा निर्वाचनमा महेन्द्रबहादुरले (माओवादीबाट) १० हजार ९८४ ल्याएर विजयी हुदाँ उनका प्रतिद्वन्द्वी भूपेन्द्रबहादुर शाहीले (काँग्रेस) ७ हजार ७५९ मत ल्याएका थिए । त्यो बेला पनि महेन्द्रबहादुरलाई चुनाव जित्न निकै जोखिम थियो । कालीकोटको शीर्षस्थ नेता मानिएका ‘प्रकाण्ड’ सांसद कार्यकाल नसकिँदै (०६९) तिर प्रचण्डसँग असन्तुष्टि जनाएर विप्लवसँगै मूल पार्टी छाडेका थिए ।
०६४ मा झन्डै २७ हजार मतसहित चुनाव जितेका ‘प्रकाण्ड’ जिल्लामा मात्र होइन समग्र कर्णालीमै ठूला नेता कहिलिएका थिए । माओवादी युद्धको एक आधारभूमि मानिने कालीकोटमा शीर्ष नेताले नै मूल पार्टी छाडेपछि कार्यकर्तामा अन्योल थियो, महेन्द्र त्यो बेलासम्म तत्कालीन जनमुक्ति सेना समायोजनमा चित्त नबुझाएर बसेका थिए । प्रचण्डले कालीकोटमा आधार क्षेत्र बचाउन भन्दै महेन्द्रलाई मूलधारको राजनीतिमा अघि बढाए ।
जनमुक्ति सेनामा हुँदा देशका ठूला मोर्चाहरू सफलतापूर्वक लडेका महेन्द्रको त्यसपछि मात्रै पार्टी राजनीतिमा यात्रा तय भयो ।
माओवादी फुटकै बीचबाट ०७० को दोस्रो संविधानसभा चुनाव जितेका महेन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्री बने । त्यही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्दै चर्चामा आए, त्यो पनि उनको निकै जोखिमपूर्ण काम थियो । ०७४ मा प्रदेशसभा झरेका उनी कर्णालीको मुख्यमन्त्री बनेका थिए । नेकपाभित्र कर्णालीका प्रभावशाली नेताका रूपमा उनी चिनिन्छन् ।
शक्तिलाई हराएर खडकबहादुरको कीर्तिमान
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै जाजरकोटमा नेपाली काँग्रेसका खडकबहादुर बुढा निर्वाचित भएका छन् । अघिल्ला दुई निर्वाचनमा संघीय संसद्मा प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्न नपाएको काँग्रेसले यसपटक जिल्लाबाट युवा नेता पाएको हो ।
चौथो पटक प्रतिनिधिसभा सदस्य जितको खोजीमा रहेका शक्तिको विजयी यात्रामा खडकले ब्रेक लगाएका छन् । बस्नेत यसअघि चारपटक मन्त्रीसमेत भइसकेका नेता हुन् ।
२०६४ सालमा समानुपातिक सांसद बनेका शक्ति बस्नेत त्यसयताका निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका थिए । यस पटक जाजरकोटबाट प्रमुख तीन दलको खास शक्ति परीक्षणको निर्वाचनका रूपमा थियो । किनभने २०७४ यता सबै दल एक्लाएक्लै चुनावमा होमिएका थिए । नेपाली कम्युनिस्ट पार्टीबाट बस्नेत उम्मेदवार बन्दा काँग्रेसबाट बुढा र एमालेबाट डम्बरबहादुर सिंह उम्मेदवार थिए । सिंह २०७० मा भएको संविधानसभा निर्वाचनमा बस्नेतसँग ५२० मतान्तरले पराजित भएका थिए ।
यसपटकको निर्वाचनमा देशभर रास्वपाको लहर हुँदा पनि जाजरकोटमा भने रास्वपा उम्मेदवारले जमानत जोगाउन सकेनन् । काँग्रेसका बुढाले २० हजार १८२ मत प्राप्त गर्दा दोस्रोमा रहेका नेकपामा बस्नेतले २० हजार १८२ मत ल्याए । तेस्रोमा रहेका एमालेका सिंहले १६ हजार ८८३ र रास्वपाका राघव कार्कीले २ हजार ४७१ मत मात्रै ल्याए ।
लगातार चौथो जितको खोजीमा रहेका नेकपा उम्मेदवार शक्ति बस्नेतको संसदीय यात्रामा ब्रेक लगाउने खडकबहादुर बुढा नेपाली काँग्रेस जाजरकोटका उपसभापति हुन् । सभापति बेदराज सिंह २०७९ को प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएपछि बुढाले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
१३औँ महाधिवेशनबाट नेपाली काँग्रेस जाजरकोटको जिल्ला सचिव भएका उनी २०७८ मा भएको १४औँ महाधिवेशनबाट उपसभापति निर्वाचित भएका थिए । २०४२ साल मंसिर २० गते जाजरकोटको शिवालय गाउँपालिका–९, नाहाडामा जन्मिएका बुढाले संसदीय चुनावमा पहिलो प्रयासमै जित निकालेका हुन् ।
ज्ञानबहादुरको दोस्रो ऐतिहासिक जित
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयीले प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक जित हासिल गरेका छन् । २०७९ सालमा निर्वाचित भएका शाही पुनः दोस्रो पटक पनि निर्वाचित भएका हुन् । शाही १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका छन् । शाहीका प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका हुन् ।
२०७९ मा २२ हजार ८१९ मत पाएका शाहीले दोस्रो पटक १४ हजार ८१६ मत प्राप्त गर्न सफल भएका हुन् । विगतमा प्रतिनिधिसभा सदस्य नदोहो¥याउने जुम्लाले यस पटक भने सांसदमा शाहीलाई दोहो¥याएको छ । जुम्लामा शाहीले इतिहास रचेका छन् । दुई पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजय प्राप्त गर्दै शाहीले इतिहास रचेका हुन् । जुम्लामा २०५६ देखि २०७९ सम्मको निर्वाचनमा एक पटक भन्दा कोही पनि सांसद दोहोरिएका छैनन् ।
नेपाली काँग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ७ हजार १४३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले ४२१ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीले ४००, प्रगतिशील लोकतान्त्रिक पार्टीले ११३, नेपाल जनता पार्टीले ४३, नेकपा माओवादीले ७० र स्वतन्त्र उम्मेदवार भक्त रावलले १४ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।
जुम्लाका ७१ हजार ७३९ मतदातामध्ये ४० हजार ८९७ मत खसेको थियो । जसमा महिलातर्फ २१ हजार १८५ र पुरूषतर्फ १९ हजार ७१२ मत खसेको छ । समानुपातिक ४१ हजार ६३१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लामा ५७ प्रतिशत मत खसेको हो । जुम्लामा एक हजार ७०५ मत बदर भएको छ ।









प्रतिक्रिया दिनुहोस्