नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निर्वाचन सुरक्षा व्यवस्थापन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार कार्यान्वयन भइरहेको छ । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित गरिएका छन् । यसका साथै निर्वाचन प्रहरीले पनि तीनवटै सुरक्षा निकायको व्यवस्थापनको काममा सघाउनेछन् ।
काठमाडौँ ।
भोलि बिहीबार हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । एक सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपेटिकालगायत सम्पूर्ण निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निर्वाचन सुरक्षा व्यवस्थापन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार कार्यान्वयन भइरहेको छ ।
सोही योजनाअनुसार सेनाले मतपत्र छपाइ केन्द्रको सुरक्षा तथा देशभरका निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गरिसकेको छ भने मतदान अवधिभर तेस्रो घेरामा रहेर सेनाले सुरक्षाको जिम्मेवारी सम्हाल्ने सेनाले जनाएको छ । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित गरिएका छन् । सेनाको तेस्रो घेरामा सेनाको सुरक्षा रहने व्यवस्था मिलाइएको छ । यसका साथै निवाचन प्रहरीले पनि तीनवटै सुरक्षा निकायको व्यवस्थापनको काममा सघाउनेछन् ।
मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा गणनास्थलसम्म पु¥याउन निर्वाचन अधिकृत र दलका प्रतिनिधिसहित सेनाको समन्वित टोली खटाइने व्यवस्था गरिएको सैनिक निर्देशनालयले जनाएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनकेन्द्रित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ । उनले सेनाले मतपत्र छपाइ सुरक्षाको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको पनि बताए ।
यसपटक सेनाले अधिकांश स्थानमा स्थल मार्गबाट मतपत्र ढुवानी गरेको हो । बस्नेतले आसन्न निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा निकाय परिचालित भएको स्पष्ट पारे । एकीकृत सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनका दौरान मतदान केन्द्र तथा मतगणना स्थलको सुरक्षा, हवाई गस्ती, शंकास्पद वस्तु निष्क्रिय पार्ने लगायतका कामको जिम्मेवारी पाएको छ ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि विशेष परिस्थितिबीच हुन गइरहेको निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न सरकारले एकीकृत सुरक्षा योजना लागू गरेको छ । खासगरी गएको भदौ २४ मा भएको हिंसा र तोडफोडका कारण प्रहरी र आमसर्वसाधारण त्रसित भइरहेको बेला कतिपयले तोकिएको मितिमा निर्वाचन हुन नसक्ने आंशका पनि गरेका थिए । तर परिस्थिति सम्हालिँदै गएपछि मुलुक निर्वाचनको सम्मुखमा पुगेको हो ।
नेपालजस्तै अझ भनौँ कम क्षति पुगेको बंगलादेशमा भने युवाको प्रदर्शनपछि निर्वाचन हुन करिब १८ महिना लागेको थियो । र, त्यहाँ केही साताअघि मात्र नयाँ सरकार बनेको छ । नेपालमा भने विद्रोको ६ महिनापछि नै निर्वाचन हुने माहोल तयार हुनुलाई राजनीतिक विश्लेषकहरूले सकारात्मक रूपमा लिएका छन् । राजनीतिक विश्लेषक तथा त्रिभुवन विश्व विद्यालयका राजनीतिक शास्त्रका प्राध्यापक राम आचार्य भदौ २४ मा भएको भयानक हिंसापछि ६ महिनामै शान्तिपूर्ण निर्वाचन हुने माहोल सिर्जना हुनु भनेको नेपाल संस्थागत रूपमा अघि बढ्न खोजेको संकेत हो भन्छन् ।
जगेडा फोर्स विस्तार
निर्वाचनमा हुनसक्ने झडप, मतपेटिका तोडफोडका प्रयास र संवेदनशील क्षेत्रको चुनौतीलाई मध्यनजर गर्दै सरकारले यसपटक सुरक्षा रणनीति थप सुदृढ बनाउने निर्णय गरेको छ । निर्वाचनलाई शान्त, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउने लक्ष्यसहित जगेडा सुरक्षा फोर्सको सङ्ख्या विस्तार गरिएको बताइएको छ ।
आपत्कालीन अवस्थामा चारवटै सुरक्षा निकायबाट जनशक्ति छिटो परिचालन गर्न सकिने गरी अतिरिक्त जगेडा फोर्स राख्ने निर्णय भएको हो । यस्तो फोर्सले निर्वाचन अवधिमा सम्भावित जोखिम, भीड व्यवस्थापन, संवेदनशील मतदान केन्द्रको सुरक्षा तथा आकस्मिक घटनाको सामना गर्नेछ ।
आयोगका अनुसार शान्तिपूर्ण निर्वाचनका लागि ८० हजार सेना, ७१ हजार नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र सहयोगीको रूपमा निर्वाचन प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटिएका छन् । यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकेको बताए । उनले निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई आह्वान गरे ।
४ हजार ११४ मतदान केन्द्र अतिसंवेदनशील
निर्वाचन आयोगले देशभरका चार हजार एक सय १४ मतदान केन्द्रलाई अतिसंवेदनशील स्थानको रूपमा राखेको छ । दुई हजार ८ सय ४५ मतदानस्थललाई सामान्य र चार हजार चार सय ४२ मतदानस्थललाई संवेदशील मतदानस्थलका रूपमा विश्लेषण गरेको छ । मधेश र बागमती (उपत्यकाबाहेक) प्रदेशमा अतिसंवेदनशील मतदानस्थलको सङ्ख्या तुलनात्मक रूपमा बढी छ । सिमाना सिल र मदिरा बिक्रीमा रोक
निर्वाचन अवधिमा नेपाल–भारत र नेपाल–चीन सिमाना ७२ घण्टाका लागि ‘सिल’ गरिएको छ । त्यस्तै मदिराजन्य पदार्थको बिक्री तथा ओसारपसारमा पनि रोक लगाइएको छ ।









प्रतिक्रिया दिनुहोस्