आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिएकामध्ये एक हजार एक सय ४३ जनाले कुनै दलबाट नभई स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । उक्त सङ्ख्या कूल उम्मेदवारको एकतिहाई हुन आउँछ । निर्वाचन आयोगका अनुसार देशभरि कूल ३,४०६ जनाले उम्मेदवारी दिँदा त्यसको ३३ दशमलव ५५ प्रतिशत उम्मेदवार स्वतन्त्र रहेका छन् । उम्मेदवारी दिनेमध्ये एक सय ५७ जना महिला उम्मेदवारहरू छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिएकामध्ये एक हजार एक सय ४३ जनाले कुनै दलबाट नभई स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । उक्त सङ्ख्या कूल उम्मेदवारको एकतिहाई हुन आउँछ । निर्वाचन आयोगका अनुसार देशभरि कूल ३,४०६ जनाले उम्मेदवारी दिँदा त्यसको ३३ दशमलव ५५ प्रतिशत उम्मेदवार स्वतन्त्र रहेका छन् । उम्मेदवारी दिनेमध्ये एक सय ५७ जना महिला उम्मेदवारहरू छन् ।
कूल ६८ दलले आफ्ना उम्मेदवारहरू खडा गर्दा ती कुनै दलमा आबद्ध नभई स्वतन्त्र उम्मेदवारी दिनेहरूको ठूलो सङ्ख्या अहिले पनि धेरै देखिएको छ र यो अघिल्लो प्रतिनिधिसभा सदस्यको निर्वाचन २०७९ बाट बढेको देखिन्छ । विशेषगरी २०७९ सालको निर्वाचनमा काठमाडौँ, धरान, कैलाली लगायतका सहरको नगरप्रमुखमा निर्वाचित उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएरै निर्वाचन जितेपछि स्वतन्त्र उम्मेदवारीका पक्षमा लहर आउन सुरु भएको थियो ।
सोही लहरको फाइदा उठाउँदै नामै स्वतन्त्र राखेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन भयो । स्वतन्त्र नामको पार्टी नै हुँदा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन २०७९ मा नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमध्ये पाँचजना मात्रै सांसदका रूपमा निर्वाचित पनि भएका थिए ।
चुनाव गराउन गठित सरकारमा शिक्षामन्त्री रहेका महावीर पुनले उम्मेदवारी दर्ताकै दिन राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिए ।
उनले उम्मेदवारी दिइसकेपछि पुराना सबै दलले काम नगरेपछि आफूले उम्मेदवारी दिएको बताएका थिए । उता काठमाडौँ–४ बाट स्वतन्त्र उम्मेदवारी दिएका ८७ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्यले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आफूले उम्मेदवारी दिएको बताएका थिए । बहुदलीय व्यवस्थामा निर्वाचनमा दलहरूको प्रतिनिधित्व हुने भए पनि २५ वर्ष उमेर पुगेको नागरिकलाई स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने अधिकार रहन्छ ।
१० हजार रूपैयाँ जमानत राखेर दर्ता गराउनुपर्ने उम्मेदवारीबाट धेरै उम्मेदवारहरूको जमानत नै जफत भएका विगतका निर्वाचनको नतिजाले देखाएको छ । यति हुँदाहुँदै पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएर नीति निर्माणको सर्वाेच्च थलो संसद्मा पुग्न चाहनेहरू कम नभएको देखिन्छ ।
दलीय संरचनाको वर्चस्व हुने निर्वाचन प्रणालीमा पनि स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिनेहरूमध्ये केहीले दलप्रतिको असन्तुष्टि र आफ्नो एजेण्डाहरू जनतामाझ प्रस्तुत गर्ने अवसरका रूपमा आफ्नो उम्मेदवारीलाई व्याख्या गर्ने गरेका छन् ।
