‘तत्काल संविधान संशोधन सम्भव छैन्’
शाहील अन्सारी
नेपालगन्ज, बाँके
यो संविधान भनेको सार्वभौमसत्ता र नेपाली जनताले बनाएको संविधान हो । झन्डै साढे ६ दशक लामो समयपछिको संघर्ष र बलिदानपश्चात् निर्माण भएको हो । संविधान भनेको देशको मूल कानुन पनि हो । अहिले मुलुक विषम परिस्थतिमा छ । जेनजी आन्दोलनपछि देशमा ठूलो परिवर्तन भएको छ । धेरै जना सहिद पनि भए ।
जेनजी आन्दोलन भएपश्चात् धारा ६१ प्रयोग गरेर प्रधानमन्त्री नियुक्तसमेत गरियो । अहिले संविधान संशोधनको कुराहरू पनि उठिरहेका छन् । अहिले न हामीसँग प्रतिनिधिसभा छ, न त दुईतिहाई नै छ । अहिले प्रतिनिधिसभा विघठन भएको समयमा संविधान संशोधन हुने सम्भव छैन् । तर, विभिन्न धारा र बुँदाहरू भने सच्याउनुपर्ने अवस्था आएको छ । संशोधनभन्दा पनि अहिले देशभमा सुशासन र भ्रष्टाचारमुक्त बनाउन आवश्यक छ ।
‘संविधानले जेनजीका आवश्यकता र सपना समेट्न सक्नुपर्छ’
तपेन्द्रप्रसाद खनाल
कोहलपुर, बाँके

संविधान भन्नाले कुनै पनि राष्ट्रको मूल कानुनलाई बुझिन्छ । यो एउटा यस्तो कानुनी दस्ताबेज हो, जसले राज्य सञ्चालन गर्ने आधार प्रदान गर्छ । संविधानमा राष्ट्रको राजनीतिक प्रणाली, सरकारको संरचना, कानुन बनाउने तरिका, नागरिकका हकअधिकार र कर्तव्य, राष्ट्रिय नीति आदिको स्पष्ट व्यवस्था गरिएको हुन्छ । आजको युग प्रविधि र ज्ञानको संसार हो ।
यस संसारलाई अगाडि बढाउने मुख्य शक्ति भनेको अहिलेको जेनजी पुस्ता हो । उनीहरू प्रविधिमा दक्ष, स्वतन्त्र सोच राख्ने, सामाजिक न्यायमा विश्वास गर्ने र भविष्य निर्माणमा सक्रिय पुस्ता हुन् । त्यसैले संविधानले उनीहरूको आवश्यकता र सपना समेट्न सक्नुपर्छ । पहिलो कुरा, डिजिटल अधिकार सुनिश्चित गर्न जरुरी छ । अहिले शिक्षा, व्यापार, सञ्चार सबै इन्टरनेटमा आधारित छन् । इन्टरनेट पहुँच, साइबर सुरक्षा र डिजिटल स्वतन्त्रतालाई संविधानमै अधिकारका रूपमा राख्दा युवा पुस्ता सुरक्षित र सक्षम हुन्छ ।
‘संविधान हाम्रो भविष्यको आधार हो’
सुभम देवकोटा
तुलसीपुर, दाङ

हामी जेनजीका लागि संविधान भनेको किताबमा लेखिएका कानुनी शब्द मात्र होइन, हाम्रो भविष्यको आधार हो । यसले अधिकार दिएको छ । समानताको सपना देखाएको छ र स्वतन्त्रताको वाचा गरेको छ । हामीलाई गर्व लाग्छ कि हाम्रो देशसँग संविधान छ । जुन संविधानले लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र अभिव्यक्ति स्वतन्त्रताको हक दिएको छ । तर कुरा त्यत्तिमै सीमित छैन ।
आज पनि धेरै ठाउँमा अधिकार व्यवहारमा उतारिएको छैन । युवाको आवाज अझै निर्णायक प्रक्रियामा प्रभावकारीरूपमा सुन्न सकिएको छैन । त्यसैले हाम्रो दृष्टिमा संविधान आशा र अधुरोपना बीचको कागज हो । हामीलाई लाग्छ यो जेन्जी पुस्ताले निरन्तर प्रश्न गर्न, खबरदारी गर्न र सुधारको माग गर्नुपर्नेछ । हाम्रो साझा चाहना भनेको संविधान केवल किताबमा सीमित नभई जीवनमै अनुभूत हुने जीवित दस्ताबेज बन्नुपर्ने हो ।
‘संविधानलाई जीवन्त बनाउन एकजुट हुनुपर्छ’
सिम्रन विश्वकर्मा
वीरेन्द्रनगर, सुर्खेत

