वीरेन्द्रनगर ।
नेकपा (एमाले)का केन्द्रीय प्रचार विभाग संयोजक मिनबहादुर शाहीले आगामी फागुन २१ को निर्वाचनमा एमालेले बहुमत ल्याएर एकल सरकार बनाउने दाबी गरेका छन् । शनिबार सुर्खेतमा प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहीले एमालेको ‘मिसन बहुमत’ सफल हुने दाबी गरेका हु्न ।
एमालेप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनावका लागि सरकार गम्भीर हुनुपर्नेमा उनको जोड छ ।
‘यस पटकको निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्नेछ । अनी बहुमतको सरकार बनाउने छ,’ उनले भने, ‘एमालेले देशका १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ । जेनजीको आन्दोलन र मुद्दामा एमालेको विमति छैन । तर त्यसको आडमा हिंसा मच्चाउने प्रवृत्तिको भने विरोध हो ।’
मतपेटिकाको सुरक्षाको जिम्मेवारी विगतकै अभ्यासअनुसार सुरक्षा निकायले नै वहन गर्नुपर्ने उनको धारणा छ । मतदातालाई कुनै पनि प्रभावमा नपरी आफ्नो विवेक प्रयोग गरेर मतदान गर्नसमेत उनले अनुरोध गरेका छन् । कर्णालीका जिल्लाहरूमा गठबन्धनबारे चलिरहेको हल्लाको खण्डन गर्दै उनले रूकुम पश्चिमबाहेक कर्णालीका अन्य कुनै पनि जिल्लामा एमालेले गठबन्धन नगरेको बताए ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट सर्वाधिक लोकप्रिय मतका साथ विजयी हुनेछन् । हालै बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्रीप्रति विश्वास नगरौँ,’ उनले थपे, ‘यस्ता निराधार हल्लाको पछि नलाग्न म आग्रह गर्दछु । निर्वाचनको मुखमा यस्ता सामग्री आउनुले मतदाताको मनोविज्ञान प्रभावित पार्न सक्छ ।’









प्रतिक्रिया दिनुहोस्