केहीले दलहरूले जताततै राजनीतिकरण गरेकोले सुशासन कायम हुन नसकेको भन्दै स्वतन्त्र उम्मेदवारी दिनुपर्ने तर्क गर्दै आएका छन् । तर उम्मेदवारहरूले जे तर्क गरे पनि अधिकांश उम्मेदवारहरू अरु नै उद्देश्यका लागि निर्वाचनमा उम्मेदवार बन्ने गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् । राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेहरू तीनवटा कारणले प्रेरित हुने गरेका छन् ।
पहिलो कारण बलियो उम्मेदवारले राख्ने छद्म उम्मेदवार । दोस्रो, उम्मेदवारी र समर्थनका नाममा हुने बार्गेनिङ । र निकै कम उम्मेदवारहरू पार्टीभित्र अवसर नपाएका कारण पनि स्वतन्त्र उम्मेदवारी दिने गरेको उनी बताउँछन् । भूतपूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पनि नाम मात्रका लागि दिइएका डमी उम्मेदवारहरूले गर्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी हुने गरेको बताएका बिबिसीले उल्लेख गरेको छ ।
उनले भनेका छन्, ‘प्रोक्सी उम्मेदवार उठाउने अनि चुनावी प्रचारप्रसारका लागि त्यस्ता स्वतन्त्र उम्मेदवारले पाउने सुविधा दलका उम्मेदवारले प्रयोग गर्ने प्रवृत्ति पनि देखिन्छ ।’ राजनीतिक विश्लेषक पिटर पनि अधिकांश स्वतन्त्र उम्मेदवारहरू कुनै विशेष एजेण्डाका लागिभन्दा पनि दलकै उम्मेदवारले आफ्नो फाइदाका लागि उठाइने गरेका बताउँछन् ।
यस्ता उम्मेदवारबाट दुईतर्फ फाइदा लिने गरिएको उनको भनाइ छ । ‘एक त त्यस्ता उम्मेदवारले पाउने सुविधाको उपयोग गरेर आचारसंहिता छल्न पाइने भयो । अर्काे आवश्यकता हेरेर प्रतिस्पर्धीको मत काट्न सक्ने उम्मेदवार पनि खडा गर्ने गरिन्छ,’ पिटरले भने । वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य पनि पार्टीभित्र ठाउँ नपाएर वा असन्तुष्ट भएर उम्मेदवारहरू हुनेहरू केही सङ्ख्यामा रहे पनि कतिपय स्वतन्त्रको लहरबाट प्रभावित भएर र कतिपय उम्मेदवारीका नाममा आफ्नो पहिचान बनाउन खोज्नेहरू पनि हुने गरेका उनको भनाइ छ ।
उनले कतिपय अवस्थामा उम्मेदवारीकै आडमा बार्गेनिङ गर्न पनि पाइने भएर स्वतन्त्र उम्मेदवारी दिने गरिएको बताए । विश्लेषक पिटर भने स्वतन्त्रका नाममा मौलाइरहेको राजनीतिक प्रवृत्ति चिन्ताजनक रहेको बताउँछन् । लोकतन्त्रमा विचार समूहबीच प्रतिस्पर्धा हुने परिकल्पना गरिए पनि नेपालमा स्वतन्त्रका नाममा विचारविहीन प्रवृत्तिको प्रवद्र्धन भइरहेको उनको भनाइ छ । उनले भने, ‘यो लोकप्रियतावादी राजनीतिकै अंग हो । यस्तो प्रवृत्तिको अहिले बोलवाला छ । पछिल्लो समय नेपालमा स्वतन्त्रका नाममा बढिरहेको यो प्रवृत्तिले तानाशाहको आमन्त्रण नगर्ला भन्न सकिन्न ।’
मधेश प्रदेशमा ५४ प्रतिशत स्वतन्त्र उम्मेदवार
मधेश प्रदेशको धनुषा जिल्लामा एक सय ५८ जना उम्मेदवार छन् । तीमध्ये एक सय ६ जना स्वतन्त्र उम्मेदवार हुन् । जहाँको क्षेत्र नम्बर १ मा ४२ जना उम्मेदवारमध्ये २९ जना स्वतन्त्र उम्मेदवार छन् । धनुषा जिल्ला आसन्न निर्वाचनमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेको जिल्ला हो ।