नेपालको वर्तमान संविधानलाई विभिन्न दृष्टिकोणबाट मूल्याङ्कन गरिँदै आएको छ । एकातिर, यसलाई दशकौँ लामो संघर्ष, आन्दोलन र बलिदानको परिणामका रूपमा जनताले ऐतिहासिक उपलब्धि ठानेका छन् । संघीयता, गणतन्त्र, समावेशिता र मौलिक हकअधिकारलाई संस्थागत गरेको यस संविधानले नेपाली जनताका आकांक्षालाई कागजी मात्र होइन, व्यवहारमा उतार्ने आधार दिएको भन्दै धेरैले यसलाई सकारात्मक रूपमा हेर्ने गरेका छन् ।
तर अर्कोतर्फ, संविधान कार्यान्वयनमा देखिएका कमजोरी, राजनीतिक नेतृत्वबीचको अविश्वास, प्रदेश र केन्द्रबीचको अधिकार विवाद र नागरिकस्तरमा अझै पूरा हुन बाँकी अपेक्षाका कारण आलोचना पनि हुँदै आएको छ । विशेषगरी केही समुदाय र क्षेत्रीय पक्षहरूले आफ्नो माग पूर्णरूपमा सम्बोधन नभएको गुनासो राखिरहेका छन् । यसरी संविधानलाई उपलब्धिको दस्ताबेज र अपेक्षाको चुनौती दुवै रूपमा हेरिएको छ । अबको यात्रामा संविधानलाई जीवन्त बनाउन सबै दल, सरकार र नागरिक समाजको साझा प्रतिबद्धता आवश्यक रहेको देखिन्छ ।
‘वर्तमान संधिानको जगमा टेकेर अन्तरिम संविधान जारी गर्नुपर्छ’
प्रवेश दाहल
विराटनगर, मोरङ

अहिलेको अवस्थामा हेर्ने हो भने हामीले नेपालको वर्तमान संविधानलाई मान्दैनौँ भन्न मिल्दैन् । त्यसैले अहिलेको संविधानले देशलाई निकास पनि दिँदैन । यसकारण अन्तरिम संविधान जारी गनुपर्छ भन्ने मेरो बुझाइ हो । हामीले संविधान नमानेका होइनौँ । हामीले यो संविधानका सरकार गठन प्रक्रिया, विधि र पद्धतिलाई मात्रै नमानेका हौँ । मानेको भए यसरी आन्दोलन गरेर संसद् विघटन हुने पनि थिएन ।
त्यसैले तत्कालीन संविधानलाई तत्काल परिमार्जन गरिनुपर्छ । संविधानलाई संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन हुनुपर्छ । प्रदेश खारेजी गरिनुपर्छ । किनभने कसैले कर्णाली, कसैले कोशी भनेर विभाजित गराएको अवस्था छ । त्यसैले त्यसलाई खारेज गरेर अघि बढ्नुको विकल्प छैन् । तत्काल अहिलेको अन्तरिम सरकारले अन्तरिम संविधान जारी गर्नुपर्छ । किनभने अहिलेको संविधानले स्थिरता दिन सकेन ।
‘वर्तमान संविधान पूर्णरूपमा सक्षम छ’
विक्रम तिरुवा सलिन
तिला गाउँपालिका, जुम्ला

वर्तमान नेपालको संविधानलाई मेरो दृष्टिकोणबाट मैले सर्वश्रेष्ठ संविधानको रूपमा हेरेको छु । २०७२ असोज ३ गते अर्थात् आजैका दिन नेपालको संविधान जारी भएको थियो । यो संविधान जारी मात्र भएन यो संविधानसँगै आम नेपाली जनताहरूले पूर्णरूपमा संवैधानिक अधिकारसमेत पाए । जसले, जनताले पाउनुपर्ने संवैधानिक हकलाई मूलभूतरूपमा पूर्ण ग¥यो ।
नेपालको इतिहासमा यो संविधान आम जनताको निम्ति उत्तम र सर्वोच्चता बोकेको संविधान हो । नेपालमा कुनै न कुनै परिवर्तन आउनलाई रगत नबगाएको इतिहास सायदै कमै छ । यो संविधान जारी गर्नुभन्दा अघि नेपाली जनताले आफ्नो स्वतन्त्रताको निम्ति हकअधिकारको लागि लडेर ज्यानसमेत आहुती दिएको इतिहास ताजै छ । सोही सन्दर्भमा नेपालमा निकै लामो प्रयासमा पूर्णरूपमा नेपाली जनताको आवश्यकतालाई पूर्ण गर्ने उद्देश्यले जारी भएको संविधान हो ।
‘ऐतिहासिक परिवर्तनको माइलस्टोन हो’
अनिता नेपाली
चन्दननाथ नगरपालिका, जुम्ला

