प्रथम कोहलपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, पहिलो दिन दुई खेल सम्पन्न



कोहलपुर ।

बाँकेको कोहलपुरमा ‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’ सुरु भएको छ । प्रजातन्त्र दिवसका अवसर पारेर बिहीबारदेखि कोहलपुरको खुलामञ्चमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाले भलिबललगायत अन्य समग्र खेलकुद क्षेत्रका विकासका लागि लगानी गर्दै आएको बताए ।

उनले नगरपालिकाले खेलकुदप्रति गरेको लगानीको प्रतिफल देखिन सुरु गरेको उल्लेख गर्दै क्रिकेट, फुटबल लगायतका खेलहरुमा नयाँ खेलाडीहरु उत्पादन भइरहेका जानकारी दिए । उनले प्रतियोगिताले अवसरबाट वञ्चित युवाहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण माध्यम हुने र उनीहरुको प्रतिभालाई सशक्त बनाउन सहयोगी भूमिका खेल्ने बताए । उनले यो पहिलो संस्करण भएका कारण हरेक वर्ष यसलाई निरन्तरता दिइने पनि प्रतिबद्धता जनाए ।

कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभएर व्यक्तिको अनुशासन, इमानदारीता, सहकार्य, धैर्य र नेतृत्व विकासको सशक्त माध्यम भएको बताए । उनले क्रिकेटका खेलाडी उत्पादन र खेलका माध्यमबाट कोहलपुर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल भइसकेको भन्दै अब भलिबलबाट पनि कोहलपुरलाई पहिचान दिलाउनका लागि प्रतियोगिता सञ्चालन गरिएको बताए ।

कोहलपुर नगर खेलकुद विकास समितिका सदस्य एवम् प्रतियोगिताका संयोजक निर्मल विष्टले प्रतियोगिताका सम्पूर्ण खेलहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमानुसार खेलाइने जानकारी दिए । उनले टिम सङ्ख्याको आधारमा नकआउट वा लिग कम नकआउटको आधारमा खेलाइने उल्लेख गरे ।

उनले फागुन ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि ब्राइट लाइट एकेडेमी कोहलपुर, बैजनाथ गाउँपालिका, गितापुर भलिबल क्लब कोहलपुर, भेरी प्राविधिक शिक्षालय नेपालगन्ज, रोयल ढकेरी राप्तीसोनारी, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, ट्री गार्डेन रिसोर्ट बैजनाथ, राप्तीसोनारी भलिबल क्लब राप्तीसोनारी, ग्रीन पिस सेकेन्डेरी स्कुल कोहलपुर, नमुना विद्या सदन कोहलपुर, जन ज्ञान ज्योति मावि कोहलपुर, काहेलपुर नगरपालिका कर्मचारी र खजुरा गाउँपालिका गरी जम्मा १३ वटा टिमले नाम दर्ता गराएका छन् ।

उद्घाटनको पहिलो दिन दुई खेल भएका छन् । पहिलो दिनको खेलमा ट्री गार्डेन रिसोर्ट बैजनाथ र ग्रीन पिस सेकेन्डेरी तथा कोहलपुर नगरपालिका कर्मचारी र जन ज्ञान ज्योति स्कुल कोहलपुरबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा ट्री गार्डेनले ग्रीन पिसलाई र कोहलपुर नगरपालिका कर्मचारीले र जन ज्ञान ज्योति स्कुललाई पराजित गरेका छन् ।

कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन एवम् व्यवस्थापनमा सञ्चालित प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार रुपियाँ, द्वितीय टिमलाई ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी व्यक्तिगत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ८ गते शुक्रबार