मधेश प्रदेशका आठवटा जिल्लामध्ये पाँचवटा जिल्लामा रहेका उम्मेदवारभन्दा आधाभन्दा बढी उम्मेदवार स्वतन्त्र उम्मेदवार रहेका छन् ।
आधाभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका जिल्लाहरूमा सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट रहेका छन् । देशभरीमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेको प्रदेश पनि मधेश प्रदेश नै हो । देशभर रहेका कूल स्वतन्त्र उम्मेदवारमध्ये करिब ४९ प्रतिशत उम्मेदवार मधेश प्रदेशका रहेका छन् । मधेश प्रदेशभित्रकै कूल उम्मेदवारीको तुलनामा स्वतन्त्र उम्मेदवारको सङ्ख्या करिब ५४ प्रतिशत हुन आउँछ ।
मधेश प्रदेशमा कूल उम्मेदवारी एक हजार २७ जनाको रहेकोमा पाँच सय ५४ जना स्वतन्त्र उम्मेदवार छन् । यसैगरी बागमती प्रदेशमा दुई सय ३१ जना, लुम्बिनी प्रदेशमा एक सय ९७ जना, कोशी प्रदेशमा ९१ जना, गण्डकी प्रदेशमा ३० जना, सुदुरपश्चिम प्रदेशमा २८ जना र कर्णाली प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
हेभिवेटको निर्वाचन क्षेत्रमा पनि स्वतन्त्रको चाप
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको चुनाव क्षेत्र झापा क्षेत्र नम्बर ५ मा नौजना स्वतन्त्र उम्मेदवार रहेका छन् । तीमध्ये दुईजना महिला उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रबाट अर्जुन सापकोटा, खेमनाथ सिवकोटी, डम्बर साहु, पुस्कर खतिवडा, प्रकाश नेपाल, मातृका भट्टराई, रन्जना गौतम, विपुल गुरागार्इँ र शोभा भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उता काँग्रेस सभापति गगन थापाको निर्वाचन क्षेत्र सर्लाही ४ मा त झन् २५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । तीमध्ये एकजना मात्रै महिला छन् । उक्त क्षेत्रमा ३० वर्षीया मधुमालाकुमारी यादव स्वतन्त्र उम्मेदावारी एक्ली महिला हुन् । यसैगरी नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको क्षेत्र रौतहट १ मा २१ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने काँग्रेसका विमलेन्द्र निधि र रास्वपाका मनिष झाको क्षेत्रमा २९ जना स्वतन्त्र उम्मेदवार छन् ।
यसैगरी एमालेका रघुबीर महासेठ उम्मेदवार रहेको धुनुषा ४ मा २४ जना स्वतन्त्र उम्मेदवार छन् । रास्वपाका नेता तथा पूर्वमन्त्री बब्लु गुप्ताको क्षेत्र सिरहा १ मा १८ जना, नेकपाका नारायणकाजी श्रेष्ठको क्षेत्र सर्लाही ३ मा १९ जना, एमालेकी ज्वालाकुमारी साह र काँग्रेसका फरमुल्लाह मन्सुरको क्षेत्र बारा ३ मा ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यसैगरी पूर्वमन्त्री प्रदिप यादवको क्षेत्र पर्सा १ मा १२ जना, पूर्वमन्त्री तेजुलाल चौधरीको क्षेत्र सप्तरी ४ मा ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । पूर्वसभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको चुनाव क्षेत्र झापा २ मा तीनजना स्वतन्त्र उम्मेदवार रहेका छन् । उक्त निर्वाचन क्षेत्रबाट पूर्वमहान्यायाधीवक्ता युवराज संग्रौलाले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्