नेपालको संविधान नेपाली ऐतिहासिक परिवर्तनको माइलस्टोन हो । यसले नेपाली समाज र राष्ट्र सञ्चालनको सैद्धान्तिक मार्ग निर्देशन गरेको छ। विशेषगरी हाम्रो राजनीतिक कानुनी र प्रशासनिक संरचना निर्धारण गर्ने आधिकारिक दस्ताबेज पनि हो । संविधानले विशेषगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माण गरेको छ । सार्वभौमसत्ता जनतामा निहित रहने व्यवस्था गरेको छ । जो सबैभन्दा माथि जनता रहने कुरामा दुईमत छैन । यतिमात्र नभई संविधानले मौलिक अधिकारको सुनिश्चित गरेको छ ।
नागरिकका आधारभूत अधिकारहरू नेपालकै संविधान २०७२ को धारा १६ देखि ४८ सम्म उल्लेख गरिएका छन् । जसलाई हाम्रो संविधानको मुख्य मर्मका रूपमा लिन सकिन्छ । संविधानले धर्मनिरपेक्षता तथा समावेशीताको कुराहरूलाई तटस्थरूपमा कार्यान्वयन गर्नुपर्ने कुराको उल्लेख गरेको देखिन्छ । राज्य सञ्चालनका मुख्य अङ्गहरूमा सामान्य नागरिकहरूदेखि लिएर उच्चस्तरका सबैले समतामूलक सहभागी हुन पाउनुपर्ने कुराको व्यवस्था गरेको छ ।
‘वर्तमान संविधान बलियो र सक्षम छ’
भरत कठायत
मोहन्याल गाउँपालिका, कैलाली

नेपालको वर्तमान संविधानलाई मैले एक युवाको रूपमा अत्यन्तै प्रगतिशील र समावेशी मान्छु । हालको परिवर्तन आन्दोलनले यसलाई अझै बलियो बनाएको छ । किनभने अहिले बनेको अन्तरिम सरकार पनि यही संविधानअन्तर्गत बनेको हो । यो संविधानले युवा पिँढीका अधिकार, जिम्मेवारी र अवसरलाई अझै सशक्त बनाउने काम गरेको छ ।
म विश्वास गर्छु कि यो संविधानले समाजलाई समावेशी र न्यायपूर्ण दिशामा अगाडि बढाउन मद्दत गर्नेछ र युवालाई नेतृत्वले नयाँ उचाइमा पु¥याउने छ । संविधानले हामीलाई केवल अधिकार मात्र होइन, कर्तव्य र जिम्मेवारीको बोध पनि गराएको छ । त्यसैले हामी युवाले परिवर्तनलाई निरन्तरता दिँदै लोकतन्त्रको जग अझै मजबुत बनाउन नेतृत्व लिनुपर्छ । २०७२ सालमा जारी भएको वर्तमान संविधान बलियो र सक्षम छ । यो अहिलेको संविधानले सबै नागरिकलाई समान अधिकार र पहुँचको व्यवस्था गरेको छ ।
‘व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण’
सिर्जना थारू
कोहलपुर–१३, बाँके

नेपालको संविधान हाम्रो राष्ट्रको ऐतिहासिक उपलब्धि हो । जसले जनताको लामो संघर्ष, बलिदान र आशालाई मूर्तरूप दिएको छ । यसले संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समानताको आधारमा सबैलाई हकअधिकार सुनिश्चित गरेको छ । जुन युवाका लागि उज्ज्वल भविष्यको बाटो खोल्ने प्रेरणादायी आधार हो । विशेषगरी मौलिक हक, समान अवसर, शिक्षा र स्वास्थ्यजस्ता व्यवस्था हाम्रो पुस्ताका लागि ठूलो शक्तिको स्रोत बनेका छन् ।
तर, संविधानलाई अझ प्रभावकारी बनाउन केही सुधार आवश्यक छ । संविधानमा उल्लेख गरिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण छ । युवा सहभागिता, रोजगार सिर्जना, गुणस्तरीय शिक्षा र सामाजिक न्यायका क्षेत्रमा अझ मजबुत नीति र प्रतिबद्धता चाहिन्छ। भ्रष्टाचार, कार्यान्वयनमा ढिलासुस्ती र राजनीतिक अस्थिरताले संविधानको वास्तविक सार कमजोर बनाइरहेको छ । वर्तमान संविधान जनतामा निहित संविधान बनाइएको छ । यो कारणले यो संविधान पूर्णरूपमा समक्ष संविधान हो ।
‘आवश्यकताका आधारमा परिमार्जन गर्न जरुरी छ’
झरना विश्वकर्मा
कोहलपुर–३, बाँके

