सुर्खेत ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रभावशाली नेता राजकुमार शर्माको प्रदेशसभा सदस्य पद यथावत् रहेको छ । नेपाली कम्युनिस्ट पार्टीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कर्णाली प्रदेशसभा सचिवालयले बुधबार एक सूचना जारी गर्दै उनको पद रिक्त भएको औपचारिक जानकारी दिएको थियो ।
तर सर्वोच्च अदालतले शर्मामाथिको कारबाहीमा ब्रेक लगाइदिएको छ । बिहीबार सर्वोच्च अदालतले शर्माको पक्षमा आदेश दिँदै सांसद पद यथावत् राखिदिएको हो । तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक पार्टीको पक्षमा खुलेको भन्दै कारबाही गरेको थियो । सोहीअनुसार प्रदेशसभा सचिवालयले पद खारेज गर्ने निर्णय गरेसँगै शर्मा सर्वोच्च गएका थिए ।
बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले अदालतले अन्तरिम आदेश जारी गर्दै सांसद पद यथावत् कायम राख्ने आदेश दिएको हो । इजलासको आदेशअनुसार अब शर्माको पद अन्तिम टुङ्गो नलागेसम्म पद कायम रहनेछ । यस सम्बन्धमा शर्माले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालय, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय समिति संयोजक पुष्पकमल दाहाल, नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा दलको कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो । यसअघि नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालय सुर्खेतले गत माघ २८ गते शर्मालाई पार्टीबाट निष्कासन गरिएको पत्र सचिवालयमा दर्ता गराएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१)बमोजिम उनलाई पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको हो । सचिवालयले जारी गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ३५ को उपदफा (१)बमोजिम यस्तो सूचना प्राप्त भएपछि सभामुखले १५ दिनभित्र सभालाई जानकारी गराउनुपर्ने प्रावधान छ ।
तर हाल कर्णाली प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकाले सभामुखको निर्देशनमा सचिवालयको सूचना पाटीमा यो जानकारी टाँस गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् । ऐनको व्यवस्थाअनुसार सभाको अधिवेशन सञ्चालनमा नरहेको अवस्थामा सूचना पाटीमा टाँस गरेपछि सो पद रिक्त भएको मानिन्छ ।
कर्णाली प्रदेशसभा नियमावली, २०५१ को नियम २ को खण्ड (म)को उपखण्ड (८)बमोजिम यो सूचना सार्वजनिक गरिएको हो । तर सर्वोच्चको आदेशले उक्त पद सथावत् राखिदिएको छ । यता पार्टीका केन्द्रीय सदस्य तथा संसदीय दलका सदस्यसमेत रहेका शर्मामाथि पार्टी अनुशासन र नीतिविपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको नेकपाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्