प्रतिनिधिसभा सदस्य निर्वाचनको तोकिएको मिति फागुन २१ आउन अब चार दिन मात्र बाँकी छ । निर्वाचन मिति जति नजिकिँदै छ, त्यति नै निर्वाचनको चहलपहल हिमाल, पहाड तराईका सहर तथा गाउँघरका टोलटोलमा तीव्र बनिरहेको छ । अहिले देश निर्वाचनमय बनिसकेको छ । हरेक राजनीतिक दल, दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू अहिले बिहानैदेखि साँझसम्म मतदाताका घरघरमा पुगेर मत माग्ने कार्य गरिरहेका छन् । आफू र आफ्नो राजनीतिक दललाई जिताउनका लागि उम्मदेवार र राजनीतिक दलहरूको तँछाडमछाड देखिन्छ । उम्मदेवारहरूलाई हरेक घरघरमा पुगेर मतदाताहरूलाई फकाउने, आश्वासन दिने तथा विश्वासमा लिने कार्यहरू गरिरहेका छन् । यतिसम्म कि केही केही उम्मेदवारहरूले त मतदाताका बारी खनिदिने, घरमा घरका कामहरू गरिदिने, खाना पकाइदिने लगायतका कार्य गर्नुका साथै मतदाताहरूलाई रिझाउनका लागि सँगसँगै नृत्य गर्ने लगायतका कार्यहरू गरेका पाइन्छ ।
मतदाताहरूले उम्मदेवारहरूसँग विभिन्न समस्याहरू देखाएर समाधान गर्न भनिरहेका छन् भने उम्मेदवारहरूले पनि मतदाताका समस्याहरू आफूले जितेर सांसद बनेपछि पूरा गर्ने प्रतिबद्धतासमेत जनाइरहेका छन् । मतदाताहरूले भूगोलअनुसारका आफ्ना माग र समस्याहरू उम्मेदवारसमक्ष राख्ने गरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अस्थायी बसोबासवाला नागरिकहरूले आफूले वर्षौँदेखि भोगचन गर्दै आइरहेका जग्गाजमिनको लालपुर्जाको माग गरेका छन् भने सडक नभएका ठाउँमा सडक, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारणजस्ता विभिन्न समस्याहरूको समाधान गर्ने उम्मेदवारहरूलाई आफूले मत दिने पनि बताइरहेका छन् । निर्वाचनका समयमा उम्मेदवारहरूले आफ्नो अनुकूल मतदातालाई ल्याउन लागि र मत प्राप्त गर्नका लागि विभिन्न झुटा आवश्वासनसमेत बाँड्ने गरेका पाइन्छन् । मतदाताहरूले हरेक निर्वाचनमा मत माग्न आउने उम्मेदवारहरूले विकास निकासका कुरा गर्ने तर आफूले जितेर माथि गइसकेपछि भने फर्केर नआउने, विकास निकासका त कुरै नगर्ने जस्ता आरोपहरू पनि लगाइरहेका पाइन्छन् । आम मतदाताले निर्वाचनका समयमा खोज्ने भनेकै आफ्नो नजिक रहेका र दैनिक कार्यसँग सरोकार राख्ने समस्याहरू समाधान गर्ने कार्य नै हो । मतदाताहरूका आफ्ना निजी माग र समस्याहरू हुँदैनन् र राख्दैनन् पनि उनीहरूका माग र समस्या भनेकै समाजमा रहेका सामान्य किसिमका समस्यालाई समाधान गरिदिनु भन्ने नै हो । उनीहरूका मागहरू कुनै ठूला हुँदैनन् र पूरै गर्न नसकिने किसिमका पनि हुँदैनन् । निर्वाचन जितेर जाने जनप्रतिनिधिहरूले जनचासोका कानुन निर्माण गर्ने तथा ति कानुनहरूलाई कार्यान्वयका लागि पहल गर्नु हो ।
तर हालसम्म अधिकांश निर्वाचन जितेर गएका जनप्रतिनिधिहरू जनसरोकार र जनचासोसँग जोडिएका कानुन निर्माणमा भन्दा पनि आफ्नो पद र सत्ताको दुरुपयोग गरी आफू र आफ्ना आसेपासेका निजी स्वार्थका लागि मात्रै काम गर्ने गरेकाले आम नागरिकहरू सन्तुष्ट हुन सकेका देखिँदैनन् । देशमा सुशासन कायम गर्ने र भ्रष्टाचार निर्मूल पार्ने अभियानसहित गत भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् आएको यो फरक किसिमको राजनीतिक परिवेशमा हुन लागेको निर्वाचनबाट चुनिने जनप्रतिनिधिबाट नागरिकले नयाँ आशा देखेका छन् । देशमा राजनीतिक स्थायित्व भएमा मात्र अन्य सम्पूर्ण कार्यहरू नियमित हुन सक्दछन् । तर हालसम्म भएका सत्ता जोगाउने र सत्ता कै लागि जे पनि गर्न तयार हुने किसिमका राजनीतिक गतिविधिका कारण आम नागरिकमा चरम निराशा छाएको थियो । तर यो भिन्न परिस्थितिमा हुन लागेको निर्वाचनपश्चात् भने नागरिकले आफ्नो समाज र देश विकास तथा परिवर्तनका लागि नयाँ उज्यालो किरणको आशा गरेका छन् । निर्वाचनमा भाग लिन भनेर अहिले भारतलगायत संसारका विभिन्न मुलुक अध्ययन तथा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरू धमाधम नेपाल फर्किरहेका छन् । निर्वाचनलाई सभ्य, सुरक्षित, भयरहित र निष्पक्ष ढंगबाट सफल बनाउनका लागि सरकार, निर्वाचन आयोग लगायतका सम्पूर्ण सरोकारवालाहरूको उत्तिकै जिम्मेवारी र भूमिका रहन्छ । सबैले आआफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्न आवश्यक छ । र, निर्वाचनपछि विजयी भएर सांसद बन्ने उम्मेदवारहरूले आम नागरिकले गरेका आशा र अपेक्षाअनुसार काम गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्