वर्तमान संविधान भनेको आम नेपाली जनतामा निहित अर्थात् सार्वभौमता भएको संविधान हो । यो संविधानलाई मेरो दृष्टिबाट उत्तम संविधानको रूपमा हेरेकी छु । यो संविधान अझै पनि देशको बदलिँदो परिस्थितिअनुसार हुनुपर्ने थुप्रै कुरा समेटिन बाँकी छ । तर भावी पुस्तामा यी सबै कुरा समेटेर संविधान केही मात्रामा भएपनि परिमार्जन गर्न मैले जरुरी देखेकी छु । वर्तमान नेपालको संविधान नेपालको इतिहासकै सर्वोत्कृष्ट आम नेपाली जनताको हकअधिकारको निम्ति बनेको उत्कृष्ट दस्ताबेज हो ।
दोस्रो, पर्यावरण संरक्षण र जलवायु अधिकार आजकै पुस्ताको प्रमुख माग हो । वातावरण प्रदूषण, ग्लोबल वार्मिङ, वन विनाश रोक्ने जिम्मेवारी संविधानमै बलियो बनाए जेनजी पुस्ताले भविष्य सुरक्षित पाउँछन् । तेस्रो, शिक्षा र सीप विकासलाई संविधानले अझ गहिरोरूपमा जोड दिनुपर्छ। आधुनिक सीप, प्राविधिक तालिम, उद्यमशीलता र अनुसन्धानलाई बल दिनसके युवा आफ्नै देशमै अवसर खोज्न सक्षम हुन्छन् ।
‘संविधान हाम्रो गौरव हो’
दिपेन्द्र खड्का
कोहलपुर–११, बाँके

वर्तमान संविधानलाई मैले एउटा ऐतिहासिक उपलब्धि र देशको मार्गचित्रका रूपमा लिएको छु । यसले जनताको अधिकारलाई सुनिश्चित गर्ने, समानता र सामाजिक न्यायलाई अगाडि बढाउने आधार तयार गरेको छ । लोकतान्त्रिक मूल्य र संघीय संरचनाको माध्यमबाट जनप्रतिनिधिलाई जनताको नजिक पु¥याउने काम संविधानले गरेको छ । तर यसको कार्यान्वयन प्रक्रिया भने अझै चुनौतीपूर्ण छ ।
धेरै ठाउँमा कानुनी व्यवस्था र व्यवहारबीच अन्तर देखिन्छ । नागरिकले पाउने सेवा, न्याय र विकास अझै कागजमै सीमित हुने अवस्था छ ।संविधानको पूर्णसफलताका लागि राज्यका सबै अंग जिम्मेवार र पारदर्शी हुन जरुरी छ । संविधानलाई केवल कानुनी दस्ताबेजका रूपमा होइन, जनजीवनमा प्रत्यक्ष लागु हुने प्रणालीका रूपमा कार्यान्वयन गर्नसके मात्र यसको सार्थकता हुनेछ । त्यसैले, संविधान हाम्रो गौरव हो तर यसको प्रभावकारी कार्यान्वयन नै हाम्रो प्रमुख जिम्मेवारी हो ।
‘वर्तमान संविधान व्यवहारमा असफल’
सुवाष रेग्मी
बढैयाताल–९, बर्दिया

नेपालको वर्तमान संविधानले प्रगतिशीलताको खोल ओढे पनि व्यवहारमा असफलताको छायाँ मात्र फैलाएको छ । समावेशीता, समानता र न्यायको नाममा अलंकार सजाइए पनि वास्तविकता कागजीभन्दा बाहिर आउन सकेको छैन् । संघीयता कार्यान्वयनमा स्पष्ट वित्तीय र कानुनी आधार नहुँदा स्थानीय शासन झन् कमजोर बनाइएको छ । नागरिकता, सीमान्तकृत समुदायको अधिकार र न्यायिक स्वतन्त्रता अझै प्रश्नचिह्न बनेको छ । यस संविधानले सत्तामा बस्ने नेताका लागि मात्र ढाल बनेर जनतालाई निराश बनाएको हो ।
राष्ट्रिय हित सुरक्षित गर्ने, स्थानीय तहलाई वित्तीय अधिकार दिने, नागरिकताको प्रश्न निष्पक्ष समाधान गर्ने र सुरक्षा संयन्त्रलाई निष्पक्ष जवाफदेही बनाउने संविधान मात्र देशको मुहार फेराउने आधार हा । आजको चुनौतीपूर्ण घडीमा नयाँ संविधान होइन, विद्यमान संविधानको कठोर पुनर्लेखन र कठोर कार्यान्वयन नै नेपाललाई सही बाटोमा डोहो¥याउने एक मात्र उपाय हो ।









 
								 
								 
								 
								 
											  
											  
											  
											  
											  
											 
प्रतिक्रिया दिनुहोस्